Presidential

१५ महिनादेखि लट्किएको युवा संघको आन्तरिक विवाद मिल्यो

१५ महिनादेखि लट्किएको युवा संघको आन्तरिक विवाद मिल्यो

२६ पुस । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालमा उत्पन्न आन्तरिक विवाद मिलेको छ । लामो समयसम्म विवाद थाती रहेपछि युवा संघका तत्कालीन इञ्चार्ज शेरधन राईले गएको वर्ष असोज १५ गते संघका तत्कालीन अध्यक्ष निरु पाललाई अध्यक्षको जिम्मेवारी दिएका थिए । तत्कालीन अध्यक्ष महेश बस्नेत मन्त्री  भएपछि अध्यक्षको जिम्मेवारी पाललाई दिइएको थियो ।

तर, अर्को समूहले भने पाललाई अध्यक्ष स्वीकार गरेको थिएन । सोही बेला उपाध्यक्ष दिलु पन्तलाई एकै ठाउँमा राखेर विवाद अन्त्य भएको घोषणा गरिएको थियो । तत्कालीन समयमा बसेको केन्द्रीय कमिटीको बैठकले महासचिव राजीव पहारीलाई अध्यक्ष बनाएको थियो भने पाललाई पार्टीले नै दिएको युवा संघको सह–इञ्चार्जको जिम्मेवारी दिइएको थियो । इन्चार्ज राईले त्यहीँ बेला एक हप्ताभित्र दुवै समूहको विवाद अन्त्य गरेर एकताबद्ध युवा संघ बनाउने घोषणासमेत गरेका थिए ।

तर, त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा राई सञ्चार मन्त्री नियुक्त भएपछि युवा संघभित्रको विवाद त्यत्तिकै रहेको थियो । एक हप्ताभित्र विवाद समाधान गर्ने भनिए पनि युवा संघभित्रको विवाद अन्त्य हुन १५ महिना कुर्नुपरेको छ । पहारी अध्यक्षमा चुनिएपछि बस्नेत र पाल अध्यक्ष रहेको बेलाको जस्तो युवा संघमा पानी बाराबारकै अवस्था भने त रहेन तर दुई समूहबीच पूर्ण एकता पनि हुनसकेको थिएन ।
काठमाडौँ, पर्सा, सुनसरी जिल्ला कमिटी र कोसी अञ्चलको विवाद कायमै रहेकाले दुवै समूहले ती जिल्ला र अञ्चलमा बेग्लाबेग्लै व्यानरमा कार्यक्रम गर्दै आएका थिए भने नेताहरुले पनि आ–आफ्नो समूहलाई सहयोग गर्दै आएका थिए । तर, सोमबार बसेको स्थायी कमिटी बैठकपछि विवादित जिल्लाहरुको समस्या मिलेको नेताहरुले बताएका छन् । विवाद मिलेसँगै युवा संघमा ‘आइसब्रेक’ भएको भन्दै दुवै समूहका नेताले उत्साह व्यक्त गरेका छन् । ‘हाम्रो मुख्य विवाद काठमाडौँ, पर्सा र सुनसरी जिल्ला कमिटीमा रहेको थियो,’ उपाध्यक्ष दिलु पन्तले भनिन्, ‘यी जिल्लाहरुका विवाद मिलेको  ।, अब आन्तरिक रुपमा रहेका केही विवाद पनि अन्त्य हुन्छन् भन्ने आशा जागेको छ ।’

आफूहरु पहिल्यैदेखि मनमुटाव अन्त्य गरेर जानुपर्छ भनेर नै लचिलो भएको भन्दै पन्तले एकताबद्ध युवा संघले मात्र नेता जन्माउन सक्ने दाबी गरिन् । ‘अहिले पनि केही साथीहरुमा दम्भ छ, त्यसैले समस्या उत्पन्न हुनपुगेको हो,’ उनले भनिन्, ‘अब सबै मिलेर युवा संघलाई एकताबद्ध बनाउनुपर्छ ।’

युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले पनि युवा संघको विवाद मिलेको जानकारी दिए । ‘युवा संघभित्रको विवाद अन्त्य भएको छ,’ उनले भने, ‘आइसब्रेक भएको छ, अब युवा संघ एकताबद्ध भएर विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको तयारीमा जुट्नु पर्छ ।’

विवाद यसरी मिल्यो

करिब दुई वर्षअघि संघको काठमाडौँ जिल्ला अधिवेशन भयो । तर, दुवै समूहले आ–आफ्नो तर्फबाट अध्यक्षको घोषणा गरे । पन्त समूहले नितेश पौडेल र पहारी समूहले पेम्वा घलेलाई अध्यक्ष बनायो । त्यति मात्रै होइन, दुवै समूहले अहिलेसम्म उनीहरुको टिम नै बनाएर दुई वटा व्यानरमा कार्यक्रम गर्दै आएका थिए । तर, सोमबारको बैठकबाट भने उक्त कमिटी मर्ज हुनपुगेको छ । पौडेल केन्द्रीय सदस्यसँगै काठमाडौँ इञ्चार्ज भएका छन् भने घले आधिकारिक अध्यक्ष बनेका छन् । दुवै समूहका २७–२७ र अध्यक्षसहित ५५ सदस्यीय कमिटी बनेको छ । पौडेल समूहले उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पाएको छ भने घले समूहले आफूसँग सह–सचिव राखेको छ ।

त्यसैगरी सुनसरीमा पनि गौरी परियार आधिकारिक अध्यक्ष भएका छन् भने प्रल्हाद बस्नेतलाई सचिव बनाइएको छ । बस्नेतलाई १४ जना थप गर्ने अधिकार दिइएको छ । पर्साको विवाद भने पार्टीले एक महिनाभित्रमा मिलाउने आश्वासन दिएको छ । कोसी अञ्चलको विवाद पनि टुंगिएको छ । त्यसरी नै विवाद समाधानका लागि लेखा आयोग र अनुशासन आयोगबाट पनि ९–९ जना सदस्य झिकेको पन्तले जानकारी दिइन् । उनले धुलिखेल बैठकको निर्णयलाई औपचारिकता दिन त्यसो गरेको बताइन् ।
त्यसैगरी युवा संघले आगामी माघ १० गते सचिवालय र १५ गतेदेखि केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ । सोही बैठकले विधान र राष्ट्रिय सम्मेलनको तय गर्ने नेताहरुले जानकारी दिएका छन् ।

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार