Presidential

सिम्पल–सिम्पल वसन्तको डिम्पल पार्ने संगीत…


सिम्पल–सिम्पल वसन्तको डिम्पल पार्ने संगीत…

कुनै बेला, नेपाली चलचित्र क्षेत्रमा शम्भुजित बाँस्कोटाको संगीतको विकल्प सोचिँदैनथ्यो । पचासको दशकमा निर्माण भएका अधिकांश चलचित्रमा शम्भुजितको एकछत्र रजाइँ थियो । चलचित्र निर्माणमा लाग्नेहरु पनि शम्भुजितले ढुंगालाई छोए भने पनि सुन बन्छजस्तै ठान्थे । खासगरी, फर्मुलाबद्ध व्यावसायिक चलचित्रहरुमा कस्ता संगीत भर्ने भन्नेबारे राम्ररी बुझेका उनले फिल्म–निर्माता र निर्देशकहरुको मनोविज्ञान बुझेर काम गर्थे । पछि, टीका भण्डारीले पनि केही समय बाँस्कोटासँगै प्रतिस्पर्धा गरे ।

जतिबेला, नेपाली चलचित्र संगीतमा शम्भुजितको राइँदाइँ चलिरहेको थियो, वसन्त सापकोटा भने पोखरामा संघर्षरत थिए । कुनै दिन, नेपाली चलचित्रहरुमा लोकप्रिय संगीत भर्ने सोच उनको दिमागमा त्यतिबेला रत्तिभर पनि पलाएको थिएन । ३८ वर्षअघि कास्की जिल्लाको थुमाको डाँडा गाउँ विकास समितिमा जन्मिएका उनमा पोखरा क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमशृंखलाहरुको मनोरम दृश्य र अरु सामाजिक÷साँस्कृतिक आयामहरुले गीत÷संगीत क्षेत्रमा खुट्टा उचाल्न भने भित्रैदेखि उक्साइरहेको थियो ।

लोकगीतमा मोह

गण्डकी अञ्चल लोकगीतका लागि उर्वर खानी रहँदै आयो, पहिलेदेखि नै । धर्मराज थापा, अलि मियाँ, झलकमान गन्धर्व, कल्याण शेरचन, सरोजगोपाल, बुद्धि परियारजस्ता अघिल्ला पुस्ताका मात्र होइनन्, पछिल्लो समयका अमृत गुरुङ, तिलकबम मल्ल, धर्मेन्द्र सेवानले समेत लोक–पप शैलीमा नै गीतहरु गाइरहेका छन् । लोकगीत र साँस्कृतिक हिसाबले गण्डकी अञ्चल पहिलादेखि नै समृद्ध रहेको पक्षलाई राम्ररी बुझेका सापकोटाले सुरुका दिनहरुमा लोकगीतमा नै मन बिसाए । भन्छन्, ‘ममा सानैदेखि गाउने रुचि थियो । स्कुलमा पढ्दादेखि नै गाउन थालेँ मैले । स्कुलमा हुने प्रतियोगिताहरुमा बारम्बार भाग लिन्थेँ र पुरस्कारसमेत पाउथेँ । तर, त्यतिबेला म लोकगीतहरु गाउँथेँ ।’

सुरुका दिनहरुमा आफूले रचना गरेका मौलिक गीतहरु कहाँ गाउन पाइन्थ्यो र ? सापकोटाले अरुकै गीतहरु हुबहु कपी गरेर गाउन थाले । तर, गीत÷संगीतप्रति अभिरुचि बढ्दै गए पनि पारिवारिक माहोल भने उनले सोचेजस्तो अनुकूल थिएन । भन्छन्, ‘पारिवारिक माहोल त्यस्तो नभए पनि शिक्षण पेशामा आबद्ध बुवाले गीतहरु भने लेखिदिनु हुन्थ्यो । म तिनै गीतहरु गाृउँथेँ ।’

उनका संघर्षका दिनहरु पोखरामा नै बित्यो । पृथ्वीनारायण बहुमुखी क्याम्पसमा विद्यार्थी रहँदा उनले साथीभाइको अनुरोधलाई स्वीकार्दै गीत गाउन उत्साह देखाइहाल्थे । सुमधुर स्वर रहेका कारण पनि उनलाई भेट्ने बित्तिकै साथीहरु भनिहाल्थे, ‘वसन्त, एउटा गीत गाऊ त ।’ उनी पनि के कम ? आफ्नो कला निखार्नका लागि गाउन थालिहाल्थे उनी । त्यही क्रममा उनले ‘मुरली कसले बजायो, जुरेली बस्ने वनैमा…’, जलजलेमा ताल..’ जस्ता गीतहरु गाए ।

घरबेटीले गरे फिल्ममा अफर

२०६१ सालको कुरा हो । उनी पोखरामा दाइसँगै बस्थे, एउटै कोठामा । अरु बेला पनि गीत गाइरहने स्वभावका उनलाई एक दिन घरबेटी दाइले प्रस्ताव राख्दै भने, ‘म फिल्म बनाउँदैछु । त्यसमा तिम्ले संगीत दिनुप¥यो ।’ के चाहियो र त्यसपछि ? अवसरको खोजीमा दौडिरहेका उनलाई फिल्ममा संगीत दिनुपर्ने प्रस्ताव आएपछि नाइनास्ती गर्ने कुरै थिएन ।

पोखराकै कलाकार र प्राविधिकहरुको लगनशीलतामा निर्माण भएको फिल्म ‘दोषी’ मा उनले संगीत भरे । रामचन्द्र पौडेल, राजु गिरी, श्याम अर्यालजस्ता साथी उनको टिममा थियो, त्यतिबेला । पेशाले इलेक्ट्रिक इन्जिनियर भए पनि गीत÷संगीत भनेपछि मरिहत्ते गर्ने उनलाई फिल्ममा संगीत दिन पाएपछि यो क्षेत्रमा एक खुट्किलो उक्लिएजस्तो महसुस भयो ।

जागिर खानुपर्छ भन्ने दबाब

इलेक्ट्रिक इन्जिनियर उनलाई त्यही पेशा अपनाएर बाँच्न कुनै समस्या थिएन । घरमा पनि बुबाको सुझाव हुन्थ्यो, ‘संगीतमा लागेर बाँच्न सकिँदैन, जागिर नै खानुपर्छ ।’ एक मनमा त उनलाई बुबाको सुझाव ‘हो’ जस्तै लाग्थ्यो । बुवाको सुझावलाई पछ्याएर जागिर खाने वा संगीतरुपी नदीमा पौडिने उनमा केही समय द्विविधा पनि छायो ।

तर, एक दिन उनले संगीत क्षेत्रमै अगाडि बढ्ने फैसला गरे । भन्छन्, ‘ममा संगीतमा नै केही गर्नसक्छु भन्ने आत्मविश्वास पलायो र इलेक्ट्रिक काम छाडेर संगीतमा नै पूर्ण रुपमा होमिएँ ।’ तर, सुरुका दिनहरुमा उनले फिल्म निर्माताहरुलाई पारिश्रमिकमा त्यति किचकिच गरेनन्, किनकि ‘क्यारिअर’ को कुरा जोडिएको थियो । भन्छन्, ‘सुरुका दिनहरुमा फिल्ममा संगीत गर्न पाउनुलाई अवसरको रुपमा लिएँ । त्यही कारण पारिश्रमिकमा त्यति गुनासो रहँदैनथ्यो ।’

‘तर, अहिले नि ?’ सापकोटा भन्छन्, ‘अहिले त म आफ्नो पारिश्रमिकको टुंगो लगाइसकेपछि मात्रै काम गर्छु । दर नै तोकेर काम गर्ने गरेको छु ।’ त्यसो त, २०६३ सालमा पोखरा छाडेर काठमाडौंमै संगीत–यात्रालाई गति दिने उद्देश्य सँगालेर आएका उनले त्यही वर्ष एउटा एलबम निकाले–‘वसन्त’ । त्यो एलबमको एउटा गीत धेरै नै चल्यो । बोल थियो, ‘माया अन्तै सार…।’ त्यसपछि आफ्ना फिल्ममा उनका संगीत भर्न चाहने फिल्मकर्मीहरुको लर्को नै लाग्न पुग्यो ।

काठमाडौं आएपछि ०६५ सालमा उनले फिल्म ‘तहल्का’ मा संगीत दिए । त्यसपछि उनको संगीत सजिने फिल्महरुको ताँती नै लाग्यो– नसिब आफ्नो, सिलसिला, नैना रेसम, टक्कर दुई मुटुको, कसलाई दिऊ यो जोवान, अन्दाज, म तिम्रो भइसकेँ, रिदम । उनले जति फिल्ममा संगीत दिए, सबैका गीतहरु उत्तिकै चल्न पनि थाले । खासगरी, माया–प्रेममा आधारित फिल्ममा उनले दिएका संगीतले तहल्का नै पिट्न थाल्यो र अहिलेसम्म पिटिरहेकै छ ।

उनका दुई गीत खुबै चल्यो । फिल्म ‘अन्दाज’ को ‘सिम्पल, सिम्पल कान्छीको डिम्पल पार्ने गाला…’ र अर्को फिल्म ‘नोटबुक’ को ‘गाला रातै गाला रातै, गाला रातै, लाजले हो कि…।’ हुन पनि, ‘गाला रातै…’ बोलको गीतमा इलामको रमणीय चियाबारीमा जीवन लुइँटेल र नीता भण्डारीले नृत्य गरेको दृश्य र संगीतको तालमेल अचम्मले नै मिलेको छ । त्यसो त, फिल्म ‘नैना रेसम’ को ढल्क्यो, ढल्क्यो, ‘टक्कर दुई मुटुको’ को तिमी बिनाको जीवन, ‘काली’ को स्लोली, स्लोली र ‘नाइँ नभन्नू ल–२’ को यी आँखामा तिमी छौं, ‘सिलसिला’ को सागरसरी चोखो मायाजस्ता गीतहरुले सापकोटाको चलचित्र संगीतको उचाइँलाई नपत्याउँदो गरी बढाएको छ ।

आफूलाई कुकको संज्ञा

चलचित्र संगीतमा पाइला टेकेको एक दशकभन्दा केही वर्षमात्रै छिचोलेका उनले आफूलाई होटलमा कार्यरत कुकको संज्ञा दिन चाहन्छन् । भन्छन्, ‘म एउटा कुक मात्रै हुँ । ग्राहकले चिकेन खान्छु भने चिकेनकै परिकार बनाएर दिनुपर्छ, ग्राहकले भेज आइटम खान्छु भन्यो भने भेज परिकार नै बनाएर दिनुपर्छ । बजारले जे माग्छ, मैले त्यही दिनुपर्छ ।’

उनी भन्छन्, ‘बजारको मागलाई हेरेर नै म संगीत गर्छु । बजारमा जुन गीतको माग छ, मैले त्यस्तै संगीत दिनुपर्छ । निर्माताहरु पनि बजारमा चल्ने खालका गीत÷संगीत नै खोज्छन् । हरेक निर्मातालाई आफ्नो फिल्म चलोस्, घाटामा नजाओस् भन्ने चाहना हुन्छ । त्यस्तो चाहना हुनु स्वाभाविक पनि हो ।’

सिर्जनाको समय छैन

कुन बेला संगीत सिर्जना फुर्छ, सापकोटालाई कुनै पत्तो हुँदैन । भन्छन्, ‘सिर्जना जतिबेला पनि आउन सक्छ । कहिले बाटोमा हिँडिरहेका बेला पनि सिर्जना गरिन्छ र कहिले राति सुत्ने बेलामा पनि आउन सक्छ । सिर्जना प्रस्फुटनका लागि कुनै निश्चित समय छैन मेरो ।’

त्यसो त, चलचित्रमा संगीत दिनु गाह्रो पनि छ । अरु गीतहरुमा स्वतन्त्र ढंगले संगीत सिर्जना गरे हुन्छ तर चलचित्रमा भने एउटा निश्चित दायरामा बाँधिएर सिर्जना गर्नुपर्ने हुन्छ । सापकोटा भन्छन्, ‘चलचित्रमा हामी कथामा बाँधिएर संगीत गर्छौं । कुनै पनि चलचित्र रोमान्टिक छ वा कस्तो छ, त्यही हेरेर नै संगीत गर्नुपर्ने हुन्छ । चलचित्रका नायक वा नायिकाको भावभंगिमा हेरेर र बुझेर नै संगीत गर्नुपर्ने हुन्छ ।’

विगत दसक वसन्तका लागि ‘वसन्त’ जस्तै खुसी र उर्वर रह्यो । कम्तिमा पनि सयको हाराहारीका चलचित्रहरुमा उनले संगीत दिए । र, हरेक फिल्मबाट राम्रै पारिश्रमिक पनि लिए । तर, आफूलाई कुनै पनि निर्माताले अहिलेसम्म पारिश्रमिकमा ठग्ने वा झुलाउने काम नगरेको उनको भनाइ छ, ‘निर्माताहरुले हामीलाई झुलाउन सक्दैनन् । किनकि, हाम्रा विभिन्न संघहरु छन् । यदि निर्माताले पारिश्रमिकमा किचलो गरे भने सेन्सर बोर्डमा एउटा निवेदन दियौं भने फिल्म प्रदर्शन रोकिन्छ । निर्माताहरुलाई अंकुश लगाउने विभिन्न माध्यम छन् ।’

अहोरात्र चलचित्र संगीतमै जुटिरहेका र नेपाली व्यावसायिक चलचित्रहरुलाई माथि उचाल्ने स्तरका संगीत दिइरहेका सापकोटा आफूहरु विस्तारै व्यावसायिक बन्दै गइरहेको बताउँछन् । भन्छन्, ‘हामीले हलिउड र बलिउडका संगीत सर्जकहरुको जीवनस्तर हेरेर त हुँदैन तर आफ्नो क्षेत्रमा इमानदारितापूर्वक काम गर्ने हो भने संगीत सिर्जना गरेर मजाले बाँच्न सकिने अवस्था सिर्जना भएको छ ।’

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार