Presidential

द्वारिकालाल चौधरीका नजरमा तराईमा एमाले– ‘माकुराको जालो छेडेर भैँसी बगैँचामा पस्यो’


द्वारिकालाल चौधरीका नजरमा तराईमा एमाले– ‘माकुराको जालो छेडेर भैँसी बगैँचामा पस्यो’

२५ पुस । सुनसरी जिल्लाको हरिनगर गाविसमा मधेस केन्द्रित केही दलहरुले आइतबार साँझ मसाल जुलुस र कालो झण्डासहित ‘मधेसबाट एमालेलाई बिदाइ कार्यक्रम’ गरेका थिए । तर, त्यसको २४ घण्टा पनि बित्न नपाउँदै त्यही स्थानमा एमालेले भव्य कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा त्यहाँ करिब पाँच हजार कार्यकर्ता भेला गरी भव्य कार्यक्रम गरेको एमाले सुनसरीका अध्यक्ष द्वारिकालाल चौधरीले पहिलो न्युजलाई जानकारी दिए । ‘तराई–मधेसमा एमालेलाई बिदाइ गर्न खोज्नेहरु अब उनीहरु नै बिदाइ हुँदैछन्,’ चौधरीले भने, ‘माकुराको जालो लगाएर भैँसीलाई छेक्छु भन्नेहरुलाई हामीले सोमबार गतिलो जवाफ दिएका छौँ ।’

उनले माकुराको जालो तोडेर भैँसी बगैँचामा प्रवेश गरिसकेको प्रतिक्रिया दिए ।  ‘सुनसरीमा एमाले हिजो पनि पहिलो पार्टी थियो, आज पनि छ र भोलि पनि रहिरहन्छ,’ उनले भने, ‘केही उट्पट्याङ्हरुले भैँसीलाई बगैँचामा प्रवेश गर्न नदिन माकुराको जालोले छेकेका थिए । त्यो माकुराको जालो छेडेर भैँसी बगैँचामा प्रवेश गर्यो ।’

उनले मधेसबाट एमालेलाई ढोल पिटेर लखेट्छु भन्नेहरु नै अब लखेटिने चेतावनी पनि दिए । ‘उनीहरु ढोल पिटेर मधेसबाट एमाले लखेट्ने भन्दैछन्,’ उनले भने, ‘उनीहरुलाई यहाँका जनताले पिटेर लखेट्ने कुरा पत्तै नपाए जस्तो छ ।’

उनले सोमबारको कार्यक्रम भव्य भएको पनि जानकारी दिए । प्रमुख अतिथि नेपालले मैथिली र दुई जना केन्द्रीय सदस्यले स्थानीय भाषामा मन्तव्य राखेको पनि उनले जानकारी दिए । ‘मैले नेपालीमै सम्बोधन गरेँ,’ उनले भने, ‘आजको कार्यक्रमपछि यो जिल्लाबाट एमाले बाहेक कसैले पनि कुनै चुनाव जित्दैनन् भन्ने झन् प्रमाणित भयो ।’  उनले छेऊमा आएर आक्रमण गर्न नसक्नेहरुले टाढाबाट ढुंगा प्रहार गरेर गाडीमा सामान्य क्षति गरेको पनि जानकारी दिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार