Presidential

मुक्तिनगर


मुक्तिनगर

मातृका पोखरेल

मुक्तिनगरलाई टाढाटाढाका मानिसहरुले अझै पनि नरसिंह मौजा भनेरै चिन्छन् । यो टोलको इतिहास त्यति धेरै लामो छैन । पुग नपुग एकदशक जति लामो होला । तर यो ठाउँमा आउँदा त्यस्तो पटक्कै लाग्दैन । पुरानो र लामो सभ्यताबाट गुज्रिएको गाउँको छनक दिन्छ यसले । युवा पुस्ताका मानिसहरु काममा व्यस्त भेटिन्छन् । पुरानो पुराना पनि सकेको काम गरिरहेकै देखिन्छ । किशोर पुस्ता नयाँ चेतना र ज्ञानप्रति निकै भोको देखिन्छ ।

मुक्ति नगर गाउँ टाढाबाट पहिलो पटक आउनेहरुका आँखामा एउटा सानो शहरजस्तै लाग्छ । दुई सयवटा जति घरहरु व्यवस्थित ढङ्गले बनाइएका छन् । तीन–चार वर्षअघिसम्म काँस र खरहरुले छाएको झुप्रा घरहरु अहिलेसम्म आइपुग्दा टिन र खडपाहरु प्रयोग गरिएका तले घरमा परिणत भइसकेका छन् । आधुनिक विद्यालयको निर्माण गरेका छन् । टोलबासीहरुले मिलेर नियमित प्रौढ शिक्षा सञ्चालन गरेका छन् । आफ्नै बलबुतामा महिला साक्षर अभियान चलाएका छन्, श्रमप्रतिको आस्था, एकअर्काप्रतिको सहयोगी भावना, नयाँनयाँ ज्ञानको भोक, आधुनिक कृषि प्रणालीतिर बढेका पाइलाहरुले हाम्रा नेपालका धेरै गाउँहरु भन्दा भिन्न र विशिष्ट छ यो गाउँ ।

मुक्तिनगर धेरै गाउँहरुका लागि एउटा प्रेरणा बनेको छ ।



मधेशको लागि म पूर्णतः नयाँ मान्छे थिएँ । फेरि सांगठनिक समस्याहरुले जेलिएको थियो यो क्षेत्र । मधेशको जिल्लामा मलाई पार्टीले इन्चार्ज तोकेर पठायो । मेरो राजनीतिक जीवनमा यो निकै ठूलो चुनौतीको विषय थियो । मैले मेरो राजनीतिक जीवनको पूरै हिस्सा पहाडी क्षेत्रहरुमा काम गर्दागर्दै बिताएको थिएँ । मधेश मेरा लागि पूर्णतः अपरिचित र नौलो थियो ।

कार्यक्षेत्रमा खटिनेबित्तिकै मैले थाहा पाएँ– यो जिल्लामा सामन्त–जमिनदारहरुको ठूलै वर्चस्व रहेछ । भूमिहीन सुकुम्वासीहरुको संख्या निकै ठूलो थियो र उनीहरुको जीवन निकै कष्टकर थियो । स्थानीय जमिनदारहरुको मात्र नभएर काठमाडौंमा बस्ने राणा, शाह र उनीहरुका नातेदारहरुले कब्जा गरेर राखेका जमिनहरु पनि प्रशस्तै थिए । पहाडी इलाकामा भन्दा जमिनदारी प्रथाको भयावह रुप देखेको थिएँ मैले त्यहाँ । भूमिहीन सुकुम्वासीहरुले नारकीय जीवन बिताइरहेका थिए । जमिनदारहरु उनीहरुलाई मान्छेको कोटीभित्र राखेर व्यवहार गर्दैनथे । सामन्त, जमिनदारहरुको आँखामा उनीहरु पशुलोकभित्रकै प्राणीहरु थिए ।

मैले त्यस जिल्लाको जिम्मेवारी पाएपछि पार्टीले सामन्त जमिनदारहरुको हदभन्दा बढी जमिन कब्जा गरी भमिहीन र सुकुम्वासी किसानहरुलाई वितरण गर्ने नीति ल्यायो । पार्टीको त्यो नीति कार्यान्वयनको लागि पनि यो क्षेत्र मेरा लागि अझै बढी चुनौतीपूर्ण थियो ।



पार्टीको योजनाअनुसार हामीले हदभन्दा बढी भएका जग्गाहरुको खोजी गर्न थाल्यौं । जिल्लामा त्यस्ता जग्गाहरु प्रशस्त थिए । जमिनदारहरुले कब्जा गरेका जग्गाको अभिलेख लिन थालेपछि हामीले थाहा पायौं, जिल्लाका अधिकांश जग्गा मुठिभर जमिनदारहरुको हातमा केन्द्रित रहेछ । त्यहाँका आदिवासी जातिहरु विस्तारै–विस्तारै भूमिहीन बन्दै गएछन् ।

हामीले भेट्दा उनीहरुमध्ये कोही नदीको कछारतिर हरिया काला प्लास्टिकले छोपेका छाप्राहरु बनाएर बसेका थिए । कोहीकोही राजमार्गको छेउछाउ सानासाना बुकुराहरु बनाएर बसेका थिए । कोहीकोही चाहिँ ठूलाठूला जमिनदारहरुको जमिनभित्रका ढिस्को तथा सिमलको फेदनिर प्लास्टिकको छानो टाँगेर बसेका भेटिएका थिए । यसरी जमिनदारहरुको जमिनभित्र आश्रय लिएकाहरुमध्ये श्रम गर्न सक्ने युवायुवतीहरु सामन्त जमिनदारहरुको घरमा घरेलु नोकरका रुपमा लगिन्थे । एकदिन दिउँसो उनीहरुको तथ्यांक लिन गएको बेला हामीले उनीहरुका छाप्राहरुमा वृद्ध र असक्तहरु मात्र भेट्यौं । खाली भुइँमा सुतिरहेका थिए उनीहरु । काम गर्न सक्नेहरु कामको खोजीमा कतैतिर निस्किएका थिए ।

खोज्दै जाँदा हामीले थाहा पायौं– यो क्षेत्रमा भूमिहीन सकुम्वासीहरुको संख्या सोचेभन्दा धेरै थियो । जिल्लाको दक्षिणी भेगमा दीर्घनारायण सिंह राणाको करिब ३ सय बिघाको मौजा थियो । उसको जग्गाभित्र बुकुरे छाप्राहरु बनाएर थुप्रै भूमिहीन किसानहरु बसेका थिए । दीर्घनरसिंहकै जग्गा कमाउँथे तर उनीहरुलाई काम गरेबापत आएको दीर्घनरसिंहको ब्याजसमेत बुझाउन पुग्दैनथ्यो । प्रत्येक वर्ष त्यो ब्याज उनीहरुको सावाँमा थपिँदै जान्थ्यो । उनीहरुका परिवारका किशोरकिशोरीहरु दीर्घनरसिंह राणा र उनका आफन्तहरुको घरमा घरेलु नोकरका रुपमा लगिन्थे ।

दीर्घनरसिंह राणाको मौजामा हामीले एक दिन एउटा कार्यक्रमको आयोजना गर्ने निधो ग¥यौं । उनको जमिनमा काम गर्ने आश्रितहरुलाई बोलाएर एउटा भेला गर्ने निर्णय गर्यौं । भेलामा जम्मा भएका करिबकरिब सबैको अनुहारमा त्रासको छायाँ दौडिरहेको स्पष्टै देख्न सकिन्थ्यो ।

‘अब जमिन जोत्नेको हुन्छ । तपाईंहरुले दीर्घनरसिंह राणालाई यो जमिनको कुनै पनि आयस्ता बुझाउन पर्दैन ।’ भेलामा सेक्रेटरी कमरेड अनन्तले पार्टीको धारणा राख्न सुरु गरे ।

‘चुनावमा भोट माग्न आउँदा त अरु पार्टीले पनि यस्तै कुरा गर्थे कमरेड ।’ भीडको बीचबाट उठेर मुन्नीलालले औंला उठाउँदै भने । उनले बोलेपछि भीडमा मानिसहरु उनैतिर केन्द्रित भए ।

मुन्नीलाल सिंह भर्खरै पार्टीको सम्पर्कमा आएका कार्यकर्ता थिए । भूमिहीनहरुको समुदाय भित्रकै भए पनि अरुभन्दा अलिक बढी टाठाबाठा थिए । उनकै माध्यमबाट हामी भूमिहीनहरुको विशाल सम्पर्कमा पुगेका थियौं । अनपढ भए पनि मुन्निलाल आलोचनात्मक चेत राख्ने खालका मान्छे थिए ।

‘हामी चुनावमा भोट माग्न मात्र आउने खालका पार्टी होइनौं । हामी साँच्चै गरीव जनताको मुक्तिका लागि लड्न पार्टी हौं ।’ कमरेड अनन्त भेलामा स्पष्टीकरण दिन्थे ।

‘हामीले राजासाहेबलाई तिर्नुपर्ने रिन अब के हुन्छ ?’ मुन्निलालको छेउमा बसिरेका भनुवा चौधरीले सबैको साझा चिन्ता व्यक्त गरे ।

‘अबदेखि त्यो रिन सबै मिनाहा हुन्छ । कसैले पनि तिर्नुपर्दैन । यदि कसैले ति¥यो भने तिर्नेलाई पार्टीले कारबाही गर्छ ।’ सेक्रेटरी कमरेडले सबैलाई विश्वास दिलाउने कोसिस गरे ।

‘पार्टीले एउटा कमिटी बनाएर यो मौजाभित्रको जमिनलाई समान वितरण गर्नेछ । त्यो कमिटीमा तपाईंहरुको तर्फबाट कमरेड मुन्निलाललाई राखिनेछ ।’ मैले अन्तिममा भेलाको निचोड निकाल्दै भनेको थिएँ ।

भेला सकिएपछि पार्टीले ल्याएको योजनामा विश्वस्त हुन नसकेको कुरा उनीहरुले आ–आफ्नो समूहभित्र खासखुस शैलीमा गरे । तर उनीहरु खुसी देखिन्थे । यो कुराको जानकारी पनि पछि हामीले कमरेड मुन्निलालमार्फत् पायौं ।



हामीले परिवार संख्याको आधारमा जमिनलाई वितरण गर्ने निधो ग¥यौं । जिल्लाका अन्य ठाउँहरुमा पनि यहींको जस्तो हामीले त्यही नीति लिएका थियौं । करिब दुई सय परिवारलाई दीर्घनरसिंह राणाको मौजामा व्यवस्थापन ग¥यौं । उक्त जग्गामध्ये दश बिघा जति घडेरीका लागि भनेर छुट्यायौं । त्यसै मध्येबाट हामीले सार्वजनिक विद्यालय, स्वास्थ्य केन्द्र, बच्चाहरुले खेल्ने स्थानका लागि पनि छुट्यायौं ।

पार्टीको योजनाअनुसार भूमिहीन किसानहरुको बसाई अरु ठाउँको भन्दा यस ठाउँमा बढी व्यवस्थित थियो । हेर्दाहेर्दै थोरै समयमा उनीहरुले यस ठाउँलाई बेग्लै बनाइदिए । उनीहरुको आर्थिक अवस्था सुदृढ हुँदै गयो । सानासाना बच्चाबच्चीहरु पढाउने स्कुल आफैंले स्थापना गरे ।

मुन्निलालको नेतृत्वमा त्यहाँ एउटा पार्टी कमिटीको निर्माण भयो । पार्टीका हरेक काममा त्यो कमिटी अत्यन्त सक्रिय थियो । विस्तारैविस्तारै त्यो कमिटीले वैचारिक प्रशिक्षणको समेत माग गर्न थाल्यो । पार्टी र वैचारिक क्षेत्रमा उनीहरुको लगाव देखेर जिल्लाभरिका कार्यकर्ताहरु त्यो क्षेत्रको उदाहरण दिने गर्दथे ।
दीर्घनरसिंह राणाको मौजा भएको कारणले यस ठाउँलाई मानिसहरु नरसिंहमौजा भनेर चिन्थे । त्यहाँ आश्रय लिने भूमिहीन किसानहरुलाई नरसिंह मौजाको बासिन्दा भनेरै चिनिन्थ्यो । भूमिहीन किसानहरुका लागि जग्गा कब्जा गरिएपछि दीर्घनरसिंह राणा र उसका कारबारीहरुले त्यहाँ टेक्ने साहस फेरि कहिल्यै गरेनन् । विस्तारै वस्ती व्यवस्थित हुँदै गयो । हिजोका भूमिहीनहरुले आफ्नो बाहुवल प्रयोग गरेर कमसल जग्गालाई पनि आवाद बनाए । टाढाका मानिसहरुका लागि पनि त्यो ठाउँ लोभलाग्दो देखियो । आफ्नै स्वामित्वमा भएपछि जमिनको उत्पादन दुई तीन गुणाले बढ्यो । त्यहाँका मानिसहरुको आर्थिक अवस्था र सांस्कृतिक अवस्थामा प्रगति भएको देखेर स्वस्पूmर्त रुपमा त्यस ठाउँको नाम मानिसहरुले मुक्तिनगर राखिदिए ।



मलाई उनीहरुको प्रगति देखेर साँच्चै खुसी लाग्यो । मैले उनीहरुको कष्टकर जीवनको सीमान्त अवस्थालाई नजिकैबाट देखेको छु । हाम्रो पार्टी पनि जनआन्दोलनको सफलता सगसँगै शान्तिप्रक्रियामा सहभागी भयो । त्यसपछिका सङ्क्रमणकालीन दिनहरुमा पार्टी्भित्र विभिन्न उतारचढावहरु देखा परे । विभिन्न खालका हल्लाहरु प्रवाहित हुन्थे । कति त विश्वासै गर्न नसकिने हल्लाहरु पनि पछि सत्य हुन्थे ।
‘वैभव कमरेड, हामीले त कस्तो हल्ला सुन्दैछौं । हामी सुकुम्वासीहरुले त्यति दुःख गरेर आवाद गरेको जमिन फेरि पार्टीले त्यही सामन्त जमिनदार दीर्घनरसिंह राणालाई फिर्ता गर्दै छ रे । फेरि के हामी सुकुम्वासीहरु जस्ताको त्यस्तै हुने हो ?’ पार्टी कमिटीको औपचारिक मिटिङ सुरु नहुँदै कमरेड मुन्निलालले मसँग जानकारी मागे ।

‘यस्तो हुनै सक्दैन । यो हल्ला मात्र हो । यसप्रकारका हल्लाका पछाडि तपाईं हामीजस्ता मानिसहरु हिँड्नु हुँदैन’ मैले आश्वस्त बनाउन खोजें ।

‘कब्जा गरिएका सम्पत्तिहरु फिर्ता गर्ने सहमति भएको कुरा त पत्रपत्रिकाले लेखिरहेका छन् नि कमरेड ?’ भगुवा चौधरीले पल्लो कुनाबाट फेरि सन्त्रास ओकले ।

‘प्रतिक्रियावादीहरुसँग कहिलेकाहीँ यसरी पनि सम्झौता गर्नुपर्दोरहेछ । तर यस्ता सम्झौताहरु कार्यान्वयन गर्नका लागि होइन ।’ मैले उनीहरुलाई शान्त बनाउने प्रयत्न गरें ।

सम्पत्ति फिर्ताको चर्चा राष्ट्रिय राजनीतिमा व्यापक भइरहेको थियो । हामी सबै कार्यकर्ताहरु भित्र यो चर्चाले विभिन्न आशंकाहरु पैदा गराइरहेको थियो । जिल्लाभरि भूमिहीन किसानहरु सामन्त जमिनदारहरुको जमिन कब्जा गरेर व्यवस्थित गरिएका ठाउँहरु धेरै थिए । तीमध्येको एक ठाउँ हो मुक्तिनगर । मसँग पनि उनीहरुलाई ढाडस दिने धेरै शब्दहरु थिएनन् । पार्टीको बाटोका बारेमा आफैंसँग पनि विभिन्न प्रश्नहरु उठिरहेका थिए । आफैंभित्र शंकाको घर बोकेर उनीहरुलाई बनावटी कुरा गर्न म बाध्य थिएँ । यदि पार्टीले मुक्तिनगर र अरु यस्तै ठाउँहरु पुनः सामन्त जमिदारहरुलाई फर्कायो भने के होला ? मसँग यस्ता प्रश्नका उत्तरहरु थिएनन् । म यस्ता दुर्घटनाहरुको कल्पना पनि गर्न चाहन्नथें ।
समयसमयमा म मुक्तिनगर पुगिरहन्थें । यसर्थ पनि पुग्थें कि पार्टीको लागि त्यो महत्वपूर्ण क्षेत्र बन्न पुगेको थियो । पार्टीका योजनाहरु कार्यान्वयन गर्ने काममा मुक्तिनगरको ठूलो भूमिका हुन्थ्यो । त्यसबेलामा पनि त्यो वस्तीमा कसैले न कसैले यो कुरा सोधिहाल्थे । म उनीहरुलाई यो हल्लाका पछि नलाग्न भन्थें– ‘पार्टीले यस्तो निर्णय लिनै सक्दैन ।’

‘हाम्रो पार्टीले गरिवलाई धोका दिनै सक्दैन ।’ मलाई मुन्निलाल र भगुवाले साथ दिन्थे ।

त्यसपछि उनीहरुको अनुहारमा खुसीको लहर दौडन्थ्यो । उनीहरु नयाँ जीवन प्राप्त गरेको महसुस गर्थे । केही युवाहरु सबैलाई आश्वस्त बनाउँदै टोलभरि घुम्थे र भन्थे– ‘यो हल्ला हो, हल्लाका पछि कोही पनि नलाग्नू ।’

मुक्तिनगर फेरि शान्त हुन्थ्यो ।



पार्टीको केन्द्रीय कार्यालयबाट आएको परिपत्र मेरा लागि मात्र नभएर धेरै कमरेडहरुका लागि अस्वाभाविक र अप्रत्याशित थियो । परिपत्रको तीन नम्बर बुँदामा लेखिएको थियो– ‘हाम्रो पार्टी शान्ति प्रक्रियाको एउटा हिस्सा भएको हुनाले प्रतिबद्धताहरु पूरा गर्दै जाने हाम्रो पनि दायित्व भएकाले पार्टीको निर्देशनमा कब्जा गरिएका सम्पत्तिहरु क्रमशः फिर्ता गर्दै जाने निर्णय लिइएको छ ।’

परिपत्र प्राप्त भएपछि हाम्राबीचमा एउटा छटपटी सुरु भयो । त्यो परिपत्र लिएर मुक्ति नगर जाने र पार्टीको निर्णय जानकारी गराउने जिम्मा पनि जिल्ला कमिटीले मलाई नै दिएको थियो ।

‘धेरै पीडादायक घटना घट्ने भयो ।’ मैले बैठक सकेर बाहिर निस्कने क्रममा सेक्रेटरी कमरेड अनन्तसँग भनेको थिएँ ।

‘पार्टीको त्यो निर्णयलाई नउल्ट्याइ हुँदैन । त्यसैले त हामीले राष्ट्रिय सम्मेलनको माग गरेका हौं नि ।’ अनन्त निर्णय उल्ट्याउन सकिने कुरामा विश्वस्त देखिन्थे ।

पार्टी केन्द्रबाट परिपत्र आएको पनि करिब एकहप्ता भइसकेको छ । पार्टीको निर्णय उनीहरुलाई सुनाउन म संकोच मानिरहेको छु । पार्टीको निर्णयप्रति असहमति जनाउने काम धेरै पार्टी कमिटीबाट भइरहेको छ अब पार्टी निर्णय कार्यान्वयन गर्न सकिँदैन भन्ने कुरामा हामीभित्र अब कतै पनि द्विविधा छैन ।

आज बिहानै मुक्तिनगर जानका लागि बाटो लागेको छु । घरबाट बाहिर निस्किएपछि राति देखेको सपनाको सम्झना भयो । कस्तो नराम्रो सपना देखेको थिएँ मैले । त्यो सपना सम्झदा पनि आफैं झस्कन्छु । सपनामा म पार्टीको निर्देशनअनुसार दीर्घनरसिंह राणाका गुण्डाहरुसँग मिलेर मुक्तिनगरवासीहरुसँग ठूलो युद्ध लडिरहेको थिएँ । कति नमिठो सपना । सपना सम्झेर शरीरभरि चिटचिट पसिना आयो । आफैंसँग आफैंलाई डर लाग्यो । अगाडिको बाटोमा भड्खालो परेर अलमलिएका सपनाहरु त मैले पहिलेपहिले पनि थुप्रै पटक देखेको थिएँ । तर यति डरलाग्दो सपना पहिलो पटक देखिरहेको छु । मुक्तिनगर जान भनेपछि म जहिले पनि खुबै उत्साहित हुन्थें । तर आज आफैंलाई आफ्ना खुट्टाहरु गह्रुङ्गो लागिरहेको छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

  • सहरमा बाँच्न मर्न जान्नुपर्छ

    सहरमा बाँच्न मर्न जान्नुपर्छ

    हो, सहरले उसलाई पटकपटक ठगेको छ । यो सहरका मान्छेहरू मतलबी र स्वार्थी छन् । यो कुरा उसले साँचै भनेको हो । उसले ..

  • ‘तपाईँहरूले मैले गर्न नसक्ने कुरा माग्नुहुन्छ कि भन्ने डर लागेको थियो । यो समस्या त मेरा लागि केही होइन, बायाँ..

  • यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    यस्तो हुनुहुन्थ्यो राजेश्वर देवकोटा

    बागबजारको सडकमा बराबर एक जोर मान्छे हिंडेका देखिन्थे । एक जना निकै अग्ला, डम्म जिउडाल भएका र अर्का चाहिँ निकै ..

  • अमर शाहका दुई कविता

    अमर शाहका दुई कविता

    यसरी फर्कदा जन्म गाउँमा लामो अन्तरालपछि खाटा बस्दै गरेको घाउ कन्याएझैं गरिरहेछु अनुभव लगातार पीडा र आनन्दको..

    
        Loading...     
    

अन्तरवार्ता

समाचार