Presidential

राजेन्द्र–महन्थहरुले धुर्मुस–सुन्तलीको अभियानबाट कहिले सिक्लान् ?

राजेन्द्र–महन्थहरुले धुर्मुस–सुन्तलीको अभियानबाट कहिले सिक्लान् ?

२८ पुस । राजधानीको मौसम चिसो छ । तर, मौसममा चिसोपन छाए पनि राजनीति भने तात्तिदै गएको छ । तातो राजनीतिक बहसले नेताहरुलाई निकै तताएको छ । प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव जबरजस्ती रुपमा व्यवस्थापिका–संसद्मा टेबुल गरेपछि सत्ता पक्ष सो विधेयक पास गर्ने ध्याउन्नामा छ भने एमालेसहित विपक्षी दलहरु भने विधेयक असफल तुल्याउने रणनीतिमा जुटेका छन् ।

संशोधन विधेयक पारित गराउन यतिबेला सबैभन्दा बढी सक्रिय केही मधेस केन्द्रित दलहरु देखिएका छन् । तराई–मधेसका जनताको अधिकार प्राप्तिका लागि ज्यान दिन समेत तयार रहेको भन्दै ती दलका नेताहरुले आवश्यक परे पहाडबाट मधेस अलग गर्नेसम्मका चेतावनीसमेत दिँदै आएका छन् । अंंगीकृत नागरिकताधारी राजेन्द्र महतो हुन् वा कांग्रेस परित्याग गरेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेका मधेसका पाका नेता महन्थ ठाकुर नै किन नहुन्,  उनीहरुले आफूलाई मधेसी जनताको ‘मसिहा’ ठान्दै पहाड र मधेस अलग तुल्याउने संशोधक विधेयक पारित गराउने अभियानमा लागेका छन् ।

राजनीतिको आडमा राजधानीमा समेत आलिसान महल ठड्याएका र आफूले निर्वाचन हारे पनि समानुपातिकबाट आफ्नै श्रीमती, सासु वा नातेदारहरुलाई सांसद बनाएका ती नेताहरुको ध्यान अहिले पनि मधेसका गरिब र निमुखा जनताको पीडाप्रति जान सकेको छैन ।

पुस–माघको कठ्याङ्ग्रिने जाडोमा एउटा कम्बल नपाएका र घुरसमेत ताप्न नपाएर मृत्यु पर्खिरहेका मुसहर, चमारजस्ता सीमान्तकृत दलित जातिका नाममा महलमा बसेर राजनीति गरिरहेका ती नेताहरुलाई नै चक्मा दिने गरी चर्चित हास्य टेलिशृंखला ‘मेरी बास्सै’ बाट निकै चर्चामा आएका कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले उदाहरणीय काम गरेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसन नामक संस्थामार्फत उनीहरुले तराईको मुसहर बस्तीमा ‘तेस्रो एकीकृत नमुना बस्ती निर्माण अभियान’ थालेका छन् ।

मंगलबार मात्रै धुर्मुस–सुन्तली जोडीले भव्य समारोहका बीच महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरे ।  अहिले पनि मधेस केन्द्रित दलले महोत्तरीलाई आफ्नो पकडको जिल्ला मान्दै आएका छन् । तर, त्यहीँ जिल्लाका गरिब एवं दयनीय अवस्थामा जीवन गुजारिरहेका मुसहर बस्तीमा अहिलेसम्म मधेसी दलका नेताहरुको आँखा पुग्न सकेको थिएन । अहिले त्यहीँ बस्तीमा धुर्मुस–सुन्तलीले ४ करोड ७८ लाख लागतमा ५० वटा घर, एउटा सामुदायिक भवन, एउटा बाल उद्यान र एउटा मन्दिरसमेत निर्माण गर्ने जानकारी दिएका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएका धुर्मुसले तराईका मुसहरहरुलाई न्यानो छाना दिने अठोटका साथ महोत्तरी पुग्दा उक्त अभियानमा हातेमालो गर्न हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) पनि त्यहाँ पुगेका थिए । उनीहरुसँगै गंगासागर सरसफाईका अभियन्ता रामआशिष यादवले पनि संयुक्त रूपको बस्ती शिलान्यासमा भाग लिएका थिए । उनीहरुले बस्ती शिलान्यास गर्दा हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठीलगायतले खुसीले ताली बजाएका थिए ।

आफूहरुले नयाँ घर पाउने भएपछि रोग, भोक र अशिक्षाका कारण वर्षौंदेखि रुमल्लिएका बस्तीका मुसहरहरुले खुसीमा आँसुसमेत झारेका थिए । तर, त्यही भीडमा महन्थ, राजेन्द्र र उपेन्द्र यादवहरु भने कतै देखिएनन् ।

मधेस मुक्तिका कुरा गर्ने नेताहरु हत्तपत्त नपुग्ने उक्त मुसहर बस्तीमा देशकै चर्चित कलाकारहरुलाई देखेपछि सो बस्तीका जनतामा हर्षमात्र छाएन, बस्तीकी अगुवा ६५ वर्षीया मानकी सादाले मुखै खोलेर भनिन्– ‘हामी दिनहीनहरुलाई सम्झिने कोही होलान् भन्ने सोच्दै नसोचेको कुरा भएको छ, अब परिवारका सबैलाई पराले झुप्रोको एउटै कोप्चोमा अप्ठेरो गरी सुत्नु र बस्नुपर्ने छैन ।’ बस्तीका प्रायः सबैको यस्तै भनाइ थियो ।

मुसहर बस्तीका जनताले मुख नै छोपिने गरी लगाइदिएका मालाबाट अलिअलि अनुहार देखाउँदै धुर्मुस–सुन्तलीले आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएको जानकारी दिए । उनीहरुको कुरा सुनेर मुसहर बस्तीमा खुसीको माहोल उत्पन्न भएको थियो । तराईका मसिहा ठान्ने मधेसी दलका नेताहरुले नै दिन नसकेको खुसी मुसहर बस्तीमा धुर्मुस–सुन्तलीले दिएका छन् । मधेसी जनताको अधिकार सुनिश्चित गर्ने मिठा भाषण गर्ने नेताहरुले पनि अब धुर्मुस–सुन्तलीबाट केही सिक्ने कि ?

1 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार