Presidential

लेन्डुप दोर्जीको कुनै देश हुँदैन

लेन्डुप दोर्जीको कुनै देश हुँदैन

आनन्दस्वरुप वर्मा

यस पटक भूटानको चुनावले नजानिँदो गरी काजी लेन्डुप दोर्जीको सम्झनालाई पुनः ताजा तुल्याइदियो । यस्तो नठान्नुस्, दोर्जीलाई सम्झिने म मात्र एक्लो व्यक्ति हुँ । भूटान र नेपालका कैयन क्षेत्रमा उनलाई आज पनि मानिसहरुले सम्झिने गर्दछन् । राजनीतिमा कुनै यस्तो चमत्कार पनि छ, जबजब भारतको दादागिरी (जसलाई शिष्ट भाषामा प्रभुत्ववाद भन्न सकिन्छ) को दृश्य हिमालयसँग जोडिएका देशहरुमा देख्न सकिन्छ त त्यसको खाटा पुनः बल्झिन्छ, जुन लेन्डुप दोर्जीको कृपाका कारण जनताले झेल्नु परेका थिए । यसलाई इतिहासकै विडम्बना मान्नुपर्ने हुन्छ, भारतको भौगोलिक सीमालाई विस्तार गर्ने ती व्यक्ति (दोर्जी) को भारतमा कहिल्यै सम्झना गरिएन । यद्यपि, सरकारी स्तरमा भने उनलाई केही पद्मभूषणजस्ता सम्मान दिएर रीति धान्नका लागि मात्रै भए पनि उनको योगदानको भारतले चुक्ता गयो । तर, जुन एक्लोपना र उदासीले भरिएका अन्तिम दिनहरु उनले कालिम्पोङमा बिताए, त्यो वास्तवमै दयनीय थियो ।

जब–जब कुनै गद्दारको वर्णन गरिन्छ, जसले आफ्नो मातृभूमिलाई विश्वासघात गरेको कुरा उठ्छ, तब–तब काजी लेन्डुप दोर्जीको सम्झना गर्ने गरिन्छ । साँच्चै, त्यस्ता मानिसहरुको कुनै देश हुँदैन, कुनै काल हुँदैन । तिनीहरु सम्पूर्ण भौगोलिक सीमाहरुभन्दा टाढा जहिल्यै पनि, जुनसुकै देशमा पनि प्रकट हुन सक्छन् । कहिले यस्तो खतरा नेपालमा देखिन्छ भने कहिले भूटानमा देखिन्छ । सायद यस्तो खतरा तबसम्म रहिरहन्छ, जबसम्म भारतमा कुनै यस्तो सत्ता स्थापित हुँदैन, जो छिमेकी देशको सम्प्रभूताको उसको आकारबाट अथवा उसको आर्थिक हैसियतले नाप्न बन्द गरोस् र साम्राज्यवादी तथा विस्तारवादी मनसाय छाडेर समान आधारमा सम्बन्ध कायम राख्न सकियोस् । त्यस्तो दिन असम्भव त छैन तर धेरै नजिक पनि देखिँदैन । किनकि यस्तो हुनुुमा भारतप्रति मात्र निर्भर ठानिँदैन । यसका लागि छुट्टिएका साना देशहरुको सामाजिक संरचनामा आमुल परिवर्तनको आन्दोलनले पनि धेरै नै अर्थ राख्दछ । तथापि त्यस्ता देशहरुमा लेन्डुप दोर्जीहरुलाई उत्पत्ति गराइन्छ ।

varma

केभी राजनद्वारा सम्पादित पुस्तक ‘द एम्बेस्डर्स क्लब’ भित्र संकलित बी. एस. दासको लेख ‘सनसेट फर दी चोग्याल’ मैले पढिरहेको थिएँ । बी.एस. दासलाई ७ अप्रिल १९९३ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सिक्किममा पठाइन् । उनलाई किन पठाइयो भने, चोग्यालको शासन समाप्त गरेर भारतमा सिक्किमलाई गाभ्ने बाटो तयार पार्न सकोस् । बी.एस. दासले आफ्नो भूमिकालाई इमानदारीपूर्वक निर्वाह गरे । तर, उनले आफ्नो लेखमा यो कुरा बताउने कोसिस गरेका छन् कि, चीनबाट उत्पन्न खतरालाई ध्यानमा राखेर नै उक्त कदम उठाउन कति आवश्यक थियो ? उनको भनाइ छ कि, सिक्किमको मुख्य रुपमा भारतभन्दा बेग्लै अस्तित्व थिएन । तर सायद उनले यो कुरा बिर्सिए कि, भारतमा विलय हुनुभन्दा अघि सिक्किममा ‘प्रधानमन्त्री’ हुन्थे कि ‘मुख्यमन्त्री’ ? तथापि, बी.एस. दासले राष्ट्रिय हितमा काम गरे, वास्तवमै राष्ट्रिय हितमा ।

के फेरि राष्ट्रिय हितका लागि भारतका सत्ताधारी वर्गको आशिर्वाद भूटानप्रति पोखिएको हो ? आखिर, पूर्वप्रधानमन्त्री जिग्मे वाई थिन्लेको पार्टी डु्रक फेन्सुम सोग्पा (डीपीटी) लाई उक्त चुनावमा हराउन भारतले जुन भूमिका निर्वाह गयो, त्यसको पछाडिको प्रेरक शक्ति के थियो भने जिग्मे थिन्लेले चीनसँग सम्बन्ध सुमधुर बनाउन लागिपरेका थिए । चुनाव जितेपछि नयाँ प्रधानमन्त्री शेरिंग तोब्गे भारतको छ दिने यात्रामा गए । त्यसभन्दा अगाडि नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँगै नयाँ विदेश सचिव सुजाता सिंहले राजधानी थिम्पूमा भूटान सरकारको आतित्थ ग्रहण गरेका थिए । यी दुई देशका बीच जुन प्रेमको सागर उर्लियो, यो चुनाव हुनुभन्दा बीस दिनअघि मात्रै उर्लिएको थियो । चुनाव हुनुपूर्व भारतले ग्यास र पेट्रोलियम पदार्थमा भूटानलाई दिँदै आएको सहुलियत हटाएको थियो । तर, थिन्लेको पार्टी डीपीटीले चुनाव हार्ने बित्तिकै फेरि सहुलियत दिन थालेको थियो ।

काजी लेन्डुप दोर्जीले सिक्किमलाई भारतमा विलय गराउन महत्वपूर्ण भूमिका निभाएपछि पनि उनलाई पूरै बेवास्ता गर्ने काम भयो । यो कुरा थाहा पाउन जरुरी छ कि, जुन देशका जनताले दोर्जीको जयजयकार गाउँदै सिक्किमको संविधानसभाको ३५ सिटमा ३४ सिट दोर्जीको पार्टी सिक्किम नेशनल कँग्रेसलाई विजय दिलाएका थिए, तिनै जनताले पाँच वर्षपछि सम्पन्न चुनावमा उनको पार्टीका एक जना उम्मेद्वारलाई पनि जिताएनन् । भारतीय संसदमा २६ अप्रिल १९७५ का दिन सिक्किमको विलयलाई अन्तिम रुप दिने संविधान संशोधन विधेयकलाई पारित गर्ने बेला तालीहरुको गडगडाहटबीच भारतीय कम्युनिष्ट पार्टीको विरोधको स्वर जुन सांसदहरुले सुनेनन्, तिनीहरुले पनि पाँच वर्षपछि थाहा पाए कि, सिक्किमका जनताले काजी लेन्डुप दोर्जीलाई अस्वीकार गरे । दोर्जीलाई अस्वीकार गर्नुको अर्थ सिक्किमका जनताको भारतमा आफ्नो राज्यलाई विलय गर्ने कुराको अस्वीकृति थियो ।

केही वर्षपूर्व राजधानी थिम्पूमा दक्षिण एसियाली देशहरुको एक साहित्यिक समारोह आयोजना गरिएको थियो, जसमा साँस्कृतिक क्षेत्रसँग सम्बन्धित धेरै मानिसहरु उपस्थित रहेका थिए । समारोहमा ‘अतीतको ऐना’ शीर्षक सत्रमा डा. कर्मा फुंत्सोले भारत र भूटानको सम्बन्धका बारेमा केही महत्वपूर्ण कुरा बताएका थिए । उनी ‘हिस्ट्री अफ भूटान’ का लेखक पनि हुन् । र, एक इतिहासकारका रुपमा उनको ख्याति रहँदै आएको छ । उनले भारतसँग भूटानको मित्रतामाथि महत्व दिँदै भने कि, ‘यस्ता खाले समारोहहरु हुनुपर्छ ।’ उनले थप भने, ‘किनकि, कहिलेकाही दुर्भाग्यपूर्ण घटनाहरु पनि हुन्छन्, जुन अतीतमा भएका थिए ।’ उनको संकेत चुनाव हुनुपूर्व भारतद्वारा भूटानलाई ग्यास र पेट्रोलियम पदार्थमा दिँदै आएको सहुलियत हटाउनेतिर थियो । उनले अगाडि बताए, ‘सायद भूटानका जनता हाम्रो स्थानीय राजनीतिमा भारतको हस्तक्षेपलाई मन पराउँदैनन् । तर, आफ्नो निजी हितका कारण राज्यले गल्ती गरिरहन्छ । उसको यस्तो कदमले दुई पक्षीय सम्बन्धलाई घाटा पु¥याउने काम मात्रै गर्दछ ।’

यसै सन्दर्भमा उनले भारतको असन्तुष्टिको कारण ‘चीनसँग हात मिलाउने’ कार्य भएको पनि बताएका थिए । उनी लोदेन फाउन्डेसनको संस्थापक हुन् र संसारका विभिन्न देशहरुमा बौद्ध धर्मका बारेमा व्याख्यान दिने गर्दछन् । उनले भारत र भूटानको सम्बन्धको चर्चा गर्दै बताए कि, खासगरी भारतमा इस्ट इन्डिया कम्पनी आएपछि भूटानसँग थोरै तनाव उत्पन्न भयो र उक्त तनाव त्यस सीमासम्म फैलियो कि भूटानले तल्लो तटीय क्षेत्रमा आफ्नो जमिनको करिब पाँच गुना भाग ब्रिटिस भारतलाई दिनुप¥यो । उनले भने कि, ‘भूटानका जनताले भारतसँग केही लिनुअघि धेरै सतर्कता अपनाउनु जरुरी छ । किनकि, भारत–भूटान सम्बन्धलाई साँस्कृतिक, आर्थिक, राजनीतिक र सबभन्दा अघि बढेर आर्थिक निर्भरताका लागि भारतले प्रयोग गर्ने गर्दछ । यदि हामी आर्थिक रुपमा निर्भर बनिरह्यौं भने कहिले पनि मित्रता समान स्तरको हुन सक्दैन ।’

(नेपाल मामिलासम्बन्धी राम्रो जानकारी राख्ने भारतीय प्रख्यात पत्रकार एवं वामपन्थी बुद्धिजीवि वर्माले यो लेख करिब तीन वर्षअघि आफूद्वारा नै सम्पादित ‘समकालीन तिसरी दुनियाँ’ मा लेखेका थिए । सोही लेखको सम्पादित अंश यस पटक प्रस्तुत गरिएको छ)

29 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार