Presidential

यी तीन कारणले निम्त्यायो बैंकहरुमा तरलता संकुचन

यी तीन कारणले निम्त्यायो बैंकहरुमा तरलता संकुचन

२० पुस । बितेको हप्ता बैंक तथा वित्तीय संस्थाहरुले ५ अर्ब ऋण प्रवाह गरे । यसरी ५ अर्ब ऋण प्रवाह गर्ने बित्तिकै अहिले बैंकहरुमा निक्षेप भने १ अर्ब मात्रै बाँकी रहेको छ । अझ, वाणिज्य बैंकहरुले त १८ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेर १५ खर्ब २८ अर्ब कर्जा प्रवाह गरिसकेका छन् । वाणिज्य, विकास र फाइनान्स कम्पनीहरुले आफ्नो सीमाको ८० प्रतिशत कर्जा प्रवाह गरेपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकुचन उत्पन्न हुन पुगेको छ ।

तरलता संकुचन भएपछि केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई बैंकर्सहरुले भेटेर तरलता प्रवाह गर्न माग गरे । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहको नेतृत्वमा गएको टोलीले यस्तो माग गरेका हुन् । तर, राष्ट्र बैंकले भने तरलता संकुचनबारे अहिले कुनै योजना ल्याइसकेको छैन ।

बैंक तथा वित्तीय संस्थाहरुमा अहिले उत्पन्न तरलता संकुचनको अवस्थालाई २०६७ सालतिरकै अवस्थासँग जोड्न चाहन्छन्, बैंकिङ क्षेत्रका व्यक्तिहरु । उनीहरुको भनाइ छ, ‘२०६७ सालमा बैंकिङ क्षेत्रले मन्दीको जुन मार भोग्नुपरेको थियो, अहिले त्यही दिशातिर उन्मुख हुन थालेको संकेत मिलेको छ ।’ अहिले वित्तीय प्रणालीमा तरलता संकुचन हुनुमा तीन वटा कारण रहेको पनि बताइन्छ ।

पहिलो कारण, रेमिट्यान्सको वृद्धिदर घट्नु हो । राष्ट्र बैंकको सूत्रका अनुसार, अहिले वैदेशिक रोजगारीमा जानेहरुको संख्या विगतका वर्षहरुको तुलनामा स्वात्तै घटेको छ । किन त ? राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘वैदेशिक रोजगारीमा जानेहरु अहिले देशभित्रै पुनर्निर्माणको काममा लागेका छन् । २०÷२५ हजारका लागि विदेशमा जानुभन्दा स्वदेशमै त्यति रकम कमाउन सकिने भएको हुँदा वैदेशिक रोजगारीमा जानेहरु अहिले घटेका हुन् ।’

अधिकांश नेपालीहरु कामका लागि खाडी मुलुकहरुमा जान्छन् । तर, पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि अहिले खाडी मुलुकमा मन्दी छाउन थालेको छ । त्यसको असर वैदेशिक रोजगारमा जाने कामदारहरुमा समेत पर्न थालेको छ । विगत वर्षहरुमा वैदेशिक रोजगारीमा जानेहरुको वृद्धि ३५ प्रतिशतसम्म थियो । तर, अहिले भने त्यो घटेर ४÷५ प्रतिशतमा आइसकेको बताइन्छ । त्यस्तै, वैदेशिक रोजगारीका निम्ति जति नेपालीहरु जानुपर्ने हो, त्यति संख्यामा गइसकेका हुँदा पनि यस्तो समस्या उत्पन्न भएको हो ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानेहरुले हुन्डीमार्फत स्वदेशमा रकम पठाउने क्रम बढेको आशंका पनि गर्न थालिएको छ । यिनै कारणहरुले गर्दा रेमिट्यान्सको वृद्धिदर घट्न पुगेको छ र त्यसको असर सिंगो वित्तीय प्रणालीमा पर्न पुगेको बताइन्छ ।

दोस्रो कारण, सरकारले जुन अनुपातमा पुँजीगत खर्च गर्नुपर्ने हो, त्यति मात्रामा पुँजीगत खर्च हुन सकेन । यसले गर्दा पनि वित्तीय प्रणालीमा असर पुग्यो । अहिले राजश्व संकलन भएको करिब २ खर्ब रुपियाँ राष्ट्र बैंकमा जम्मा भएर बसेको छ । यही पुस मसान्तभित्र त्यसको दायरा झनै बढ्ने देखिन्छ । किनकि, पुस महिनाभरि राजश्व बुझाउनुपर्ने भएको हुँदा राजश्व संकलनमा वृद्धि हुने देखिन्छ । यसले पुँजी वृद्धि हुने र पुँजीगत खर्च नहुने अवस्था सिर्जना हुँदा वित्तीय प्रणालीमा अझ तरलता संकुचनको स्थिति आउने बताइन्छ ।

तेस्रो कारण हो, बैंक तथा वित्तीय संस्थाहरुको पुँजी ४ गुनाले वृद्धि भयो । राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरुलाई ४ गुना पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएपछि र त्यसको समयसीमा नजिकिँदै गएको हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी वृद्धि गर्न दबाब प¥यो ।

तर, राष्ट्र बैंकको नीतिलाई पछ्याउँदै बैंक तथा वित्तीय संस्थाहरुले यो अवधिमा पुँजी वृद्धि गरे पनि लगानी भने बढ्न सकेन । त्यसो त, अहिले कर्जाको वृद्धिदर बढ्नु र निक्षेपको वृद्धिदरमा कमी आउनुमा यही कारण नै मुख्य रहेको बताइन्छ । निक्षेपको अवस्था त यस्तो छ कि, २८ वटा वाणिज्य, ६४ वटा विकास र ३५ वटा फाइनान्स कम्पनीहरुमा अहिले ६ अर्ब मात्र रकम रहेको बताइन्छ । यति रकमले अहिलेको वित्तीय प्रणालीमा देखिएको तरलता संकुचनलाई टाल्न नसकिने स्पष्टै रहेको बताइन्छ ।

बैंकर्सहरुले सरकारी ढुकुटीमा रहेको रकम खर्च गर्न आग्रह गरेका छन् । तर, राष्ट्र बैंकका गभर्नरले भने त्यो रकम खर्च गर्नेतिर भन्दा बैंकर्सहरुलाई नयाँ योजना ल्याएर निक्षेप संकलन गर्न सुझाव दिएको बताइन्छ ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार