Presidential

सनाखत समय


सनाखत समय

 

 
(रङ्गमञ्च एउटा आदिम प्रयोगशालाजस्तो देखिन्छ । मधुरो उज्यालोमा काला भित्ताहरुमा रगतका केही टाटा र वर्षौंदेखि सफा नगरिएको माकुराको जालो देखिन्छ । नेपथ्यबाट मानिस घुरिरहेको आवाज बेलाबेला सुनिन्छ । प्रयोगशाला बाहिर एक जना पाले निस्फिक्री कुर्सीमा सुतिरहेको हुन्छ । व्यक्ति १ र व्यक्ति २ ले स्ट्रेचरमा शव राखेर गुडाउँदै ल्याउँछ । पाले बेढङ्गसित उठ्छ । प्रयोगशालाको ढोका खोल्छ । स्टे«चरसहित त्यसमा सुतिरहेको मानिसलाई प्रयोगशालामा राखिन्छ ।)
व्यक्ति १ः (पालेलाई) यसको पोस्टमार्टम आज हुँदैन । कुरा बुझ्नुभयो ?
पालेः बुझेँ । अनि कहिले हुन्छ त पोस्टमार्टम ?
व्यक्ति १ः भोलि दिउँसो हुने सम्भावना छ ।
पालेः यो कसरी मरेको नि ?
व्यक्ति २ः छक्क परेर रे !
पालेः छक्क परेर ? ठट्टा नगर्नुस् न । मर्नुको उचित कारण पो हुन्छ । छक्क परेर पनि कोही मर्छ ?
व्यक्ति २ः पुलिसलाई पनि यही कुरामा शङ्का लागेको छ । यो मानिस छक्क परेरै मरेको हो वा कसैले यसलाई मारेको हो भन्ने कुरामा पुलिसले पोस्टमार्टमपश्चात थप छानबिन गर्नेछ ।
पालेः कस्तो अचम्म ! मानिस छक्क परेर पनि मर्दारहेछन् ! खास के कुरा सुनेर छक्क परेका अर्थात् दिवंगत भएका रहेछन् ?
व्यक्ति २ः मुलुकमा यति छिटो संविधान आउँछ भन्ने सोचेकै रहेनछन् । टेलिभिजन हेरिरहेका थिए । पारित हुनेबित्तिक्कै चोला उडेछ ।
पालेः त्यसो भए यो अपार खुसीका कारण मरेको हुनुपर्छ ।
व्यक्ति १ः अघोर दुःखी भएर मरेको पनि त हुन सक्छ !
व्यक्ति २ ः जे होस् यो समग्रमा छक्क परेरै मरेको हो । सबैको यही निष्कर्ष छ ।
पालेः सबै ? सबै भन्नाले को ? क–कसले भन्यो नि तपाईंलाई ?
व्यक्ति २ ः कसैले भनेको होइन । सुनेको कुरा हो । परिवारका मानिसहरुले खासखुस कुराकानी गरिरहेको सुनेर थाहा पाएको हुँ ।
व्यक्ति १ ः अब हामी जानुपर्छ ।
पालेः कहाँ जानुहुन्छ ? एकछिन बसौँ न । चुरोट पिउनुहुन्छ ?
व्यक्ति १ः भो नखाऊँ होला ।
पालेः खाऊँ न खाऊँ । मसँग मार्लबोरो चुरोट छ । अमेरिकाबाट फर्किनुभएको शर्मा डाक्टरसा’बले आजै मात्र दिनुभएको हो ।
व्यक्ति १ः हो र ? त्यसो भए त चिया पिउँदै खान पाए झनै काइदा हुन्थ्यो ।
पालेः म पनि एकछिन बाहिर जान्छु । भोक लागिरहेको छ । क्यान्टिनमा खानेकुरा खाएर आउनुपर्ला ।
व्यक्ति २ ः लौ । हिँड्नूस् न त ।
व्यक्ति १ः तर फेरि यहाँ कोही नदेखेर डाक्टरसा’ब रिसाउनुहुने हो कि ?
पालेः मरिसकेकाहरु भाग्ने हैनन् क्या रे ! यीनलाई यहाँ कुनै कुकुर, गिद्धले पनि खान सक्तैन । एकैछिन बसेर गफगाफ गरेर आइहालिन्छ नि ।
व्यक्ति २ ः लौ त लौ जाऊँ न त ।
(व्यक्ति १ र व्यक्ति २ सँगै पालेको प्रस्थान हुन्छ । रङ्गमञ्चमा एकछिन शून्यता छाउँछ । स्टे«चरमा राखिएको शवमा उज्यालो केन्द्रित हुन्छ । हावाको ठूलो झोक्का चल्छ र शव ढाकिएको कपडा उडाउँछ । यतिबेला शवको अनुहार पढ्न सकिन्छ । युगिन छक्कको सङ्केत मिल्छ । बिस्तारै शवपछाडिबाट चारवटा आकृति विभिन्न हाउभाउ गर्दै निस्कन्छन् । यी सबैका अनुहार काटिकुटी मिल्छ । अझ अचम्मको कुरा सबैको अनुहार शवको अनुहारसँग मिल्छ । चारै आकृतिको वेषभूषा भने फरक–फरक हुन्छन् । उनीहरु केही बेर तटस्थ मुद्रामा उभिन्छन् । लगत्तै मञ्चको अघिल्तिर गई एक मिनेट मौनधारण गर्छन् । त्यसपछि सबैले शवलाई चारैतिरबाट हेर्न थाल्छन् । घेर्न थाल्छन् । एउटा आकृतिले शवलाई छुन खोज्छ ।)
आकृति १ः पर्खनूस् ! (शव छुन लागेको आकृति अडिन्छ) तपाईंले यसरी आफूखुसी मेरो शव छुन पाउनुहुन्न ।
आकृति २ः तपाईंको शव ? नचाहिँदो कुरा नगर्नुस् महाशय ! यो मेरो शव हो । आज बिहानै मात्र मेरो मृत्यु भएको हो । म मेरो शवको अवस्था बुझ्न पछ्याउँदै यहाँ आइपुगेको हुँ । मलाई मेरो शव छुन मन लागेको छ । तपाईं सायद यो शवघरको पाले हुनुहुन्छ ।
आकृति १ः म पालेपहरे कोही पनि होइन । बरु यस्तो संवेदनाको घडीमा जिस्कने काम नगर्नुस् न ! यो मेरो शव हो ।
आकृति २ः म जिस्किने मुडमा छैन महाशय ! यो मेरै शव हो । नपत्याए यी हेर्नूस् त मेरो अनुहार यो शवसँग काटिकुटी मिल्छ ।
आकृति १ः मेरो अनुहार पनि मिल्छ । तपाईंसँग अरु के प्रमाण छ ? यो शव तपाईंको हो भनेर ?
आकृति २ः तपाईंसँग चाहिँ अरु के प्रमाण छ यो शव तपाईंको हो भनेर ?
आकृति १ः मसँग ? आत्मासँग के हुन्छ ? मलाई यो शवको सम्पूर्ण अतीत थाहा छ ।
आकृति २ः अतीत त मलाई पनि थाहा छ महाशय । अलि बलियो प्रमाण भए भन्नूस् । नत्र आफ्नो बाटो लाग्नूस् । मलाई मेरो शवको अघिल्तिर बसेर केही बेर शोक मनाउन दिनूस् ।
आकृति ३ः (आपत्ति जनाउँदै) एकछिन ! एकछिन पर्खनूस् ! तपाईंहरु यो कस्तो वाहियात कुरा गर्दै हुनुहुन्छ ? (ठूलो स्वरमा) हेर्नूस् ! मेरो जस्तो अनुहार भएको यो शव मेरै हो । मेरो शवलाई कसैले दाबी गरेको मलाई मन पर्दैन ।
आकृति १ः लौ यस्तो पनि हुन्छ ? शवको वास्तविक हकदार मै हुँ ।
आकृति ३ः होइन । मृत्युपछि पनि यस्तो झमेला आउला भनेर मैले कल्पनासम्म पनि गरेको थिइन । हेर्नुस् तपाईंहरुसँग मेरो कुनै शत्रुता छैन । किन तपाईंहरु व्यर्थमा मेरो शवमाथि आफ्नो हकदाबी गर्नुहुन्छ ?
आकृति १ः यो शव तपाईंको हुँदै होइन ।
आकृति ३ः तपाईं कसरी यो कुरा किटानीसाथ भन्न सक्नुहुन्छ ?
आकृति १ः किनकि मैले अघि नै भनिसकेँ नि । यो मेरै शव हो भनेर ।
आकृति ३ः उफ् ! उफ् ! उफ् !
आकृति २ः उफ् ! उफ् !
आकृति १ः उफ् !
(एकछिन मौनता छाउँछ । आकृति ११, आकृति २ र आकृति ३ टाढैबाट शव हेर्दै सुँक्कसुँक्क रुन थाल्छन् ।)
आकृति ४ः यसरी नरुनुस् महाशय ! तपाईंहरुलाई ठूलो भ्रम पर्न गएको छ । वास्तवमा यो मेरो शव हो । म अघिदेखि तपाईंहरु सबैका कुरा सुनिरहेको थिएँ । यो मेरो शव हो ।
आकृति २ः (रिसाउँदै) लौ ! लौ ! फेरि अर्को दाबेदार थपियो । हुँदा–हुँदा अब मेरो शवमाथि तीन–तीन जनाको दाबी ? तपाईंहरु किन मेरो कुरा बुझ्नुहुन्न ?
आकृति १ः (रिसाउँदै) यो त अति नै भयो । यसरी सबैले एउटै शव दाबी गर्न मिल्दैन । मैले सबैभन्दा पहिला देखेको हुँ । त्यसकारण यो शव मेरो हो ।
आकृति २ः तपाईंभन्दा अघि मैले देखिसकेको थिएँ । त्यसैले मैले छुन लाग्दा तपाईंले रोक्नुभयो । बरु यसमा मेरो हक लाग्छ ।
आकृति ३ः यसरी झगडा नगरौं । बरु पहिला एकापसमा परिचय गरौँ । अनि प्रमाण र तर्क पु¥याएर शव जिम्मा लिऊँ । शव बोल्न पनि सक्तैन । कि कसो ?
आकृति १ः तपाईंको कुरा मलाई ठीक लाग्यो । म सहमत छु । (बाँकीसँग) अनि तपाईंहरु के भन्नुहुन्छ ?
आकृति ४ः अब उपाय नै के रह्यो र ? यो त बाँच्नका लागि गरिने सङ्घर्षभन्दा पनि कठिन भयो । पहिला तपाईंबाटै परिचय गरौँ ।
आकृति १ः हुन्छ । सुरु गरौँ । अन्त्यबाट गर्दा पनि हुन्छ ।
आकृति ४ः म अस्तित्व नेपाली हुँ ।
आकृति ३ः मेरो नाम अस्तित्व नेपाली हो ।
आकृति २ः मलाई अस्तित्व नेपाली भन्छन् सबैले ।
आकृति १ः म हुँ अस्तित्व नेपाली ।
आकृति ४ः लौ । हामी सबैको अनुहार मात्र नभई नाम पनि मिल्नेरहेछ । यो मुद्दा त झन् जटिल हुने भयो । थप परिचय दिऊँ सबैले ।
आकृति २ः म एक पिता हुँ ।
आकृति ४ः म एक पुत्र हुँ ।
आकृति १ः म एक पति हुँ ।
आकृति ३ः अनि म एक प्रेमी हुँ ।
(आकृति १ मञ्चको अग्र भागमा आउँछ । ऊ निकै चिन्तित मुद्रामा हुन्छ ।)
आकृति १ः म माथि आज ठूलो बज्रपात आइपरेको छ । मैले जीवनमा अझै धेरै काम गर्न बाँकी थियो । त्यो पूरा गर्नै नपाई आज मेरो मृत्यु भयो ।
आकृति २ः भनेपछि तपाईं आफ्नो मृत्यु भइसकेको कुरामा विश्वस्त हुनुहुन्छ ? तपार्ईंलाई अलिकति पनि अविश्वास लागिरहेको छैन ? तपार्ईंले अहिले कुनै भयानक सपना देखिरहनुभएको पनि त हुन सक्छ !
आकृति १ः होइन, मेरो मृत्यु भइसकेको कुरामा मलाई अब कुनै शङ्का छैन ।
आकृति २ः नाटक अगाडि बढाऊँ त्यसो भए ।
आकृति १ः कस्तो नाटक ?
आकृति २ः मृत्युको नाटक ! जसको सूत्रधार तपाईं आफैँ हुनुहुन्छ ।
आकृति १ः (पीडास्वर) मैले जीवनभरिी मेरो खुसीलाई मात्र प्राथमिकता दिएँ । विद्यार्थी छँदा पढाइलाई, त्यसपछि आफ्नो जागिरलाई अनि विवाह भएपछि घरबाहिरको रसरङ्गलाई । मेरी पत्नीलाई मैले मन पराएर बिहे गरेको होइन । परिवारले कलिलो उमेरमा नै मेरो मागी–विवाह गरिदिएका थिए । म कसैलाई लामो समय प्रेम गरेर मात्र विवाह गर्न चाहन्थें ।
आकृति २ः अर्थात् भनौँ तपार्ईं पति भएर प्रेमीको सपना देखिरहनुहुन्थ्यो ।
आकृति १ः म प्रेमविवाह गर्न चाहन्थेँ ।
आकृति २ः तपाईं विवाह गरेर पनि प्रेम गर्न सक्नुहुन्थ्यो ।
आकृति १ः यो तपाईंको विचार हो । म यो कुरा सोच्न पनि सक्दिनँ । मेरो जीवनमा मेरी पत्नीको कुनै ठाउँ थिएन । सोचेजस्तो नभएकाले मैले पत्नीलाई कहिल्यै पत्नीको दर्जा दिइनँ ।
आकृति २ः दर्जा दिइनँको अर्थ धेरै हुन्छ महाशय ! घुमाउरो कुरा गरेर हाम्रो महत्वपूर्ण समय खेर नफाल्नूस् !
आकृति १ः दर्जा दिइनँ भन्नुको मतलब कतै घुमाउन लगिनँ । कहिल्यै सन्चोबिसन्चो सोधिनँ । पत्नीलाई पटक्कै मतलब गरिनँ । मैले सधैँ आफू र आफ्नो स्वार्थलाई मात्र महत्व दिएँ । बुझ्नुभयो ?
आकृति २ः बुझ्दै छु ।
आकृति १ः (रसिक बन्दै) म सुरा र सुन्दरीको भने सोखिन थिएँ । हरेक देशमा बनेको रक्सी सङ्कलन गर्ने र निस्फिक्री पिउने मेरो सोख थियो । यसैमा मैले कमाएजति सम्पत्ति उडाएँ । (रोकिएर) गत वर्ष अचानक म बिरामी परेँ । डाक्टरलाई देखाउँदा मेरो दुवै मृगौला काम नलाग्ने भएको रिपोर्ट आयो । त्यसपछि मेरो होसहवास उड्यो । मैले धेरै ठाउँमा देखाएँ । मलाई मिल्ने मृगौला कतैबाट पाउन सकिनँ । अन्त्यमा मेरी पत्नीको मृगौला मलाई प्रत्यारोपण गर्न मिल्ने भयो । मलाई उनले एउटा आफ्नो किड्नी दिएर मेरी पत्नीले नयाँ जीवन दिइन् ।
(शून्यता छाउँछ । कोही बोल्दैनन् । बाहिर पानी पर्न थालेको आवाज आउँछ । टाढाबाट मानिसको मिहिन स्वर सुनिन्छ । आकृतिहरु सतर्क बन्छन् । आकृति ११ शवको नजिक जान्छ ।)
आकृति ४ः त्यसपछि के भयो ?
आकृति १ः त्यस दिनदेखि मलाई भयानक पीडाबोध भइरहेको छ । मैले जसलाई जीवनभरि घृणा गरेँ, उनैले मलाई आफूलाई भन्दा बढी माया गरेर मलाई बचाएकी थिइन् । मेरी पत्नीले एक निमेषमा मेरो सबै अहम् तोडिदिएकी थिइन् । अनि बल्ल मेरो होस खुल्यो । तर हिजो टेलिभिजन हेर्दाहेर्दैै अचानक मेरो निधन भयो । मलाई त्यसबेला हर्ट अट्याक भएको थियोजस्तो लाग्छ ।
आकृति २ः यस मृत्युसँग म पहिलेदेखि नै परिचित छुजस्तो लागिरहेको छ यतिबेला ।
आकृति ४ः मलाई पनि टाउकोमा करेन्ट लागेजस्तो भयो ।
आकृति ३ः केही कुराको सम्झना मलाई पनि भइरहेको छ । तर म पति होइन, प्रेमी हुँ । मेरो बाटो फरक छ । तपाईं आफ्नो कुरा भन्नूस् । यसरी कथालाई रोक्दा अर्को दुर्घटना हुन सक्छ ।
आकृति १ः (हिड्दै) मेरो मृत्यु हुनुभन्दा पहिले मेरी जीवनसँगीलाई एकपटक विश्वका केही सुन्दर ठाउँहरु घुमाउने धोको जागेको थियो । घुमाउन लाने बाचा समेत गरीसकेको थिएँ तर त्यो सबै पुरा नभई मेरो असामयिक निधन भयो । अहिले मलाई मेरो मृत्युमा भन्दा पनि मेरो त्यो अपुरो काम सम्झेर पीडा भइरहेको छ । यस्तो दुःखको बेला तपाईंहरु अझ मेरो शवमाथी हकदाबी गरेर मलाई किन अझ दुःखित तुल्याउनुहुन्छ ? मलाई धक फुकाएर रुन दिनोस् । बिन्ति छ तपाईंहरुलाई ।
आकृति ४ः तपार्ईं केही बेर रुन सक्नुहुन्छ महाशय ! तर मेरो पनि कथा सुन्नुपर्छ सबैले । म पनि तपाईंभन्दा कम्ती दुःखी छैन आफ्नो मृत्युमा ।
आकृति ३ः हुन्छ । भन्नूस् ।
(आकृति ३ शवको नजिक जान्छ । निकै बेर घुरेर हेर्छ । अनि बोल्न थाल्छ ।)
आकृति ४ः म एक पुत्र हुँ । मेरो जन्म एक सम्पन्न परिवारमा भएको थियो । मेरो नाम अस्तित्व राखिएको थियो । सन्तान ढिला जन्मिएकाले म नबिग्रियोस् भनेर आमाबाले मलाई सानैदेखि आफूभन्दा धेरै टाढा स्कुलको छात्रावासमा राखिदिनुभएको थियो । मलाई त्यस छात्रावासमा खुबै डर लाग्थ्यो ‘होस्टल वार्डेन’ र केही बदमास केटाहरुदेखि । उनीहरु मलाई खुबै सताउँथे । म यो कुरा बालाई भन्थेँ र घर बसेर पढ्छु भनी रोइकराई गर्थें । मेरो कुराको सुनुवाइ हुँदैनथ्यो ।
आकृति ३ः तपाईं त्यस छात्रावासबाट भाग्नुभएन ?
आकृति ४ः यस्तो अवसर कहिल्यै आएन । लामो समय मैले त्यही अघोषित यातनागृहमा बसेर पढ्नुप¥यो । मलाई आफूदेखि टाढा राखेर पढाउने आमाबाप्रति बिस्तारै मेरो रुचि र माया घट्दै गयो । म एकलकाँटे र स्वार्थी बन्दै गएँ । मैले सबैभन्दा बढी आफूलाई माया गर्न थालेँ । त्यसपछि मैले आमाबालाई कहिल्यै एक असल पुत्रका दृष्टिले हेरिनँ । बुढेसकालमा उनीहरु तीर्थाटन लगिदिन भन्थे । म सुने पनि नसुनेझैँ गर्थेंँ । मलाई घरपरिवारसँग कुनै सहानूभूति र लगाव थिएन । त्यसैले एकदिन मैले उपाय निकालेँ । आमाबालाई मैले वृद्धाश्रममा लगेर राखिदिएँ । सहरको एउटा नाम चलेको वृद्धाश्रममा उनीहरुलाई राखेको थिएँ । उनीहरुले पनि त मलाई छात्रावासमा राखेका थिए । मैले पनि उनीहरुलाई वृद्धाश्रममा लगेर राखिदिएँ । यस कुराको मलाई रत्तिभर पछुतो थिएन । अचानक एकदिन वृद्धाश्रमबाट फोन आयो ।
(आकृति ४ बोल्दाबोल्दै भक्कानिएर रुन थाल्छ । केही बेर रोई नै रहन्छ ।)
आकृति ३ः के भयो महाशय ! भन्नूस् सबै कुरा । भन्यो भने मन हलुङ्गो हुन्छ । वृद्धाश्रमबाट कस्तो फोन आएको थियो ?
आकृति ४ः (बिस्तारै सानो स्वरमा) बूढाबूढीहरुले आत्महत्या गरेछन् । मर्नुअघि मेरो नाममा चिठी लेखेर छाडी गएका रहेछन् । मैले त्यो चिठी खोलेर हेरेँ । त्यसमा के लेखिएको थियो भने … के लेखिएको थियो भने … (बोल्दाबोल्दै फेरि डाँको छाडेर रुन थाल्छ)
आकृति ३ः आफूलाई सम्हाल्नूस् महाशय ! त्यस सुसाइड नोटमा के लेखिएको रहेछ, हामीलाई बताउनुस् !
आकृति ४ः (सम्हालिँदै) म भन्छु । मैले यो भन्नैपर्ने हुन्छ । त्यस पत्रमा मेरा आमाबा दुवैको हस्ताक्षर थियो । पत्रमा लेखिएको मेरा आमाबाको भनाइअनुसार म त अनाथालयबाट ल्याइएको एक अनाथ रहेछु । ती आमाबाले आफ्नो कुनै सन्तान नभएकाले मलाई अनाथालयबाट घर ल्याउनुभएको रहेछ । उहाँहरुले मलाई कहिल्यै कुनै कुराको कमी हुन दिनुभएन । म उहाँहरुको आफ्नै रगत होइन भन्ने भानसम्म पर्न दिनुभएन । जतिबेला मैले यो कुरा थाहा पाएँ । उहाँहरु यो संसारबाट गइसक्नुभएको थियो । त्यतिबेला म जस्तो कृतघ्न कोही छैन होलाजस्तो लागेर मेरो मुटु भतभती पोल्न थाल्यो । छात्रावासमा राख्नु मेरै हितका लागि थियो भन्ने कुरा मैले बुझ्न सकिनँ । मैले यसको बदला लिन ती महामानवलाई वृद्धाश्रममा लगेर राखेँ । यस कुराले म खुबै विचलित भएँ ।
आकृति ३ः तपाईंको कथा मैले पहिले पनि सुनिसकेको, पढिसकेको वा आफैँले भोगिसकेको जस्तो लाग्छ ।
आकृति १ः मलाई पनि त्यस्तै लागिरहेको छ ।
आकृति २ः मलाई पनि केही कुराको सम्झना भइरहेको छ तर यतिबेला मलाई पुत्र होइन, पिताको भूमिका बढी याद आइरहेको छ । त्यसपछि के भयो भन्नूस् त !
आकृति ४ः त्यसपछि म बिरामी परेँ । वास्तवमा म जीवनदेखि थाकिसकेको थिएँ । मलाई एक असल पुत्र हुन नसकेकोमा ठूलो ग्लानिबोध भइरहेको थियो । हिजो निकै तनाब भएर अल्कोहल बढी नै पिएछु । राति टेलिभिजन हेर्दाहेर्दै मेरो मृत्यु भएछ । तपाईंहरु नै भन्नूस् त, मरिसकेपछि अब म आफैँलाई के सजाय दिऊँ ? मेरोे कृतघ्न शरीरलाई म अब यहाँ डाक्टरहरुले टुक्राटुक्रा पारेको हेरेर पश्चाताप गर्न चाहन्छु । त्यसैले यो मेरो शव भएको ठाउँमा म आएको हुँ । बिन्ति छ, मलाई मेरो अन्तिम इच्छा पूरा गर्न दिनुहोस् !
आकृति ३ः हतार नगर्नुस् महाशय ! दुई जनाको कुरा सुनिसकेपछि मेरो कुरा पनि सुनिदिनुस् । त्यसपछि जेजस्तो निर्णय हुन्छ, म मान्न तयार छु ।
आकृति २ः भन्नूस् । भन्नूस् । तपाईंलाई मात्र नभई मलाई पनि आफ्नो कुरा राख्ने हक लाग्छ । पहिला तपाईं नै भन्नूस् ।
आकृति ३ः यो मेरो शव हो भन्नुको एउटै कारण छ । मैले यो शवको जीवित शरीरसँग धेरै खेलबाड गरेँ । मैले अघि नै भनिसकेँ, म एक असफल प्रेमी हुँ भनेर ।
आकृति १ः हुँ होइन, थिएँ भन्नूस् महाशय यदि तपाईंको मृत्यु भइसकेको हो भने …
आकृति ३ः धन्यवाद तपाईंलाई ! म एक खराब प्रेमी नै थिएँ । अझ भनौँ प्रेमको नाममा म कलङ्क थिएँ । मेरो जीवनकालमा एकैपटक दसौं जनासम्मसँग सम्बन्ध राखेँ । सबैलाई प्रेमको नाटक गरिरहेँ अनि उनीहरुको देहलाई भोगिरहेँ । यो कुरा मेरो घरपरिवारलाई थाहा थियो । मेरी पत्नी, आमाबुबा र मेरा छोराछोरीलाई समेत थाहा भइसकेको थियो । त्यसैले उनीहरु मलाई घृणा गर्थे । मेरो घर, परिवारमा कसैसँग पनि राम्रो सम्बन्ध थिएन । त्यसैले म सधैँ–सधैँ नयाँ सम्बन्धको खोजीमा हुन्थेँ ।
आकृति १ः क्वाइट इन्ट्रेस्टिङ ! रुचिकर रहेछ तपाईंको आत्मकथा ! अगाडि बढौँ ।
आकृति ३ः धन्यवाद महाशय ! मैले जीवनमा धेरैलाई मन पराएँ । धेरैको जीवन बिगारेँ पनि । म एक जनाको प्रेममा मात्र रमाउने मानिस थिइनँ तर जीवनको उत्तराद्र्धमा आइपुगेपछि मलाई आफैँदेखि घृणा लाग्न थाल्यो । मैले जानाजानी सबैलाई धोका दिइरहेको थिएँ । विशेषगरी ती महिला जो मेरो एक इशारामा मसँग जीवन बिताउने सपना देख्दै दौडिँदै आइपुग्थे । उनीहरुलाई पनि मैले अन्याय गरेँ । म एक असल पति थिइनँ । म एक असल पुत्र पनि थिइनँ । म एक असल प्रेमी पनि बन्न सकिनँ । मान्छेको यति ठूलो विद्रुप अनुहार मैले देखेको थिइनँ । मलाई आफ्नै अनुहारदेखि केही दिनदेखि डर लाग्न थालेको थियो । मैले ऐना नहेरेको पनि महिनादिन हुन लागेको थियो । हजामकोमा जाँदा ऐना छोपेर दाह्री काट्न लगाउँथेँ । म अर्धपागलजस्तो बनेको थिएँ । मलाई यो जीवनदेखि वाक्क लागेको थियो । त्यसैले विभिन्न सहरमा मानिसहरु आन्दोलनमा भटाभट मरिरहेको देखेर मलाई पनि मर्न मन लाग्यो । उनीहरु देशका निम्ति मरिरहेका थिए । म मेरैनिम्ति मरेँ । फरक यत्ति हो । अहिले मेरो शव मेरो आँखाअगाडि छ । म मेरो मृत्युमा अब खुसी मनाऊँ कि दुःख ? अन्योलमा छु ।
(शव छुन खोज्छ । छुँदैन । एकोहोरो हेरी मात्र रहन्छ ।)
आकृति २ः पीडा उस्तै हो । हामी पात्र मात्र फरक हौं । आवरण मात्र फरक हो । मान्छे भएर जन्मिसकेपछि हरेक भूमिका गर्नुपर्ने रहेछ । म पनि एउटा भूमिकामा थिएँ ।
आकृति १ः कस्तो भूमिकामा ?
आकृति २ः पिताको भूमिकामा । म पनि आदर्श पुत्र थिइनँ न त म उत्तम पति नै थिएँ । म महान प्रेमी पनि बन्न सकिनँ न असल पिता नै बन्न सकेँ ।
आकृति १ः हुन सक्छ ।
आकृति ४ः अनि तपाईं के भन्न चाहनुहुन्छ अब ?
आकृति २ः म यति मात्र भन्न चाहन्छु, तपाईंहरु सबैले भन्नुभएको कथा मेरो पनि साझा आत्मकथा हो । हामी सबै एउटै मानिसका फरकफरक व्यक्तित्व हौँ । मलाई अरु भूमिकाले भन्दा पनि एक खराब पिता बन्नुपरेकोमा पश्चात्ताप लागिरहेको छ । आफ्नो सन्तानहरुलाई मैले कहिल्यै समय दिइनँ । उनीहरुलाई म मन पराउँथेँ तर मैले कहिल्यै उनीहरुसँग मिठो वचन बोलिनँ । म सधैँ आफ्नै काममा व्यस्त भएँ । रमाएँ । विशेषगरी जीवनभर मैले घृणा गरेको मेरी पत्नीले मृगौला दान दिएर मलाई बचाएपछि, मेरो आम्दानीको स्रोत सुक्दै गएको थाहा पाएर रगत पिएर ढाडिएको जुकाले झैं मेरा कथित प्रेमिकाहरुले मलाई छाडेपछि र वृद्धाश्रमबाट आमाबाले लेखेको सुसाइड नोटबाट म एक अनाथ हुँ भन्ने कुरा थाहा पाएपछि … म मान्छे रहिनँ । मैले मान्छे हुनुको न्यूनतम योग्यता गुमाइसकेको थिएँ । मैले आफ्ना छोराछोरीलाई सम्झिएँ त्यसपछि । म एक अनाथ भएर पनि असल पिता पाएको थिएँ । मेरा छोराछारी अनाथ थिएनन् तर उनीहरुले पिताको अनूभूति कहिल्यै गर्न पाएनन् । त्यसैले मैले घरपरिवार र छोराछोरीलाई अब समय दिने सोच बनाएको थिएँ । मेरो स्वाभाव र व्यवहार पनि बदलिँदै गएको थियो । तर अचानक मेरो मृत्यु भयो । म एक अभागी पिता हुँ जो यतिबेला आफ्नै शव हेरेर टुलुटुलु बस्नुपरिरहेको छ ।
(सबै मुखामुख गर्छन् । मूर्दा शून्यता छाउँछ । एकछिनपछि हावा, हुरी चल्न थाल्छ । चारै आकृतिलाई हावाले उडाउलाझैँ गर्छ । हुरी रोकिन्छ । स्ट्रेचरबाट शव बिस्तारै उठ्छ । आकृतिहरु डराउँछन् । शव रङ्गमञ्चको मध्यभागमा जान्छ । प्रकाश शवमाथि मात्र केन्द्रित हुन्छ ।)
आकृति १ः मेरो शव हिँड्न थाल्यो !
आकृति २ः मेरो शव हिँड्न थाल्यो !
आकृति ३ः मेरो शव हिड्न थाल्यो !
आकृति ४ः मेरो शव हिँड्न थाल्यो !
(शव रङ्गमञ्चबाट बाहिरिन थाल्छ । नेपथ्यमा शान्तिको मन्त्रोच्चारण हुन थाल्छ । “असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्माऽमृतं गमय । ॐ शान्ति ः शान्ति ः शान्ति ः ।।”)
आकृति १ः सायद अब मेरो महाप्रस्थान हुने बेला भयो ।
आकृति २ः सायद अब मेरो पनि महाप्रस्थान हुने बेला भयो ।
आकृति ३ः सायद अब म पनि महाप्रस्थान गर्नेछु ।
आकृति ४ः सायद अब मेरो पनि महाप्रस्थान हुनेछ ।
(शव रङ्गमञ्चबाट बाहिरिन्छ । आकृतिहरु पनि एक–एक गर्दै शवसँगै बाहिरिन्छन् । पालेको प्रवेश हुन्छ । शवघरमा खाली स्ट्रेचर देखेर पाले झस्किन्छ । उसले चारैतिर शव खोज्छ । कतै पनि भेट्दैन । ऊ बोल्न खोज्छ तर उसको आवाज निस्कँदैन । रङ्गमञ्चको प्रकाश एक्कासि निभ्छ ।)

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार