Presidential

मुक्त हलियाको घर मर्मतका लागि छनोट

मुक्त हलियाको घर मर्मतका लागि छनोट

२३ पुस । आर्थिक अवस्था अत्यन्त न्यून भएका गरिब तथा विपन्न मुक्त हलिया परिवारको घर मर्मतका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ ।

यसका लागि यो वर्ष कञ्चनपुरका ४५ मुक्त हलिया परिवार छनोटमा परेका छन् । आर्थिक अवस्था निकै दयनीय भएका ‘ख’ श्रेणीको परिचयपत्र पाएका २९ र ‘घ’ श्रेणीको परिचयपत्र पाएका १६ गरी कुल ४५ मुक्त हलिया परिवार घर मर्मतका लागि छनोट भएको भूमिसुधार व्यवस्था कार्यालय कञ्चनपुरले जनाएको छ ।

छनोटमा परेका मुक्त हलिया परिवारलाई रु एक लाख २५ हजारका दरले चालु आवमै घर मर्मत गर्ने गरी रकम उपलव्ध गराइने भूमिसुधार व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख धर्मानन्द भट्टले बताए ।

“घर मर्मतका लागि श्रीपुर, बेलडाँडी, कृष्णपुर, झलारी, देखतभूली, भीमदत्तनगरपालिका, सङ्करपुर, पिपलाडी, दैजी, सुडा, रौतेली बिचवा र रैकवार बिचवाका मुक्त हलिया परिवार छनोटमा परेका छन्” उनले भने ।

यसैगरी पुनःस्थापनमा परी जग्गा पाएका ४० मुक्त हलिया परिवारलाई घर निर्माणका लागि चालु आर्थिक वर्षमा नै रु दुई लाख २५ हजारका दरले रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ, राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले भने – हालसम्म कञ्चनपुरका एक सय २५ मुक्त हलिया परिवारको घर मर्मत र एक सय ३३ परिवारको घर निर्माणको कार्य गरिएको छ ।

त्यस्तै एक सय २८ मुक्त हलिया परिवारलाई जग्गा खरिद गरी पुनःस्थापन गराइएको छ । “ऐलानी जग्गामा बस्दै आएका झलारीका १९ र ब्रम्ह्देवका १४ गरी ३३ मुक्त हलिया परिवार बसेकै ठाउँमा जग्गा नापनक्सा गरी जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्यसमेत गरेका छौँं” –अध्यक्ष लुहारले भने ।

कञ्चनपुरको लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलिया परिवारमध्ये एक हजार ४७४ जनाले परिचय पत्र पाएका छन् । कञ्चनपुरमा आव ०६७÷६८ देखि मुक्त हलिया परिवारको पुनःस्थापन कार्य सुरु भएपनि यो कार्य सुस्तगतिमा हुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

2 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार