Presidential

ओली सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्छौः परराष्ट्रमन्त्री महत

ओली सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्छौः परराष्ट्रमन्त्री महत

१३ पुस । परराष्ट्रमन्त्री प्रकाशशरण महतले कुनै पनि मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने  प्रतिबद्धता व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री महतले भने– ‘एउटा मुलुकलाई खुसी पार्ने अर्कोलाई चिढ्याउने काम नेपालले कदापि गर्दैन ।’

उनले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह सञ्चारकर्मीलाई आग्रह पनि गरे । उनले परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा जनमानसमा द्विविधा उत्पन्न गर्ने खालका खबर नलेख्न पनि सञ्चारकर्मीसँग आग्रह गरे ।

‘देशको मर्यादा र गरिमामा आँच आउने समाचार एवम् विचार सम्प्रेषण तथा टीकाटिप्पणी गर्दा विषयको गाम्भीर्य र संवेदनशीलतालाई ख्याल गर्दै मुलुकको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्नु सम्मानित सञ्चार क्षेत्रको पनि दायित्व हो ,’ उनले भने, ‘परराष्ट्रजस्तो अति संवेदनशील विषयमा जनमानसमा भ्रम सिर्जना गर्ने समाचार र टिप्पणीले नेपालको दीर्घकालीन हित गर्दैन ।’

उनले माओवाद केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएयता चीनसँगको नेपालको सम्बन्धमा केही चिसोपन आएको भन्ने सार्वजनिक सञ्चारमाध्यमका टीकाटिप्पणीको पनि खण्डन गरे ।

उनले नेपालको राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर छिमेकी र अन्य राष्ट्रसँगको सम्बन्धलाई समुन्नत, सुदृढ र सुमधुर तुल्याउन सरकार लागिपरेको पनि बताए ।

नेपाली सेनालाई भारतीय सेनाअन्तर्गत राष्ट्रसङ्घीय शान्ति सेनामा पठाउन प्रयास भइरहेको भन्ने समाचारको नेपाली सेनाले खण्डन गरिसकेको जानकारी दिँदै परराष्ट्रमन्त्रीले सौर्यशाली नेपाली सेनाले राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भई विश्व शान्तिस्थापनामा काम गर्ने भएकाले कुनै देशको मातहतमा काम गर्ने वा गर्नुपर्ने भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि उनले दाबी गरे ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेका सन्धिसम्झौता कार्यान्वयन गर्न मन्त्रालय क्रियाशील रहेको र त्यस दिशामा दुवै देशका अधिकारी निरन्तर सम्पर्क र संवादमा रहेका जानकारी पनि दिए ।

11 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार