Presidential

कस्ता–कस्ता युवतीहरु आइन्, गोर्कीको जीवनमा ?

कस्ता–कस्ता युवतीहरु आइन्, गोर्कीको जीवनमा ?

केवल रसियन साहित्यमा मात्र होइन, विश्व साहित्यकाशमा म्याक्सिम गोर्कीको नाम एउटा उज्यालो ताराजस्तै सधैँभरि चम्किँदै आएको छ । शोषित वर्गको लेखक गोर्कीको जीवनमा प्रेमका प्रसंगहरु धेरै पटक आए । प्रेम, विवाह र छोडपत्र, यी तीनै पक्षसँग उनले जीवनमा सामना गरे ।

आफ्ना विगतलाई सम्झिँदै गोर्कीले लेखेका छन्, ‘हाम्रो पसलमा जुन केटी काम गर्दथिन्, म उनलाई पनि प्रेम गर्दथेँ । उनको जीउ, गुलाबजस्तै गाला र ओंठमा एक स्मित मुस्कान सधैंभरि फुलिरहन्थ्यो । प्रेम गर्न म सधैंभरि तयार रहन्थेँ । उमेर, मेरो चरित्र र जीवनका जटिलताका कारण मलाई नारीसँगको सहचार्यको आवश्यकता थियो । नारीसुलभ प्रेम, कम्तिमा पनि एउटी महिलाको प्रेम मेरो जीवनका लागि धेरै नै आवश्यक थियो । एउटी त्यस्ती युवती, जसका सामुन्ने म आफ्ना कुराहरु निःसंकोच भन्न सकूँ, त्यो मेरो आवश्यकता बनेको थियो ।’

बन्धन रहेन

गोर्की सानो छँदा नै उनको पिताको मृत्यु भयो । सानै उमेरका उनलाई आमा बारबराले छोडेर अन्तै गइन् । बारबराले म्याक्सिमव नामका एक व्यक्तिसित विवाह गरेका थिए । सौतेनी पिता र आमासँग म्याक्सिमव नयाँ घरमा पुगे । म्याक्सिमवले हरेक दिन गोर्कीलाई पिटथे । गाली गर्थे । आमाको पनि उनको सौतेनी पितासँगको सम्बन्ध खराब हुँदै गइरहेको थियो । त्यसपछि उनको आमाको निधन भयो । आमाको मृत्युपछि उनको जीवनमा कुनै बन्धन रहेन ।

सानै उमेरमा प्रेम

कठोर वास्तविकतासँग जुधे पनि गोर्कीको जीवनमा रोमान्सले स्थान पाई नै रह्यो । १३ वर्षको उमेरमा एउटी सुन्दर युवतीसँग उनको प्रेम बस्यो । ती युवती विधवा थिइन् र उमेरमा उनीभन्दा जेठी थिइन् । ती युवतीले कुनै किताब गोर्कीलाई उपहारस्वरुप दिइन् । त्यो किताबले गोर्कीको मनमा पढ्ने, लेख्ने भावना जागृत तुल्याइदियो ।

एक दिन गोर्की ती युवतीको घरमा गए । ती युवती कुनै पुरुषसँग अँगालो मारेर बसिरहेकी थिइन् । उनी एकदमै हतास भए र त्यहाँबाट लड्खडाउँदै बाहिर निस्किए ।

त्यही बेला, गोर्कीलाई डबरिका नामक एक सानो ठाउँको एउटा गोदाममा सुरक्षागार्डको काम मिलेको थियो । प्रायजसो, चोरहरुले गोदामबाट मैदा चोरी गर्थे । एक दिन, मैदा चोरी गर्न एउटी केटी आइन्, तिनको नाम थियो, लिवोस्का । ती कुेटी राम्री थिइन् । लिवोस्काले यौवन प्रदर्शन गर्दै सुरक्षागार्डहरुलाई मख्ख पार्थिन् र त्यस बापत उनले मैदाका केही बोरा लिएर जान्थिन् ।

गोर्कीमा ती केटीप्रति दया जाग्यो । उनले एक दिन ती केटीसँग कुराकानी गर्ने निश्चय गरे । रात धेरै नै बितिसकेको थियो । चारैतिर सन्नाटा छाएको थियो । चीसो जाडोमा सुरक्षागार्ड उँघिरहेका थिए । त्यतिबेला गोर्कीले देखे कि लिवोस्का गेटसामु उभिएकी छिन् । गोकी अगाडि बढे ।

टुट्यो सपना

लिवोस्का गोकीको छेउमा आएर रोकिइन् । नयाँ सुरक्षागार्ड देखेर लिवोस्का सुरुमा त डराइन् तर अति नै रोमान्टिक मुद्रामा आफ्नो छातीलाई झुकाउँदै सोधिन्, ‘तिमी को हौ ? यहाँ नयाँ हौ क्यार । आऊ, मसामु आऊ ।’

गोकी केही पछि हटे । ‘यस्तो जिन्दगी तिमीलाई राम्रो लाग्छ ?’ गोकीले सोधे । ‘के तिमी कहिल्यै यस्तो सोच्दैनौ, कुनै राम्रो केटासँग बिहे गरेर घरजम बसाल्ने र सुख, शान्तिपूर्वक रहने ?’

‘कसले गर्छ मसँग बिहे ?’ लिवोस्काले हाँस्दै भनिन् ।

‘यदि, मैले गरेँ भने…?’

‘म त भन्दछु कि, तिमीजस्तो हिम्मतिला अरु कोही छैनन् । मसँग बिहे गर्न चाहन्छौ ? म सतिसावित्री बनेर तिमीसँग रहन्छु । कस्तो बकबास कुरा ।’ लिवोस्काले भनिन् ।

‘तिम्ले राम्ररी सोचविचार गरेर नै भनिरहेकी हौ ?’

‘हो, बाबा हो ।’

गोर्कीको सपना चूरचूर भयो । गोकी भित्रैबाट टुट्न पुगे । उनलाई केही पनि राम्रो लागिरहेको थिएन । गोर्कीलाई त्यो जागिर राम्रो लागेन र केही महिना काम गरेर उनले जागिर नै छाडिदिए ।

एक पटक गोर्कीका साथीले बोटिङ गर्ने मन बनाए । साथै, पोल्यान्डका प्रवासी बोलेश्लावलाई पनि बोटिङका लागि आमन्त्रण गर्ने टुंगो भयो । गोर्कीलाई त्यो जिम्मा दिइयो । उनी नीलो रङको पाइन्ट, सेतो कोट र हन्टिङ जुत्ता लगाएर बोलेश्लावलाई निमन्त्रणा दिन गए । उनीसँगै इटालियन ह्याट पनि थियो । उनको यस्तो विचित्रको पहिरन देखेर बोलेश्लावको तरुनी पत्नी जोडदार रुपले हाँसिन् । र, भनिन्, ‘यी सबै के हो ?’

‘किन ? के भयो ? यसमा नराम्रो कुरा के छ र ? के तिमीलाई अचम्म लाग्यो ?’ गोर्कीले सोधे । बोलेश्लावकी पत्नी जोडजोडले हाँस्दै भनिन्, ‘हो, मलाई धेरै नै अचम्म लाग्यो ।’

यद्यपि, बोलेश्लावले गोर्कीको आमन्त्रणलाई स्वीकार गरे । उनी पत्नीसहित बोटिङका लागि आए । एउटा डुंगामा बोलेश्लाव चढे भने अर्को डुंगामा गोर्की र बोलेश्लावकी पत्नी । उक्त डुंगामा तेस्रा व्यक्ति थिएनन् । पानी छिचोल्दै डुंगा अघि बढिरहेको थियो । गोर्कीले सोचे कि, यस्तो खुसी जिन्दगीमा कहिल्यै पनि आउँदैन । गोर्कीले सोधे, ‘के म तिम्रो नाम जान्न सक्छु ?’

‘सक्नु हुन्छ, मेरो नाम भोल्गा हो । तपाईको नि ?’

‘एलेक्सी । एलेक्सी पेशकव ।’

कुराकानीको सिलसिला सुरु भयो । केही समयपछि नै डुंगा अर्को किनारमा पुग्यो । किनारमा फोहोरहरु थुप्रिएका थिए । डुंगाबाट पहिला गोर्की उत्रिए र भोल्गालाई डुंगाबाट उत्रिन हात दिएर सहयोग गरे । सामान्य रुपमा हिच्किचाउँदै गोर्कीले भोल्गालाई काँधमा राखेर बाहिर निकाले । भोल्गाले भनिन्, ‘अब त तपाईको शक्तिको प्रशंसा गर्नैपर्ने भो ।’

गोर्कीले भने, ‘यसरी तिमीलाई काँधमा राखेर म हजारौं माइल हिँड्न सक्छु ।’

दिनहरु उदासीमा नै बितिरहे । दुवैका हृदयमा कोमल भावना उम्लिरहेका थिए । त्यही बेला एउटा दूर्घटना भयो । गोर्कीको छातीमा चोट लागेको थियो । दूर्घटनाको खबर थाहा पाउने बित्तिकै भोल्गा गोर्कीलाई भेट्न अस्पतालमै आइन् । भोल्गालाई देख्ने बित्तिकै गोर्कीको आवाज बन्दजस्तै भयो । उनले अपलक भोल्गालाई हेरिरहे ।

‘यसरी के हेरिरहेको ?’ भोल्गाले सोधिन् ।

‘तिम्लाई ।’ गोर्कीले भने ।

‘योभन्दा अगाडि देखेका थिएनौ ?’

‘देख्न त देखेको हुँ । तर, आजजस्तो कहिल्यै पनि देखेको थिइनँ ।’ भोल्गाको हात गोर्कीले आफ्नो हातमा खिँच्दै लिए । गोर्कीले भने, ‘एउटा कुरा भन्न चाहन्छु, तर तिम्लाई मन परेन भने माफी देऊ ।’

‘भन्नुस् ।’ भोल्गाले भनिन् ।

‘म तिमीलाई प्रेम गर्छु, भोल्गा ।’

केही हिच्किचाउँदै भोल्गाले भनिन्, ‘म जान्दछु । म पनि तिमीलाई प्रेम गर्छु, एलेक्सी ।’

गोर्कीले भने, ‘म तिमीसँग बिहे गर्न चाहन्छु, भोल्गा ।’

‘बिहे ?’ भोल्गा केही समय चुप लागिन् र भनिन्, ‘म उमेरमा तपाईभन्दा जेठी छु, एलेक्सी । मेरा दुई बच्चा छन् । म तिमीसँग बिहे गर्न सक्दिनँ । पति र बच्चाहरुलाई छाडेर म तिमीसँग जान सक्दिनँ, एलेक्सी ।’

भोल्गा हिँडिन् । अस्पतालबाट निस्किएपछि गोर्कीलाई महसुस भयो, एक पटक फेरि उनी एक्लै भए । सहर छाडेर उनी भोल्गा नदीको किनार गए । त्यसपछि गए जरिटासन । केही महिना त्यही ठाउँमा बिताएर दोन नदीमा गए । एकदिन उनलाई अचानक थाहा भयो कि, भोल्गा पनि त्यही बस्छिन् ।

गोर्कीको मन बहलायो । एक दिन ठूलो वर्षाद् भइरहेको बेला गोर्की भोल्गाको घर गए । थाहा भयो, भोल्गा त्यहाँ आफ्नी छोरीसँगै बस्छिन् । भोल्गाकी पति भने फ्रान्समा थिए । गोर्कीसँग भेट्दा भोल्गा पनि खुसी थिइन् । त्यतिबेला गोर्कीको उमेर २३ वर्षको थियो भने भोल्गाको ३३ । गोर्कीले देखे कि, ३३ वर्षकी हुँदा पनि भोल्गाको अनुहारमा कुनै परिवर्तन आएको थिएन । आज पनि उनी सुन्दरी थिइन् । भोल्गाको हाँसो अझै पनि मनमोहक थियो ।

‘कस्तो छ ?’ भोल्गाले सोधिन् ।

‘राम्रै छु । मेरो पहिलो कथा काकेशसमा प्रकाशित भयो ।’ गोर्कीले भने । भोल्गाले सोधिन्, ‘एलेक्सी, के तिमी आज पनि मलाई प्रेम गर्छौ ?’

‘अँ, गर्दछु ।’ गोर्कीले भने ।

‘साँच्चै, तिमी धेरै नै बदलिएछौ । म प्रायजसो तिम्रो बारेमा सोच्दथेँ । मेरो कारण तिम्ले पीडा पायौ ।’

गोर्की मुस्कुराए । र, उनले भोल्गालाई भने, ‘मलाई केही समय देऊ ।’

‘कति ?’ भोल्गाले सोधिन् ।

‘म तिमीलाई चिठी लेख्नेछु ।’ गोर्की हिँड्न तयार भए ।

गोर्की र भोल्गाले नयाँ जीवन सुरु गरे । तर, उनीहरुको खुसी धेरै दिन टिकेन । किनकि, भोल्गा मात्र आफ्नो बारेमा सोच्दथिन् भने गोर्की भने आम जनताका बारेमा चिन्ता लिन्थे ।

दुवैबीच तनाव बढ्दै गयो । यसरी नै दुई वर्ष बिते । घरमा सधैँभरि झगडाको वातावरण बन्यो ।

एकदिन गोर्कीको परिचय कैथरिन पावलोवना वालजिनासित भयो । कैथरिन माथिल्लो खानदानकी महिला थिइन् । गोर्कीले पत्ता लगाए कि, उनी सामरा गजेटमा शुद्धाशुद्धी हेर्ने काम गर्छिन् । त्यसो त, गोर्कीप्रति वालजिनाको आँखामा पनि धेरै सपनाहरु थिए । गोर्कीको रचना पढेर उनी मुग्ध हुन्थिन् । एक दिन गोर्कीले वालजिनासामु प्रस्ताव राखे, ‘मसँग बिहे गर्छौ ?’

वालजिनाले भनिन्, ‘गरुँला ।’

दुवै बिहे बन्धनमा बाँधिए । तर, गोर्की लेखनमै निरन्तर रुपमा व्यस्त हुन थालेपछि वालजिनाले उचित मानिनन् । र, एक पटक गोर्कीलाई मास्कोमै स्थायी रुपमा बस्ने गरी आमन्त्रण गरियो । तर, वालजिना भने गोर्कीसँग गइनन् ।

त्यसपछि गोर्कीले बिहे गरेनन्, कसैसँग पनि । त्यसपछि उनको जीवनमा आइन्, मारिया । मारिया अभिनेत्री थिइन् । उनीहरु दुवै सँगसँगै रहन थाले । विदेशतिर जाँदा पनि गोर्कीले मारियालाई पत्नीको रुपमा चिनाउँथे ।

सन् १९०६ मा गोर्की अमेरिकाको राष्ट्रपतिको निमन्त्रणमा अमेरिका गए । उनीसँगै मारिया पनि थिइन् । तर, गोर्कीले जीवनमा धेरै महिलासँग सम्बन्ध विस्तार गरे पनि स्थायी सम्बन्ध भने कोहीसँग पनि भएन ।

–शुभेन्द्रनाथ वंद्योपाध्याय

0 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार