Presidential

ज्ञानेन्द्र शाहमा किन बढ्दैछ देशको चिन्ता ?


ज्ञानेन्द्र शाहमा किन बढ्दैछ देशको चिन्ता ?

धमिलो पानीमा माछा मार्ने सोख कसलाई पो हुँदैन र ? किनकि, धमिलो पानीमा माछालाई सहजै समात्न सकिन्छ, सङ्लो पानीमा जस्तो कसरत गरिरहनु पर्दैन । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला सक्रिय देखिएका छन् । र, अरु केही नभए वक्तव्यबाजी गरेरै भए पनि उनले आठ वर्षअघि आफूले गद्दी छाडेको पीडालाई भुल्न खोजिरहेको प्रतीत हुन्छ । तर, विगत एक महिनाको अवधिमा देशमा बिग्रिएको राजनीतिक स्थितिलाई भजाउँदै जनताको ‘सहानुभूति’ लिने ध्येयले उनी लगातार वक्तव्यबाजीमा उत्रिएका छन् र आफूलाई देशको चिन्ताले सताएको अभिव्यक्ति दिइरहेका छन् ।

पृथ्वीनारायण शाहको २ सय ५५ औं जयन्तीको सन्दर्भ पारेर पुस २६ गते पूर्वराजा ज्ञानेन्द्रले जुन वक्तव्य जारी गरे, त्यसले उनीभित्र पुनः सक्रिय हुने लालसा पलाएको प्रष्टै संकेत देखिन्छ । खासगरी, संविधान संशोधनको नाममा सत्तारुढ दलहरुले छिमेकी देशको स्वार्थ र आकांक्षालाई मलजल गर्ने कुचेष्टा गरेपछि राष्ट्रवादी शक्तिहरु एकै थलोमा उभिन थालेका छन् । संविधान संशोधनलाई प्रमुख प्रतिपक्षी दल एमालेसहितका राजनीतिक दलहरुले राष्ट्रहित विपरीत ठान्दै आएका छन् । सत्ता पक्षको हठ र विपक्षीको प्रचुर विरोधका कारण यतिबेला राष्ट्रिय राजनीति धमिलो बन्दै गएको छ । तसर्थ, पूर्वराजाको पछिल्लो वक्तव्य अहिलेको धमिलो परिस्थितिमा खेल्ने चाहनाबमोजिम नै आएको हो भन्ने कुरा बुझ्न कुनै दिमाग खियाइरहनु पर्दैन ।

देशमा संकट उत्पन्न हुनु सबै नेपालीको चिन्ताको विषय हो । एक जना व्यक्तिले चिन्ता जाहेर गरेका र काँध थापेको भरमा देशमा उत्पन्न संकट दूर हुन सक्दैन । पूर्वराजाले पनि एक नागरिकको हैसियतमा आफ्नो चिन्ता व्यक्त गर्नसक्ने अधिकार र आधार छ । पछिल्लो वक्तव्यमा उनले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सघंर्ष, नेतृत्व कौशल, दुरदर्शिता नेपाली जनताको सामुहिक साथ र सेनाको वीरताको परिणामस्वरुप हामी नेपालीलाई प्राप्त यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु हामी सबै देशभक्त नेपालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ’ उल्लेख गरेका छन् ।

तर, पछिल्लो समय पूर्वराजा शाहले जारी गरेका वक्तव्यहरु भने नौ वर्षअघि उनलाई गद्दीच्युत गर्ने सबै राजनीतिक शक्तिका निम्ति गतिलो सबक बन्न पुगेको छ । उनले यति कडा वक्तव्य पहिलो पटक दिएका हुन् । यसअघि पनि राष्ट्रिय राजनीतिमा दलहरुबीच दूरी बढ्दा पाठ सिकाउने र अप्रत्यक्ष रुपमा कटाक्ष गर्ने हेतुका उनका वक्तव्यहरु नआएका होइनन् । तर, पूर्वराजाका पूर्ववक्तव्यहरु खासै दमदार हुँदैनथे । यस पटक भने उनले वक्तव्य दिँदै भनेका छन्, ‘चार वर्ण छत्तीस जातको साझा पूmलबारीको रूपमा रहेको यस मुलुकका शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाई दुर्वल तुल्याउने, भौगोलिक एवं क्षेत्रीय अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए तापनि तिनले नेपाल र नेपाली विरुद्ध अक्षम्य अपराध गरेका छन् । यसै गरी भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास समेत भइरहेको छ ।’

उनले नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्ंपरा रही आएको बताउँदै ‘तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरबारबाट बाहिरिएका हौं’ जस्ता कुरा पनि वक्तव्यमा उल्लेख गरेका छन् । र, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस आफूले कहिल्यै नगरेको जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले पुनः राजनीतिमा फर्किने आशय झल्काएका छन् ।

पूर्वराजाले वक्तव्यमा राष्ट्रमाथि संकट आइपर्दा आफूले एकताबद्ध तुल्याउने कुरा पनि उल्लेख गरेका छन् । तर स्वाभाविक रुपमा प्रश्न उठ्छ, अहिले जनतालाई एकताबद्ध तुल्याएर अघि बढ्ने चाहना राख्ने पूर्वराजाले विगतमा राजनीतिक शक्तिहरुलाई किन एकताबद्ध तुल्याएर अघि बढ्न सकेनन् ? उनको असक्षमता त २०५९ सालमा उनले सक्रिय राजनीति गर्दा नै देखिएको थियो । त्यतिबेला पनि देश संकटमा थियो । माओवादी र राज्यबीचको अनवरत द्वन्द्वले देशमा अशान्ति मच्चिएको थियो । जताततै युद्धका छापहरु मात्रै देख्न सकिन्थ्यो । तत्कालीन समयमा देशमा उत्पन्न भयावह समस्यालाई निराकरण गर्न राजनीतिक दलहरुबाट सत्ता खोसेर आफ्नै हातमा लिएका ज्ञानेन्द्रले माओवादी युद्ध न त बिसाउन नै सके, न त कुनै उल्लेख्य काम नै गर्न सके । अहिले आएर वक्तव्यबाजी गरेर देशलाई एकताबद्ध तुल्याउँछु भन्ने उनको उद्घोष केवल बकवास मात्रै देखिन्छ ।

पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यहरु उनीभित्र मौजूद पीडाका अभिव्यक्तिहरु हुन् । एउटा सामान्य मानिसलाई आफूले वर्षौदेखि कमाउँदै आएको खोरियाबाट विस्थापित हुँदा त कति पीडाबोध हुन्छ भने ज्ञानेन्द्रले त २ सय ४० वर्षदेखि पुर्खाहरुले सम्हाल्दै आएको राजगद्दी नै छाड्नु परेको थियो । तसर्थ, घनीभूत पीडाबोधका बीच पुनः राजनीतिमा सक्रिय हुने उनको चाहनाअनुरुप नै एकै महिनामा दुई दुई पटक उनले वक्तव्य जारी गरेको स्पष्टै देखिन्छ । तर, तत्कालीन परिस्थितिमा राष्ट्रिय मुद्दाहरुमा देशका प्रमुख राजनीतिक शक्तिहरुबीच मतैक्यता हुन नसके पनि र यही मौकामा आफ्नो राजनीतिक दाउपेचलाई स्थापित गर्छु भन्ने चाहना पाले पनि पूर्वराजाको मनशाय पूरा हुने आधार भने कहिँकतै देखिँदैन ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार