Presidential

पाठक राजा होइनन्, ठूला पाखण्डी हुन्ः विनोद मेहता

पाठक राजा होइनन्, ठूला पाखण्डी हुन्ः विनोद मेहता

भारतमा मिडियाका सामु धेरै चुनौतीहरु रहेका छन् । मिडिया, विशेषगरी विद्युतीय मिडिया, जो आफूलाई नियन्त्रित गर्न इच्छुक छैनन्, तिनीहरुसामु चुनौती छ । हामी दिनहुँ देखिरहेका छौं, हाम्रा राजनीतिक खेलाडीहरु हाम्रो पेशामाथि यस्तो संहिता थोपर्न उत्सुक देखिएका छन्, जसले हामीलाई लगभग नपुंशक बनाइदिन्छ ।

फेरि, स्टिङ्ग अप्रेसन नामको एउटा विचित्रको पशुको उदय भएको छ, जसले गर्ने आकर्षणको प्रतिरोध गर्न सम्भव देखिँदैन । त्यो जब राम्रो हुन्छ त धेरै नै राम्रो हुन्छ, जब खराब हुन्छ त सबैलाई लाजमर्दो बनाइदिन्छ ।

यद्यपि, मिडियाका सामुन्ने दृष्टि दोष पनि उत्तिकै छ, जसका कारण उसले आफ्नो गुम्दै गइरहेको विश्वसनीयतालाई देख्न सक्दैन । यतिसम्म कि, आज प्रायसः यस्तो भ्रम उत्पन्न हुन्छ– पत्रकारिता मनोरञ्जन उद्योगको एउटा अंश हो ।

बजारको चुनौती पनि उत्तिकै छ । मिडिया केका लागि ? केवल पैसा कमाउनका लागि ? यद्यपि, तपाई मिडियालाई आइसक्रिम पार्लर चलाउने कार्यभन्दा बेग्लै मान्नु हुन्न भने निश्चय नै पत्रकारिता व्यापारको बलीबेदीमा चढ्न पुग्दछ ।

राजनीतिज्ञहरु के आरोप लगाउँछन् भने, मिडियाले राजनीतिप्रति निराशा उत्पन्न गराउने काम ग¥यो । हाम्रा राजनीतिज्ञहरु मान्दछन् कि, मिडियाकै कारण जनता आफ्ना नेता र प्रशासनिक प्रक्रियाप्रति शंका र अविश्वासका नजरले हेर्न चाहन्छन् । हाम्रा नेताहरु भन्छन् कि, शंकाको व्यापक माहोलमा यस्तो भावना उत्पन्न हुन्छ, नेताहरुका नियन्त्रणभन्दा सबै समस्या केवल बाहिर छन्, यद्यपि समाधान पनि छन् । यसले कुण्ठा, निराशा र सरकारप्रति अविश्वास उत्पन्न गराउँछ । म यो अतिशयोक्ति आरोपलाई स्वीकार गर्दिनँ ।

भारतमा छापा र टेलिभिजन दुवैको कडा प्रतिस्पर्धाका कारण पेशागत नैतिकतामाथि खतरा मडारिरहेको छ, मिडियाले के आफूमाथि संयम र मर्यादा कायम राख्नुपर्छ ?

म मुख्य चिन्तामा प्रवेश गर्छु । एउटा गम्भीर चुनौती छ, जसमाथि सायदै कहिल्यै पत्रकारिता सम्मेलनमा वा गम्भीर सम्पादकका बीच चर्चा हुने गर्दछ । तर, म देखिरहेको छु, विज्ञापन प्रबन्धक र मिडियाका पण्डितहरु यसबारे निरन्तर प्रवचन दिन्छन् । अब त उनीहरुले यो बहसमाथि हस्ताक्षर गरेर यसलाई बन्द पनि गरिसके । उनीहरुले हामीलाई एउटा नयाँ मन्त्र दिएका छन् । जब यी व्यक्तिहरु सानदार र बढ्दो मिडिया एवं पत्रिकाहरुमा आफ्ना विचार राख्छन् त, महापुरुष मुसाका पहिरन पहिरिन्छन् । उनीहरुका शब्द शिलालेखमा लेखिन्छन् । यद्यपि, उनीहरुका विषय के हुन्छ ? यहाँसम्म कि, टेलिभिजन र छापा माध्यममा सम्पादकीय सामग्री कस्तो हुनुपर्छ ? उनीहरु सोचविचार गरेर यस्तो नतिजामा पुग्छन् कि, मिडियाका सबभन्दा बढी जिम्मेदारी पाठक वा दर्शकलाई त्यही कुरा दिनु पर्छ, जो उनीहरु चाहन्छन् । कुनै अरु प्रकारका पत्रकारिता अप्रासांगिक हो, जनताको अपमान मात्र हो ।

मलाई लाग्छ, यो मिडियाको गम्भीर मुद्दा हो । दुर्भाग्य, गलत व्यक्तिहरु यसमा बहस गरिरहेछन्, गलत व्यक्तिहरु हामीलाई समाधान बताइरहेछन् ।

म विनम्रतापूर्व भन्न चाहन्छु कि, ब्रान्ड म्यानेजर, केही सम्माननीय अपवादलाई छाडेर, पत्रकारिताको स्वभाव र उद्देश्य सम्झिन जन्मसिद्ध नै असमर्थ छन् । यो अयोग्यता उनीहरुका पृष्ठभूमिका कारण भएको हो, जो धेरैभन्दा धेरै मुनाफा कमाउनका लागि बिक्री बढाउन चाहन्छन् । उनीहरु कहिल्यै यो कुरा सम्झिँदैनन् कि, पाठकहरु जे कुरा चाहन्छन्, सामग्रीहरु त्यसभन्दा धेरै, धेरै नै महत्वपूर्ण हुन्छन् । यसको एक सामाजिक आयाम पनि छ । तसर्थ, पाठकहरु जुन कुरा चाहन्छन् र जुन चाहँदैनन्, सामग्रीमा त्यसको मिश्रण हुन्छ । उनीहरुका कुशलता केमा देखिन्छ भने दुवैलाई मिलाउने र पैसा कमाउने ।

मन्त्र जपेर यस्तो अनर्गल प्रलाप पनि गरिन्छ, पुरानो पत्रकारिता मरिसक्यो र अब नयाँ पत्रकारिताले जन्म लियो । नयाँ पत्रकारिता पूरै रुपमा पाठक र दर्शकको मागमा आधारित छ । तसर्थ, हामीलाई बताइन्छ, पाठक राजा हुन् र उनीहरुलाई शतप्रतिशत सन्तुष्टि दिनु जिम्मेवार मिडिया संगठनको कर्तव्य हो ।

यस्ता धारणाको अब यति धेरै स्वीकृति मिलिसक्यो कि, यस विरुद्ध तर्क गर्नु अँध्यारोमा सिठ्ठी फुक्नुजस्तै हो । जसले विपरीत धारणालाई मान्दछन्, त्यस्तालाई सन्काहा सम्झिने गरिन्छ । उनीहरु विद्यमान बजारको, अन्य शब्दमा भन्नुपर्दा पाठकलाई चिन्न सक्दैनन् । यदि, पत्रकारिता बटर चिकेनजस्तै उपभोगको वस्तु हो भने ग्राहकलाई उनीहरुलाई मन पर्ने सुगन्ध र स्वाद किन नदिने ? आखिर, यही त मुक्त बजार पुँजीवादको पहिलो नियम हो ।

करिब ३० वर्षको सम्पादन–यात्राको दौरान मैले पत्रकारिताबारे धेरै नै बकबासहरु सुनेँ । तथापि, यस्ता बकबास सबभन्दा धेरै मुख्र्याइपूर्ण र खतरनाक पनि छ । यसलाई तुरुन्तै ध्वस्त गर्नु जरुरी छ । यसले हाम्रो पेशालाई प्रतिष्ठित बन्न दिँदैन, जसका लागि हामीले ६० वर्षदेखि काम गरिरहेका छौं ।

म एउटा प्रश्न सोध्न चाहन्छु, यदि कुनै पाठक वा दर्शकले अश्लील बाल यौन शोषणसम्बन्धी सामग्री देख्न वा पढ्न चाहन्छन् भने के हामीले उनीहरुको इच्छालाई पूरा गर्नुपर्छ ? यदि कुनै पाठक वा दर्शक पत्नीलाई पिटेको बारेमा पढ्न र देख्न चाहन्छन् भने के हामीले उनीहरुको मागलाई पूरा गर्नुपर्छ ? म कैयौं उदाहरण दिन सक्छु । यस्तो विचार अशिष्टतापूर्ण छ र म पूरै विश्वासपूर्वक भन्न चाहन्छु, यदि सम्पादकले यस्तो मन्त्र अपनाउँछन् भने उनीहरुलाई जेलमा देख्न सकिनेछ ।

मिडियाप्रति आफ्नो अपेक्षालाई लिएर पाठकको मनमा केकस्ता भ्रमहरु रहेका छन् । म तीन वटा उदाहरण दिन चाहन्छु ।

एकः शोधले के बताउँछ भने अधिकांश पाठक सबभन्दा धेरै अन्तर्राष्ट्रिय समाचार पढ्न रुचाउँछन् । यसका बाबजूद पत्रिकाको अन्तर्राष्ट्रिय समाचार छापिएको पाना सबभन्दा कम पढिन्छन् । अन्तर्राष्ट्रिय समाचार आत्माका लागि राम्रो हुनसक्ला, तर त्यसले प्रसार संख्या बढाउँदैन ।

दुईः पाठक दाबी गर्छन् कि, बिहानको अखबारको मूल्यले उनीहरुका लागि कुनै मूल्य राख्दैन । यो उनीहरुका जिन्दगीको यति अहम् हिस्सा बनिसकेको छ, उनीहरु खुसीसाथ त्यसका लागि धेरै मूल्य चुकाउन सक्छन् । यसका बाबजूद, रुपर्ट मर्डोक र समीर जैनले देखाइदिए कि, मूल्यको सवालमा छापा प्रकाशन धेरै नै संवेदनशील छ । मूल्यमा कटौती गरेर विरोधीहरुलाई पछार्न सकिन्छ । ‘आमन्त्रित मूल्य’ प्रतिद्वन्द्वी प्रकाशकहरुलाई आतंकित तुल्याउने विषय हो ।

तीनः पाठकहरु चाहन्छन् कि, उनीहरु एउटै सेक्सनको ठोस प्रातःकालीन अखबार चाहन्छन् । जुन अखबारमा कैयौं सेक्सन हुन्छन्, त्यो सफल हुन्छ । अरु पत्रिकाले नोक्सान बेहोर्नु पर्दछ ।

तर, मलाई लाग्छ, हामीले पाठकको नेतृत्व गर्नुपर्दछ, उनीहरुका पछि हिँड्ने होइन । वास्तवमा, महान् पत्रकारिताले व्यक्तिहरुका इच्छाअनुसार सामग्री दिनुभन्दा त्यसभन्दा धेरै नै कुरा दिनुपर्दछ ।

पाठकहरु विरोधाभासी हुन्छन् । उनीहरु प्रायसः सिकाउन खोज्छन् । निरन्तर नकारात्मक समाचार दिइरहे पनि सकारात्मक समाचारप्रति रुचि जगाउन चाहँदैनन् । सर्वेक्षणहरुका अनुसार, पाठकहरु नकारात्मक समाचार, सनसनी मच्चाउने समाचार, आपराधिक समाचार र हिंसा र भ्रष्टाचारसम्बन्धी समाचारमा रुचि राख्छन् । पाठक राजा होइनन्, उनीहरु ठूला पाखण्डी हुन् ।

भारतमा सम्पादकको प्रजाति खतरामा छ । तर, केवल राम्रा र व्यावसायिक सम्पादकीय टोली मात्रै यस्तो निर्णय गर्न सक्छन् कि, समाचार के हो र फोहोर वस्तु के हुन् ? तीस वर्षमा मैले जे कुरा सिकेँ, त्यसको निष्कर्ष यही नै हो ।

(भारतका प्रतिष्ठित पत्रकार मेहताको सन् २०१५ मार्च ८ मा निधन भयो । तर, भारतीय सञ्चार जगत्मा उनले विशिष्ट छाप छोडेका छन् । ‘आउटलुक’ को प्रधानसम्पादकसमेत रहेका मेहताको यो विचारलाई हामीले सोही पत्रिकाबाट भावानुवाद गरेका हौँ)

10 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार