Presidential

कांग्रेस सभापतिको दबाबमा एलडीओको रातारात सरुवा


कांग्रेस सभापतिको दबाबमा एलडीओको रातारात सरुवा

ऋषिराम भट्टराई

२६ पुस । गुल्मीमा जन्मिएका कानुन व्यवसायी ओमप्रकाश अर्याल अहिले सर्वत्र प्रशंसाको पात्र बनेका छन् । अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध रिट हालेका थिए र पुस २४ गते सर्वोच्च अदालतको परमादेशबाट कार्की पदमुक्त भएका छन् । काठमाडौंमा अर्यालले वाहवाही बटुलिरहँदा नवलपरासी जिल्ला विकास समितिमा राम्रो काम गरेबापत दुई जना गुल्मेली हाकिमहरुले भने अप्रत्याशित रुपमा सरुवाको पुरस्कार पाएका छन् ।

जिल्लाका खोलानालाहरुबाट अवैध रुपमा बालुवा, ढुंगा उत्खनन गरी बिक्री वितरण गर्ने स्मृति निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएबापत स्थानीय विकास अधिकारी जीवलाल भुसाल र योजना तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीलाई निजामती सेवा नियमावलीको धज्जी उडाउँदै काज सरुवा गरिएको छ ।

निसेनि अनुसार दुई वर्ष सेवा अवधि पूरा गरिसकेपछि सरुवा गरिने प्रचलन भए पनि पूर्वाग्रहका आधारमा भुसाल र पन्थीलाइ सरुवा गरिएको हो । भुसाललाई धादिङ जिविस र पन्थीलाई मन्त्रालयमा काज सरुवा गरेपछि यसको विरोधमा स्थानीय जनता र सबैजसो राजनीतिक दलले विरोध प्रदर्शन र चक्काजाम समेत गरेका छन् । जिल्ला अनुगमन समितिले तीन साताअघि केरुङ्गे खोलामा नदीजन्य सामग्री संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ वटा ट्रिपरसहित ३० सवारी साधन पक्राउ गरेर ६५ लाख रुपियाँ जरिवानासमेत तोकेको थियो । स्मृति निर्माण कम्पनी नवलपरासीको नाममा जरिवाना तोकेपछि १६ ट्रिपरहरुले ३५ लाख राजश्व बुझाएर छुटेका थिए भने अन्य ट्रिपर र तीन वटा एक्जाभेटर भने इलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा छन् ।

सवारी साधन पक्राउ गरेसँगै भुसालले केरुङ्गे खोलामा संकलन गरिराखेका करिब ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रक्रिया अघि बढाएका थिए । त्यसपछि कारोबारमा संलग्न व्यवसायीहरु लालप्रसाद पाठक र विष्णु कार्कीहरु काँग्रेसका माथिल्लो तहका नेताका माध्यमद्वारा सभापति शेरबहादुर देउवा समक्ष पुगे र भुसाल र पन्थीको सरुवा गराउन मन्त्रालयमा दौडधुपसमेत गरे ।

स्मृति निर्माण सेवाको अवैध धन्दालाई नियन्त्रणका लागि पक्राउ गरेर जरिवाना लगाएपछि स्मृति निर्माणसँग सम्बन्धित व्यवसायी र नेपाली काँग्रेसका केही नेताहरु पहिलेदेखि नै नवलपरासीका स्थानीय विकास अधिकारी भुसाल र योजना तथा प्रशासकीय अधिकृत पन्थीको सरुवामा लागेका थिए ।

तर, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे र मन्त्रालयका अधिकारी उक्त सरुवाको विपक्षमा अन्तिमसम्म लागिरहेका थिए । तर, केही ठेकेदार र क्रसर व्यवसायीले काँग्रेस नेतृत्वको ढोका ढक्ढकाउन पुगेपछि  दबाब थेग्न नसकेर अन्तिममा यो सरुवा भएको स्रोतले बताएको छ । स्थानीय विकास अधिकारी भुसाल मंसिरको अन्तिम साता बाँके जिविसबाट सरुवा भएर नवलपरासी आएका थिए । उनले छब्बिस महिना बाँकेमा रहँदा सह्राहनीय काम गरेर न्युनतम सर्त र कार्यसम्पादनको हिसाबले बाँके जिल्लालाई सर्वोत्कृष्ट बनाएका थिए ।

नवलपरासीमा सरुवा भएर आएपछि उनले अवैध उत्खनन गर्ने ठेकेदार र निर्माण व्यवसायी विरुद्घ कदम बढाएका थिए । विभागीय मन्त्री र मन्त्रालयका अधिकारी उनका पक्षमा हुँदाहुदै पनि उनी छोटो समयमै सरुवा भएका छन् । यसबारे भुसालसँग जिज्ञासा राख्दा उनले भने, ‘हामी राष्ट्रसेवक कर्मचारी हौँ, सरुवा भएको ठाउँमा जानुपर्छ । जहाँ गए पनि जनताको सेवा गर्ने हो, त्यसमा हामी दत्तचित्त भएर गर्छौ ।’

नवलपरासीमा सरुवा भएर आउने बित्तिकै आफूले राजश्व संकलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिसन चलाएको पनि उनले बताए । सीमित लाभको पछाडि लाग्ने केही नेताहरु र व्यवसायीहरुको असहयोगले आफ्नो सरुवा भएको भुसालको भनाइ छ । यस्तो प्रवृत्तिले जिल्लाको विकास पछि पर्ने पनि उनले बताए । भुसाललाई सरुवा गरेपछि नवलपरासीको स्थानीय विकास अधिकारीका रुपमा मन्त्रालयको पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ । पन्थीको स्थानमा भने स्थानीय विकास मन्त्रालयका यज्ञ पुरीलाई पठाइएको छ ।

सरुवा भएर आएलगत्तै भुसालले अवैध नदीजन्य पदार्थ नियन्त्रण गरी जिल्लाको राजश्व वृद्धिमा सहयोग गरेको र उनको सरुवा भए जिल्ला परिषद्ले आर्थिक वर्ष २०७४–०७५ का लागि सञ्चालन गर्ने योजना र कार्यक्रमसमेत प्रभावित हुने भन्दै  जिल्लाका अधिकांंश राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । उनीहरुले अवैध सामग्री जफत गर्ने प्रतिबद्धता नजनाएसम्म जिविसमा तालाबन्दी गरेर नयाँ एलडिओलाई हाजिर हुन नदिने चेतावनी दिँदै आएका छन् । तत्कालीन स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलको आडमा नदीजन्य सामग्रीको अवैध ओसारपसार भएको थियो । उक्त काम रोक्नमा अग्रसरता देखाएकै कारण भुसालको सरुवा भएको बताइन्छ ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार