Presidential

शारदामैँको ‘झी’

शारदामैँको ‘झी’

राजेन्द्र पराजुली

यो साता ।
अचानक एक साता शारदामैँको धूप पसल बन्द भयो ।

असन बजारको पूर्वी कुनामा छ, शारदामैँको धूप पसल । सैँतीस वर्षीया उसको पुरा नाम शारदामैयाँ रञ्जितकार हो । तर सबैले उसलाई भन्छन्, शारदामैँ । एसएलसीसम्म पढेकी छ उसले । उसका निम्ति एसएलसी ‘फलामको ढोका’ नै बन्न पुग्यो । त्यसलाई चाहेर पनि उसले कहिल्यै नाघ्न सकिन । चार पटकसम्म लगातार उसले एसएलसी परीक्षा दिएकी हो । तर उत्तीर्ण हुन सकिन । अङ्ग्रेजी विषय उसका लागि सधैँ उक्लिन कठिन पहाड बनेर ठडिइरह्यो ।

शारदामैँको अझै बिहा भएको छैन । बाबु छँदै बिहा गर्ने कुराकानी चलेको थियो । तीन पटकसम्म चल्यो, त्यस्तो कुराकानी । तर कुनै निष्कर्षमा नपुगी टुङ्गिएको थियो । उसका बाबुले आफ्नी छोरी व्यापारीलाई नै सुम्पिन चाहेका थिए । काठमाडौँ बाहिरकालाई छोरी सुम्पन उनले चाहेका थिएनन् । एक पटक निकै खाइलाग्दो र आकर्षक केटा उसलाई हेर्न आएको थियो । शारदामैँ र उसका बाबुले पनि त्यो केटा मन पराएका थिए । तर केटाले ‘एसएलसी पास नभएको केटीसँग के बिहे गर्नु’ भनेर पन्छियो । यस्तै शर्तका कारण शारदामैँको बिहा हुन सकेन । बाबुको निधनपछि त उसको बिहाको कुरामात्रै गर्ने पनि कोही बाँकी रहेन ।

शारदामैँका आमा ४ वटी । उसकी आमा जेठी, जसको निधन भएको बीस वर्ष पुग्न लागेको छ । बाबुले उसकी आमाको निधनलगत्तै अर्की ल्याए । केही वर्षको अन्तरमा अर्की दुईटी थपे ।

‘एउटा छोरो त नभै हुन्न’ सधैँ यसै भन्थे उसका बाबु । तर शारदामैँकी आमा बितेपछि बिहा गरेका तीन श्रीमतीबाट छोरो त परै जाओस् एउटा छोरी पनि जन्मेनन् । बूढा हिस्स परे ! छोरा जन्माउन भित्रिएका बूढीहरु पनि हिस्स परे । झन्डै दस वर्षअघि बूढा पनि बिते । त्यसपछि सारा किस्साको अन्त्य भयो । शारदामैँ नै त्यो कुलकी एकमात्र प्रतिनिधि बन्न पुगी । घर धान्ने जिम्मा उसकै काँधमा आइप¥यो । र, तीन जना बूढी पाल्ने जिम्मा पनि उसैले लिनुप¥यो ।

धूप पसल उसका बाबुले सुरु गरेका थिए । बाबुसँगै उसले त्यो व्यापार सिकेकी हो । सोही पुख्र्यौली व्यापार थाम्दै शारदामैँले झन्डै २ दशकदेखि धूप बेच्ने काम गर्न थाली ।

शारदामैँको घरले कहिल्यै घाम देख्न पाएको छैन । असनको कुनामा रहेको उसको एकनाले घरको भित्र पस्दा सधैँ ढुसीको गन्ध नाकभित्र ठोक्किन्छ । र, त्यो गन्धबाट मुक्त हुन घरबाहिर निस्केको केही मिनेट कुर्नु पर्छ । पाँच तले घरमा जम्माजम्मी पाँच कोठा छन् । भुइँतलामा भान्छा । त्यसपछि शारदामैँको कोठा ।

घरहरुको बीचमा एउटा चोकजस्तो सानो खाली ठाउँ छ । चोकको वरिपरि चार वटा घर छन् । त्यो खाली ठाउँमा चार घरपरिवारबाट निस्केको फोहोर फाल्ने गरिन्छ । त्यसको छेउमा एउटा सानो इनार पनि छ । सरकारी धाराको पानी सातामा २ पटकमात्रै आउँछ । आएका दिन पनि जम्माजम्मी १ घन्टा आउँछ ।

‘खानेपानी संस्थानको पानी पाउन सायद अब मेलम्ची नै आउनु पर्छ !’ शारदामैँ भन्छे ।

त्यसैले उक्त चोकवासीका लागि पानीको एकमात्र विकल्प इनार बनेको छ । इनार वरिपरि फोहोर थुप्रिएको छ । फोहोर उठाउने मान्छे हप्तामा एकचोटीमात्रै आउँछ ।

शारदामैँको घरसँगै जोडिएका अन्य घरबाट फैलिएको रक्सीको नमीठो गन्ध ढुसीको गन्धभन्दा कैयौँ गुना अप्रिय छ । कतैबाट हावा नछिर्ने भएकाले एउटै दुर्गन्ध धेरै दिनसम्म चलिरहन्छ । त्यहाँका अधिकांश वासिन्दा झाडापखालाका सिकार भएका छन् । अझ गर्मी महिनामा त धेरै जनालाई झाडापखालाले सताउँछ ।

असनबाट स्वास्थ्य मन्त्रालय बढीमा दुई किलोमिटरको दूरीमा छ । मन्त्रालयको उच्चस्तरीय टोली हरेक वर्ष गर्मी याममा असन आउँछ । झाडापखालाको प्रकोपबारे अध्ययन गर्छ । र, प्रतिवेदन तयार पार्छ । प्रतिवेदन विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा बुझाउँछ । जीवनजलका केही पुरिया निःशुल्क वितरण गर्छ । बजार र चोकभित्रका भुइँमा सेतो पाउडर छर्कन्छ । सहयोग जारी रहन्छ । तर झाडापखाला नियन्त्रण कहिल्यै हुँदैन । यसबारे थुप्रै पत्रपत्रिकाले समाचार बनाएका छन्, टेलिभिजन च्यानलहरुले दृश्य देखाएका छन् ।

शारदामैँ पनि केही पटक झाडापखालाबाट थलिएकी छे । सफाइमा निकै ध्यान दिने भएका कारण उसलाई अरुलाई भन्दा कममात्र झाडापखालाले छुन पाएको छ ।

बिहान पाँच बजेतिर सुरु हुने शारदामैँको दिन साँझको लगभग पाँचै बजेतिरै सकिन्छ । पसल खोल्दासाथ ऊ एक मुठा बाटेको घरेलु धूप बोकेर छेउमा रहेको देवीको मन्दिर जान्छे । एकै पटक सबै धूप सल्काउँछे । मन्दिरमा राखिएका मूर्तिको वरिपरि त्यसलाई बालिदिन्छे । थोरै अक्षता पनि चढाउँछे ।

एक दिन मन्दिरको ठीक देब्रेपट्टि कहिल्यै नदेखिएको एउटा माग्ने बालक देखाप¥यो । ऊ पूजा सकेर मन्दिरबाट बाहिर निस्कँदै थिइ । त्यस बालकले उसको सुरुवाल समातेर पैसा माग्यो । आफूलाई भोक लागेको बतायो । शारदामैँ उसलाई पैसा दिन चाहन्नथी । बालकले हत्केलामा लागेको ठूलो घाउ देखाउँदै भन्यो– ‘दिदी मेरो झी हेर त !’ हत्केलाभरिको घाउ देखेपछि शारदामैँ सोचमग्न भई । उसले आफ्नो खल्तीमा हात घुसारी । ५० रुपैयाँको नोट निस्क्यो । त्यही नोट उसले त्यस बालकलाई दिइ ।

झी भनेको घाउ हो भन्ने पनि शारदामैँले त्यसै दिन बुझेकी थिइ । त्यस दिन उसले आफ्ना अनेक निजी झीहरुलाई मन्दिरको भित्तोमा अडेस लागेर एक पटक स्मरण गरेका थिइ ।

हरेक दिन मन्दिर सफा गर्न एक जना युवक आउँछ । उसलाई पूजारीको दर्जा दिइएको छ । दुई–तीन दिन त्यो पूजारी आइदिएन भने चढाइएको अक्षता कुहिन्छ र गनाउन थाल्छ, रक्सीजस्तै । कैयौँ पटक यस्तो भएको छ । बरदान माग्न आएका दर्शनार्थीहरु मन्दिरबाटै दुर्गन्ध आएको चाल पाएपछि परैबाट भगवानलाई ढोग्छन् । मन्दिरको ढोका छेउबाट यस्सो च्याउँछन् । अक्षता र पैसा चढाउँछन् । ‘रक्षा गर देवी’ भन्छन् । छातीमा हात लैजान्छन् र आफ्नो मनोकामना पूरा गरिदिन पटक पटक याचना गर्छन् ।
शारदामैँलाई भने मन्दिर सफा गर्ने पूजारी दिनहुँ नआएकोमा केही रिस पनि उठ्छ । भेटमा उसलाई गाली गर्छे । तर सामान्य गाली ।

‘जिम्मेवारी लिएपछि पूरा गर्नु पर्छ नि !’ ऊ भन्छे ।

‘भगवानले अक्षताको भात पकाएर खाँदैनन् क्यार, बरु मैलाई दिए हुन्छ नि त्यो,’ गालीको जवाफमा पूजारी भन्छ, ‘यी भक्तजन पनि कति मुर्ख भन्या शारदामैँ ! बरु गरिबलाई दिनु नि अक्षता । बेकारमा कुहाएर ! यो कुहिएको अक्षता त परेवाले पनि खाँदैन ।’

त्यो पूजारीलाई मन्दिर सफा गर्ने जिम्मा दिनुपूर्व स्थानीयबासिन्दा नै पालैपालो त्यो काम गर्थे । यसो गर्दा हानथाप बढी चल्न थाल्यो । त्यहाँको आम्दानी निकै राम्रो थियो । आम्दानीकै कारण झगडा पनि पथ्र्यो । तँछाडमछाडले मन्दिर फोहोर भइरहन्थ्यो ।

पूजारीको उमेर करिब ३० वर्ष ।

‘भारतको बनारसमा पूजारीको काम गरेको हुँ मैले, चानचुने पूजारी होइन म,’ उसले भनेको थियो, ‘म त्यहाँ पनि देवीको मन्दिरमै पूजाआजा गर्थें ।’

आफूलाई ‘अनुभवी पूजारी’ को स्थानमा उसले उभ्याएको थियो । त्यसपछि स्थानीयबासिन्दाले उसलाई मन्दिर सफा गर्ने र पूजाआजासमेतको जिम्मा दिएका थिए । उसले आफू अविवाहित रहेको पनि बताएको थियो । र, घर पश्चिम नेपालको कुनै एउटा गाँउतिर भएको जानकारी दिएको थियो । बोलीबाट भने उसलाई मधेसतिरको हो भनी अनुमान गर्न सकिन्थ्यो । तर यसबारे कसैले वास्ता गरेका थिएनन् ।

तलबको रुपमा उसले मन्दिरमा चढाइएको भेटी सबै लिन्थ्यो । मासिकरुपमा भेटीको हिसाब गर्ने हो भने एउटा चल्तीको पत्रिकाको सम्पादकको भन्दा पूजारीको तलब बढी हुन्थ्यो । अबिर मिसिएको चामल ऊ लिँदैन । मन्दिर छेउतिर बस्ने माग्नेहरुलाई बाँडिदिन्छ ।

देवीको मूर्ति बनाउने कलाकार निकै सिपालु थियो । उन्मत्त नारीशरीरको प्रतीकका रुपमा उभ्याएको छ कलाकारले देवीको मूर्तिलाई । त्यो मूर्ति उसले निकै मेहनत गरेर तयार पारेको थियो । यो कुरो आकर्षक मूर्तिले नै बताउँछ । विशेषगरी उसले देवीको अनुहारको बान्की र संवेदनशील अङ्ग निर्माणमा बढी मेहनत गरेको थियो । पहिला त्यहाँ सानो चाँदीको देवी मूर्ति थियो । उही पूजारी आएपछि पूर्णकदको मूर्ति प्रतिस्थापित गरिएको हो । पूर्णकदको मूर्ति बनाउने मान्छे पनि बनारसी नै थियो, त्यही पूजारीले नै खोजेर ल्याएको ।

मूर्तिको संवेदनशील अङ्गहरु केही गहिरो भएका कारण अक्षता बढीमात्रामा त्यहीँ गएर अड्कन्थ्यो । अड्किएको अक्षता निकाल्ने बेलामा त्यो पूजारी प्रायः एउटै हिन्दी गीत गुनगुनाउँथ्यो ‘तु चिज बढी है मस्तमस्त….।’ र, यही गीत गाउँदै ऊ देवीको संवेदनशील अङ्गमा अड्किएको एकएक गेडा अक्षता निकाल्थ्यो । टाँसिएका अबिर र केशरी हटाउन थाल्थ्यो । ती अङ्गहरुमा आफ्नो हात निकैबेर घुसाथ्र्यो । घुमाइघुमाइ सफा गथ्र्यो । कुर्ताको खल्तीबाट सफा कपडा निकालेर ती अङ्गलाई सिनित्त पाथ्र्यो, अत्यन्त प्रेमले । त्यतिखेर ऊ मन्दिरको भित्रैबाट देखिने शारदामैँको पसलतिर पटक पटक दृष्टि पनि पु¥याउँथ्यो । सोही गीत अलि ठूलो स्वरमा गाउँथ्यो ।

‘चट्ट भएन त देवीको अनुहार शारदामैँ,’ धूप पसलछेउ पुगेर उसले सधैँ सोध्थ्यो । छोटै समयमा ऊ थोरै नेवारी पनि मिसाएर बोल्न जान्ने भएको थियो ।

मूर्ति सफा गरिसकेपछि शारदामैँको पसलमा गएर धूप, अबिर र अन्य पूजा सामग्री किन्थ्यो । पूजा सामान बेच्ने पसल अरु पनि थिए असनमा । तर ऊ अन्त हेर्दैनथ्यो । सीधै जान्थ्यो शारदामैँको पसल ।
पसलमा ऊ केहीबेर अल्मलिने प्रयास पनि गथ्र्यो । त्यसबेला पनि ऊ सोही हिन्दी गीत गाइरहेको हुन्थ्यो । शारदामैँले उसलाई आँखा तर्थी । नियमित दिनचर्याजस्तै थियो त्यो ।

एक दिन ।

‘किन तिम्लाई यो गीत मन परेन ?’ पूजारी सोध्छ र पुनः सोही गीत गाइदिन्छ– तु चिज बढी… ।’

‘मलाई खुब मनपर्छ यो गीत क्या शारदामैँ,’ ऊ शारदामैँलाई छुन खोज्छ ।

‘कुनै भजन गाउनु नि,’ उसले पूजारीलाई भनी, ‘पूजारी भएर पनि यस्तो गीत गाउने ? त्यो पनि मन्दिरभित्र !’

‘यस्तो राम्रो सेक्सी गीत पनि मन नपराउने तिमी पनि कस्तो,’ अलि छिल्लिँदै उसले भन्यो, ‘त्यसैले होला अहिलेसम्म तिम्रो बिहा नभएको !’

‘तिमी खराब मान्छे रहेछौ,’ उसले भनी, ‘असल मान्छेले यस्तो गीत मन्दिरभित्र गाउँदैन ।’

शारदामैँको सल्लाहले उसलाई अलिकति पनि असर पारेको छैन । त्यसैले फिस्स हाँसेर उडाइदियो । त्यसपछि यो विषयमा उसले पूजारीलाई केही पनि भनेकी छैन । तर पूजारीले भद्दाखालको हिन्दी गीत गाएको शारदामैँलाई पटक्कै मन पर्दैन ।

कहिलेकाहीँ एक सातासम्म पनि त्यो पूजारी आइदिएन भने कुहिएको चामलको गन्ध आफ्नो पसलसम्म आउने उसलाई थाहा छ । त्यसैले ऊ सकेसम्म केही पनि भन्दिन । भित्रभित्रै मुर्मुरिन्छेमात्रै । वर्षौंदेखि चल्दै आएको यो क्रममा शारदामैँले दुई–चार पटकमात्रै उसलाई गाली गरेकी छे ।

पूजारीको चालढाल शारदामैँलाई उतिसारो मन परेको छैन । तर पनि ऊ केही भन्दिन । कहिले निकै विश्वास लाग्छ उसलाई, कहिले अधिक अविश्वास पनि ।

जब शारदामैँ पूजारीलाई आफूनजिक देख्छे, अनायासै ऊ केही चञ्चल बन्छे । त्यो चञ्चलताले उसको मुटुको ढुकढुकी हल्का बढाइदिन्छ । उसलाई पनि पूजारीले गाएको गीत गाउन मन लाग्छ कहिलेकाहीँ ! तर आफूलाई सम्हाल्छे ऊ । भित्र कतै उसको मनको कुनामा रहेको आशक्तिको झी भने क्रमशः बढिरहेको हुन्छ ।

जिन्दगीमा ३ वटा झी रहेको निष्कर्षमा पुगेकी ऊ पूजारीको आगमनले अर्को एउटा झी थपिदिएको महसुस गर्न थालेकी छे । एसएलसी पास गर्न नसक्नु, उमेर ढल्किसक्दा पनि बिहा नहुनु र, आमाहरुले दिने हरेक दिनको तनावबाट छुट्कारा नमिल्नु शारदामैँका झीहरु हुन् । पूजारीको आगमनपछि थपिएको झीले उसको मनको भित्री तहमा असर गरेको छ ।
पूजारी कहिलेकाहीँ साँझपख पनि असनतिर टुपुल्किन्छ । त्यसबेला उसको कुनै काम हुँदैन । मन्दिरको काम उसले मध्याह्नतिरै सक्छ । साँझमा उसको मुखबाट ह्वास्स रक्सीको गन्ध आएको पनि शारदामैँलाई थाहा छ । बेसोमती पाराले ऊ शारदामैँको पसल अघिल्तिर राखिएको चकटीमा बस्छ । छेडछाडका एक–दुई वाक्य बोल्छ । शारदामैँ उसँग सवालजवाफ गर्दिन ।
पूजारी निकै चञ्चल स्वभावको छ । शारदामैँको पसलमा पाँच मिनेट बसेपछि ऊ अन्त कतै जान्छ । एक–डेढ घन्टापछि फेरि फर्किएर त्यहीँ आउँछ । लाखामरी र पुष्टकारी दिन्छ शारदामैँलाई । पुनः छेडछाडका एक–दुई वाक्य बोल्छ । शारदामैँ गाली गरेजस्तो गर्छे । लाखामरी र पुष्टकारी सुटुक्क लिन्छे । अन्य पसलेले देख्लान् भन्ने डर छ उसलाई ।

पसलमा धूप र अन्य पूजाका सामग्री बेच्न सहयोग गरेको जस्तो पनि गर्छ त्यो पूजारी ।

बिहान मन्दिर आउँदा प्रायः सेतो रङको कुर्तासुरुवाल लगाउने पूजारी साँझ भने जिन्स पाइन्ट र टिसर्टमा हुन्छ । बिहान देख्नेले उसलाई साँझ नचिन्न पनि सक्छन् । ‘तर जे भए पनि केटो खाइलाग्दोचाहिँ छ है,’ शारदामैँले थुपै्र पटक मनमनै भनेको वाक्य हो यो ।

मन्दिर छेउमा बसिरहेका एक–दुई जना अशक्तलाई दुई–चार रुपैयाँ दिन्छे शारदामैँ हरेक दिन बिहान । त्यसपछि लाग्छे, अलि पर कुनामा रहेको चियापसलतिर । चियापसलेको अनुहार र चियाको स्वाद उस्तैउस्तै लाग्छ उसलाई । ‘सधैँ बासी चियापत्ति हाल्छ यो राजु साहु, नयाँ हाल न,’ असनकै स्थानीय चियापसले राजुलाई ऊ नेवारीमा सधैँ यसै भन्छे । शारदामैँ र चियापसलेको चिनजान निकै पुरानो हो, दुवै असनका रैथाने । तिनीहरुको चोकमात्रै फरक छ । उमेर केही फरक छ । झन्डै दस वर्र्षजति चियापसले जेठो छ । तर पनि उनीहरु झन्डैझन्डै सँगै हुर्किएका हुन् । त्यसलै राजुलाई शारदामैँको गुनासो नयाँ लाग्दैन । अन्य ग्राहक पनि त्यस्तै गुनासो गर्छन् । उसलाई कसैको गुनासो सुन्ने फुर्सद नै हुँदैन, सुन्नु आवश्यक नै लाग्दैन सायद ।

तीन बच्चाको बाबु चियापसले कुनै केटी देख्दा घुरेर हेर्छ, तर एकैछिन मात्रै । त्यसरी हेर्ने क्रममा कैयौँ पटक दुध उम्लिएर पोखिएको छ ।

‘लौ यो दूध देवीले खाइन्,’ दूध उम्लिएर पोखिएपछि छेउको मन्दिरतिर हेर्दै चियापसले यसै भन्छ । यति भनेपछि उसको चित्त शान्त भएजस्तो हुन्छ । अनि हात पनि मन्दिरतिरै तेस्र्याउँछ र भन्छ, ‘रक्षा गर देवी ।’

राजु कहिलेकाहीँ शारदामैँलाई जिस्काउँछ । ‘बूढी भैसक्यो किन बिहा नग¥या होला यो शारदामैँले,’ यसै भन्छ प्रायः ।

‘तिमी गर्छौ बिहा मसँग,’ एक दिन शारदामैँले उसलाई ठाडै प्रश्न गरिदिइ ।

चियापसले एकछिन त मौन रह्यो । अकल्पनीय जवाफी प्रश्नले उसलाई हैरान पारेको थियो । उसले शारदामैँबाट यस्तो प्रस्ताव आउँछ भनेर सपनामा पनि सोचेको थिएन ।

‘तिम्रा तिनटी आमालाई नल्याउने हो भने त गर्छु,’ उसले हठात् जवाफ दिएको थियो, ‘ती कचकचे बूढीहरुलाई त म पाल्न सक्दैन है ।’

‘मैले आफ्ना बाउआमालाई त पालेन, भाइले पाल्यो,’ उसले थप्यो, ‘तिम्रा ती आमाहरु त झनै सक्दैन पाल्न ।’

राजुको जवाफ सुनेर शारदामैँले उसलाई आँखा तरेकी थिइ । मुड्की पनि देखाएकी थिइ । त्यसबेला खाएको चियाको पैसा फुत्त फालिदिएकी थिइ उसले परैबाट । नोट चिया पकाउने भाँडोमा परेको थियो । राजुले हाँस्दै नोट झिकेर आफ्नो मैलो सर्टको बगलीमा घुसाएको थियो ।

‘बिहै नगरी बूढी भो यो शारदामैँ पनि,’ उसले फुसफुसाउँदै भनेको थियो ।

राजुलाई नयाँ राखेको पूजारी बिलकुलै मन परेको छैन । मन नपर्नुको कारण शारदामैँसँग उसको बढ्दो हिमचिम हो । तर उसले यसबारे केही भन्न सकेको छैन ।

एक दिन शारदामैँ र पूजारीलाई उसले सिनेमा हलमा भेट्यो । त्यो बेलादेखि नै हो राजुले बढी चित्त दुखाएको ।

‘सिनेमा हेर्न त म पनि लैजान सक्थ्यो नि शारदामैँ,’ कोही नभएको बेला पारेर उसले एकाबिहानै चिया खान पुगेकी शारदामैसँग गुनासो गरेको थियो, ‘त्यो पूजारी राम्रो मान्छे होइन है, होस् गर–धोका देला ।’
त्यसबेला शारदामैँ केही बोलेकी थिइन ।

उसले शारदामैँलाई चिया दिँदै फेरि थप्यो, ‘मान्छे पनि कहाँको हो कहाँको ? म र तिमी त एउटै टोलको । मैले त तिम्रै लागि भनेको है !’

शारदामैँले चिया खाइसकेर पैसा दिई र हिँडी आफ्नो पसलतिर ।

चियापसले पुनः बोल्यो– ‘शारदामैँ ! मैले गल्ती भनेको भए माफ देऊ है ।’ उसले बोलेको शारदामैँले सुनिन । ऊ केही पर पुगिसकेकी थिइ ।

बढी पाकेर फुलेको चियापत्तिको थुप्रो राजु सकेसम्म फाल्न चाहँदैन । बरु त्यही चियापत्तिको थुप्रोमा ऊ थोरै नयाँ चियापत्ति थप्छ । चिया पकाउने भाँडोमा नअट्ने अवस्था आएपछि मात्रै फुलेको चियापत्ति फाल्छ । छेउमा चियापत्तीको डङ्गुर लागिसकेको छ । सफा गर्ने चिन्ता कसैलाई छैन ।

प्लास्टिकले छाएको उसको चियापसलमा एकाबिहानै घुइँचो लाग्छ । असनमा बिहानै व्यापार गर्न आइपुग्ने साना व्यापारीहरु नै उसका मुख्य ग्राहक हुन् । तरकारी किन्न आउने, मन्दिर दर्शन गर्न आउने र ‘मर्निङवाक’ गर्ने केही मान्छे पनि उसका ग्राहक हुन् । बिहान दस बजेपछि उसले पसल बन्द गर्छ । र, अपराह्न दुई बजेतिर पुनः खोल्छ । कहिलेकाहीँ बिहान दस बजे बन्द भएको उसको पसल एकै पल्ट भोलिपल्टमात्रै खुल्छ । त्यसो हुँदा उसका नियमित ग्राहकले बुझ्छन्– चियापसले सिनेमा हेर्न गएछ भनेर । ऊ हिन्दी सिनेमाको नामुद ‘फ्यान’ हो । उमेर छँदा सिनेमा हलमा टिकट ब्ल्याकमा बेच्ने काम गरेको ऊ आफैले बताएको छ । रञ्जना र विश्वज्योतिमा उसको नाम चर्चित थियो । ‘राजु ब्ल्याक भनेपछि त्योबेला सबै डराउँथ्यो मसँग’ उसले धेरै दोहो¥याइरहने डाइलग हो यो, ‘अहिले पो बूरो भयो त, पहिला त म दादा विश्वज्योति र रञ्जना हलको ।’

उसको मनपर्ने हिरो राजेन्द्रकुमार, हिरोइन बैजयन्ती माला । मन्नाडे र मुकेशका केही गीत त उसलाई कन्ठै छ । नेपाली सिनेमा ऊ प्रायः हेर्दैन । नेवारी सिनेमाचाहिँ छाड्दैन । कुनै हलमा पुरानो हिन्दी सिनेमा चलेको थाहा पायो भने पसल बन्द गर्न पनि पछि पर्दैन ऊ ।

कहिलेकाहीँ शारदामैँलाई हेरेर राजु किन हो टोलाउने पनि गर्छ । केही भन्न खोजेजस्तो गर्छ । तर कुरो अन्तै लग्छ र भन्छ, ‘चिया कस्तो छ शारदामैँ ?’ जवाफमा ऊ ओँठ लेब्राउँछे । त्यसपछि राजु मन्दिरतिर आँखा डो¥याउँछ । हात छातीमा र टाउकोमा पु¥याउँछ, भगवानको नाम लिँदै । त्यहाँको चिया वास्तवमा मिठो होइन नै । शारदामैँलगायत त्यो पसलका नियमित ग्राहकलाई त्यो चियाको एकखालको लत लागेको छ । त्यसैले नमिठो नै भए पनि उनीहरु त्यहाँ एकाबिहानै चिया खान पुग्छन् ।

शारदामैँ चिया खाइसकेपछि सधैँ मुख बिगार्छे र भन्छे, ‘कहिल्यै मिठो चिया पकाउन जानेन यो राजुले !’ तर आफ्नो छिमेकी भएकै नाताले पनि राजुको व्यापार नबिग्रोस् भन्ने कामना भित्रभित्रै गर्छे ।

सधैँ मन्दिर जाने शारदामैँ आफ्ना लागि कहिल्यै बरदान माग्दिन । ‘मैले आजदेखि तीन वटी आमाको झगडा सुन्नु नपरोस् भगवान, तिनलाई मिलाइदेउ’ सधैँ भगवानको अगाडि ऊ यसै भन्छे । तर शारदामैँले वर्षौंदेखि भोग्दै आएको दुःखको अन्त्य अझसम्म पनि भएको छैन । बरु थपिँदा छन् झन्झट र तनावहरु । घरझगडा चुलिँदो छ । तथापि, देवीले एक न एक दिन आफ्ना सारा दुःख र तनाव समाप्त पारिदिने विश्वास उसले गरेकी छ । ‘नजिकको देवता हेलाँ’ उसले कहिल्यै गरेकी छैन ।

आफूहरुको पतिको निधन भएको लामो समय बितिसक्दा पनि एकले अर्कोलाई ‘पोइटोक्ने’ को आरोप लगाउन छाडेका थिएनन् शारदामैँका आमाहरुले । यस्तो लाग्थ्यो तिनीहरुको पतिको निधन तीमध्ये कोही एककै कारण भएको हो ! एकछिन मिलेजस्तो गर्ने बूढीहरु केहीबेरमै झगडामा उत्रिहाल्थे ।

शारदामैँलाई धूप बेचेर तिनलाई पाल्न पर्नुको कुनै गुनासो थिएन । तर तिनको सदाको झगडा बेहोर्न पर्नुको तनाव थियो ।

तर पूजारीको आगमनले तनाव केही कम भएको महसुस गरेकी छे उसले ।

अचानक शारदामैँको धूप पसल बन्द भयो ।

एक सातासम्म पनि खुलेन । शारदा कहाँ गई ? असनका स्थानीय प्रश्न गरिरहेका थिए । पूजारी पनि गायब थियो ।

राजुको मनमा चिसो पस्यो । ‘पक्का पनि त्यही पूजारीसँग हिँडी शारदामैँ’ उसले सोच्यो । एक दिन शारदामैँको घरमा गएर उसले आफ्नो शंका उकेल्यो । शारदामैँ अचानक बेपत्ता भएपछि बूढीहरु पनि चिन्तित थिए । तिनलाई राजुको कुरामा विश्वास लाग्यो ।

अर्को साता ।

अचानक शारदामैँको धूप पसल खुल्यो ।

पसलमा उसँगै पूजारी पनि थियो । उसले केहीबेर शारदामैँलाई धूप बेच्न सघायो र लाग्यो मन्दिरतिर । मन्दिर सफा नभएको दुई साता हुन लागिसकेको थियो ।

चिया पसलबाट दुई जनाको क्रियाकलाप हेरिरहेको थियो राजु । उसलाई चिया बेच्ने जाँगर चलिरहेको थिएन । ऊ शारदामैँको पसलनजिक पुग्यो, देख्यो– शारदामैँको सिउँदो रङ्गिएको थियो । ‘यो के गरेकी शारदामैँ तिम्ले ?’ उसले मनमनै भन्यो ।

पूजारीले मन्दिरभित्र पहिलाको जस्तो गीत गाउन छाडेको छ । उसले देवी भजन गाउन थालेको छ ।

अहिले त्यो मन्दिर निकै सफा हुन थालेको छ । शारदामैँ र पूजारी दुवै मिलेर धूप पसल चलाएका छन् । पसलको आकारसँगै व्यापार पनि बढेको छ । शारदामैँकी तीन वटी आमाले झगडा गर्न छाडेका छन् ।
मुख्य कुरा त, शारदामैँका ‘झी’हरुमा खाटा बस्दै गएका छन् ।

8 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार