Presidential

चिनियाँ राष्ट्रपतिको रोकिएको भ्रमण फेरि छलफलमा, मार्चमा आउने सम्भावना

चिनियाँ राष्ट्रपतिको रोकिएको भ्रमण फेरि छलफलमा, मार्चमा आउने सम्भावना

४ पुस । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य, केन्द्रीय सचिवालयका सचिव तथा प्रचार विभाग प्रमुख लिउ सिपाओले यतिबेला किन भ्रमण गरे होलान् ? उनको तीन दिने भ्रमणका क्रममा नेपाली पक्षले चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणका बारेमा चिनियाँ पक्षले नै चासो राखेको निष्कर्ष निकालेको छ ।

दुई महिनाअघि बंगलादेश र म्यान्मारको भ्रमण गर्ने बेलामा राष्ट्रपति सीले नेपालको पनि भ्रमण गर्नेबारेमा छलफल चलेको थियो । तर, साउनको तेस्रो साता नेपालमा सरकार परिवर्तन भएपछि त्यो भ्रमण बीचैमा रोकिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बनेलगत्तै उपप्रधामन्त्री कृष्णबहादुर महराले बेइजिङ पुगेर भ्रमण नरोक्न अनुरोध गरे पनि चिनियाँ पक्ष तयार भएन ।

यसपटक भने चिनियाँ नेता सिपाओको भ्रमण राष्ट्रपति सीको भ्रमणको पूर्वतयारी स्वरुप भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिट्ब्युरोका चार नम्बर सदस्य सीपाओ राष्ट्रपति सी निकटस्थ नेताका रुपमा चिनिन्छन् । अर्को वर्ष आयोजना हुने महाधिवेशनबाट सात सदस्यीय स्थायी समितिमा जाने तय भएका सिपाओलाई राष्ट्रपति सीको भ्रमणको वातावरण बनाउन नेपाल पठाइएको बुझिन्छ ।

xi-jinping

मार्चमा हुन सक्छ भ्रमण

स्रोतका अनुसार, राष्ट्रपति सीको भ्रमणको समय तोकेर छलफल नभए पनि आगामी मार्च (चैत–वैशाख) सम्ममा भ्रमण हुन सक्नेछ । स्रोतले भन्यो, अहिलेको तयारी र चासो हेर्दा तीन–चार महिनामा भ्रमण गर्ने बुझिन्छ । त्यतिबेलासम्म नेपालमा यही सरकार रहे पनि वा परिवर्तन भए पनि फरक नपर्ने गरी यसपटक तयारी अघि बढेको परराष्ट्र स्रोतको बुझाइ छ ।

कारणः डोनाल्ड ट्रम्प !

आखिर चीनले केही समयअघिसम्म चासै नदेखाएको भ्रमणका बारेमा अहिले किन चासो देखाउन पुगेको छ त ? घटनाक्रमलाई नजिकबाट हेरिरहेको स्रोतका अनुसार, अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका कारण चीनले चासो देखाएको हुन सक्छ । ट्रम्प राष्ट्रपति निर्वाचित हुनासाथ उनले ताइवानका राष्ट्रपतिबाट शुभकामना ग्रहण गरेको ट्वीटरमार्फत सार्वजनिक मात्र गरेनन्, ताइवानसँग थप सहकार्य हुने समेत उल्लेख गरे । त्यसबाट समेत सशंकित भइरहेको चीनलाई चिढ्याउने गरी ट्रम्पले अघिल्लो साता अमेरिकाले मान्दै आएको एक चीन नीतिमा अब अमेरिका प्रतिबद्ध रहिरहन आवश्यक नरहेको प्रतिक्रिया दिए ।

स्रोत भन्छ, ‘एक चीन नीतिका विरुद्ध पश्चिमाहरुले खेल्न सक्ने एउटा महत्वपूर्ण ठाउँ काठमाडौँ हुन सक्छ भन्ने चिनियाँहरुको पहिलादेखिकै बुझाइ छ र त्यही नहोस् भनेरै उनीहरुले नेपाललाई बारम्बार झक्झक्याइरहेका छन् । यस्तो अवस्थामा ट्रम्पको अभिव्यक्तिले चीनलाई काठमाडौँप्रति थप चनाखो बनाएको हुन सक्छ ।’

3 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार