Presidential

आज ५ नम्बर प्रदेशका सबै जिल्लामा सभा र प्रदर्शन हुँदै


आज ५ नम्बर प्रदेशका सबै  जिल्लामा सभा र प्रदर्शन हुँदै

२७ पुस । संविधान संशोधनमार्फत पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रदेश नम्बर ५ लाई पहाडबाट अलग गर्ने प्रस्ताव अघि बढाएपछि त्यसको विरोधमा बुधबार एकै पटक ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा करिब एक दर्जनजति सभा र विरोध प्रदर्शन हुने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित नौ दलले विरोध कार्यक्रम आयोजना गर्न लागेका हुन् । ती विरोध कार्यक्रमहरुमा सत्ता साझेदार दल नेपाली कांग्रेसको समेत समर्थन रहेको एमालेले जानकारी दिएको छ ।

एमाले प्रदेश नम्बर ५ का सचिवालय सदस्यसमेत रहेका केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार बुधबार कपिलवस्तुदेखि रोल्पासम्मका जिल्लामा सभा र विरोधका कार्यक्रम आयोजना हुन लागेका हुन् । उनले तौलिहवामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

त्यसैगरी पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्यूठान, दाङ, बाँके, बर्दियामा विरोध सभा हुन लागेको छ । उनका अनुसार पाल्पा, गुल्मी र अर्घाखाँचीमा पनि विरोध प्रदर्शनको तयारी भएको छ । सभालाई सम्बोधन गर्न एमालेका केन्द्रीय नेताहरु लुम्बिनी पुगेका छन् । एमाले सचिव पृथ्वी सुब्बा गुरुङले रुपन्देहीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थायी कमिटी सदस्य शंकर पोख्रेलले पाल्पाको सभालाई सम्बोधन गर्ने तयारी भएको छ । त्यसैगरी एमाले पोलिट्ब्युरो सदस्य महेन्द्र पाण्डेले गुल्मीको सभालाई सम्बोधन गर्ने तयारी भएको छ ।

कपिलवस्तुमा केन्द्रीय नेताहरु खिमलाल भट्टराई, रघुवीर महासेठलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । प्यूठानमा विजय सुब्वाले सम्बोेधन गर्ने कार्यक्रम छ । भट्टराईले सभालाई सम्बोधन गर्न कांग्रेसका नेताहरु पनि आउने बताए । राष्ट्रहित विपरीत ल्याइएको संशोधन प्रस्ताव जसरी पनि फेल गराउन दबाब दिने उद्देश्यले यस्ता सभा र प्रदर्शन गरिएको भट्टराईले जानकारी दिए ।

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार