Presidential

मुलायम–अखिलेश विवादः वंशवादको विस्फोट

मुलायम–अखिलेश विवादः वंशवादको विस्फोट

मात्र ३८ वर्ष । भारतीय राजनीतिको निर्णायक थलो उत्तर प्रदेशमा पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवले आफ्ना ३८ वर्षिय सुपुत्र अखिलेश यादवलाई मुख्यमन्त्रीको जिम्मेवारी यस्तो बेला सुम्पिएका थिए, जतिबेला सिंगो भारतको राजनीतिमा युवाहरुको उपस्थिति बढ्दो थियो र अरु राजनीतिक दलहरुले पनि युवाहरुलाई नयाँ जिम्मेवारी दिन सुरु गरेको थियो । तर, मुलायमले अखिलेशलाई मुख्यमन्त्रीको कुर्सीमा राखेपछि एउटा अखबारले कार्टुनमार्फत् त्यो प्रकरणलाई उल्लेख गर्दै लेखेको थियो, ‘पुत्तर प्रदेश ।’

अहिले पुत्तर (पुत्र) प्रदेशमा चार वर्षअघि छोरालाई मुख्यमन्त्रीको कुर्सीमा आसन गराएका मुलायमसिंह र अखिलेशबीच तिखो द्वन्द्व चर्किएको छ । अधिकांशले अनुमान लगाउन थालेका छन्, ‘यो पारिवारिक द्वन्द्वले समाजवादी पार्टीमा विभाजन मात्र ल्याउँदैन । गान्धी परिवारमा सत्तरीको दशकमा उत्पन्न पारिवारिक विखण्डन र मनमुटावको नयाँ शृंखला हुनसक्छ, यो प्रकरण ।’

भुसको आगो

समाजवादी पार्टीका नेता शिवपाल यादव र अखिलेश नाताले काका–भतिज हुन् । तर, सन् २०१२ मा क्याबिनेट मन्त्री बनेलगत्तै शिवपाल र मुख्यमन्त्री भतिजा अखिलेशबीच द्वन्द्व सुरु भइसकेको थियो । त्यतिबेला शिवपाल मुख्यमन्त्री बन्न चाहन्थे । तर, अधिकांश सांसदहरुले अखिलेशलाई नै मन पराए । किनकि, त्यतिबेला भारतको राजनीतिमा युवाहरुको वर्चस्व बढ्दै गइरहेको थियो र मुलायमसिंहलाई पनि युवा अनुहारलाई प्रदेशको मुख्यमन्त्री बनाउनैपर्ने तीव्र दबाब थियो । प्रदेशका अधिकांश युवा सांसदहरुले अखिलेशलाई नरुचाउने प्रश्नै थिएन ।

आफूले मुख्यमन्त्री बन्न नपाए पनि शिवपालमा भने केही तुष त्यही समयदेखि नै रहेको थियो । सन् २०१२ मा आउटलुक साप्ताहिकको एउटा प्रश्नमा जवाफ दिँदै उनले भनेका थिए, ‘समाजवादी पार्टीमा अझै पनि लोकतन्त्र ज्युँदो नै छ । यो पार्टीमा व्यक्ति विशेषको कुनै जोड चल्दैन । निर्वाचित सांसदहरुले आफ्ना नेता चुन्छन् । पार्टीको बैठकले सर्वसम्मत रुपमा अखिलेशलाई मुख्यमन्त्री बनाउने निर्णय ग¥यो । अखिलेश मेरो छोराजस्तै हो । कुनै पनि बाबुले आफ्ना बच्चा अगाडि बढेको देख्न चाहन्छ ।’

मुख्यमन्त्रीमा भाइ शिवपालको दाबी हुँदाहुँदै अखिलेशलाई मुख्यमन्त्री बनाएपछि कुनै दिन पार्टीमा समस्या उत्पन्न हुने ठानेर मुलायमसिंहले सुरुदेखि नै सन्तुलित ढंगले काम गर्दै आए । उनले अर्का भाइ रामगोपाललाई संसदीय बोर्डको सदस्य सचिव बनाए भने अखिलेशलाई सो बोर्डको आमन्त्रित सदस्य मात्र । त्यस्तै, शिवपाललाई अरु राजनीतिक दलहरुसँग समन्वय गर्ने मुख्य जिम्मेवारी सुम्पिए । तर, उनको यो सन्तुलित राजनीति सन् २०१७ को आरम्भसँगै भत्कियो र पार्टीभित्र बढ्दो पारिवारिक द्वन्द्वका उत्कर्षस्वरुप उनले मुख्यमन्त्रीसमेत रहेका छोरा अखिलेशलाई पार्टीबाटै निष्काशन गरे ।

वंशवादमा टिकेको राजनीति

सामन्ती समाज वंशमा आधारित हुन्छ, त्यसैको जगमा उभिएको र टिकेको समेत हुन्छ । तसर्थ, वंशवादलाई सामन्ती समाजको सहउत्पादन मान्न सकिन्छ । भारतीय राजनीतिमा वंशवादको अभ्युदय, विस्तार र त्यसको एक छत्र राज अंग्रेजको कब्जाबाट स्वतन्त्र भएपछि झनै मौलाउन पुग्यो ।

भारत स्वतन्त्र भएको करिब सात दशकको दौरानमा भारतीय राजनीतिमा वंशवादको विस्तार यति धेरै भयो कि, जवाहरलाल नेहरुकै पालादेखि गान्धी परिवारमा व्याप्त वंशवादले केन्द्रीय राजनीतिको परिधिभित्र मात्र सीमित हुन खोजेन, त्यसको प्रभाव क्षेत्रीय तहका राजनीतिहरुमा समेत प¥यो । उत्तर प्रदेश, महाराष्ट्र, तमिलनाडु, पञ्जाव, जम्मु एण्ड कस्मिर, बिहारजस्ता प्रान्तहरुमा मात्र होइन, झारखण्ड, मेघालयजस्ता आदिवासी बाहुल्य प्रदेशहरुमा समेत मौलाउन पुग्यो । उत्तर प्रदेशमा मुलायमसिंहले आफ्ना छोरा अखिलेशलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएर राजनीतिमा वंशवादलाई स्थापित गर्न चाहनुको पछाडि सिंगो भारतभरि मौलाएको वंशवादी राजनीतिको एउटा सामान्य उदाहरण मात्रै मान्नुपर्ने हुन्छ ।

वंशवादको उर्वर भूमिः दक्षिण एसिया

दक्षिण एसियाली राजनीतिको एउटा विकृत पक्ष भनेकै वंशवादको जगजगी र त्यसैलाई पछ्याउने जनपंक्ति हो । सम्भवतः जनताले पनि राजनीति गर्नेहरु असल नश्लका हुनुपर्छ भन्ठानेर हो वा अरु कुनै भावनात्मक पक्षले उत्पे्ररित गरेर हो, बाबुले सम्हालेको ठाउँमा छोरा वा छोरीलाई नै स्वीकार्दै आएका छन् ।

भारतमा गान्धी, यादव, सिंह, अब्दुल्ला, सिन्धिया आदि परिवारमा वंशवाद हावी छ । त्यस्तै पाकिस्तानमा पनि भुट्टो परिवारको वर्चस्व छ । बंगलादेशमा पनि वंशवादले राम्ररी जह्रा गाडेको छ । भूटानमा अझसम्म राजतन्त्र कायम रहेको हुँदा वंशवाद नहुने कुरै भएन । श्रीलंकामा पनि भण्डारानाइकेको परिवारले वंशवादलाई प्रश्रय दिएको थियो नै ।

नेपाल पनि वंशवादबाट अलग रहने प्रश्नै रहेन । नेपालमा कोइराला परिवारले भारतकै जस्तो वंशवादी राजनीतिलाई अझैसम्म पछ्याइरहेको छ । दिवंगत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विदेशीसँग बिहे गरेर गएकी छोरीलाई नेपाल झिकाएर उपप्रधानमन्त्री बनाउने घृष्टता गरेका घटना होस् वा अरु पेशा र व्यवसायमा रमाइरहेका शशांक र शेखर कोइरालाहरुलाई राजनीतिमा भित्र्याउने कार्य होस्, यी सबै वंशवादलाई निरन्तरता दिने उद्देश्यसँग जोडिएका पक्ष हुन् ।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफ्ना सुपुत्र प्रकाश दाहाललाई राजनीतिमै उभ्याइराख्नुको पछाडि उनमा वंशवादकै अंश छिपेको सहजै पुष्टि हुन्छ । यद्यपि, अरु पार्टीका तुलनामा नेकपा एमालेका नेताहरुमा भने वंशवादलाई प्रश्रय दिनेजस्ता कार्यमा अग्रसरता लिएको भने देखिँदैन । अधिकांश नेताका पुत्र वा पुत्री अखिल र युवा संघको राजनीतिभन्दा माथि उठ्न सकेको पाइँदैन । यद्यपि, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले आफ्ना छोरालाई राजनीतिमा उतार्ने मनसाय राखे पनि उनीहरुले राजनीतिमा त्यति पकड जमाउन सकेको पाइँदैन । तर, राजनीतिकै आडमा उनीहरु आफ्नो व्यवसायलाई चम्काउन भने सक्षम रहेको बताइन्छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार