Presidential

२ दिने बृहत् रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सकियो


मन्थली । रामेछापको मन्थलीमा २ दिने ‘बृहत् रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन –२०७५’ सम्पन्न भएको छ । भदौ ८ र ९ गते सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको पहिलो दिन ८ गते विभिन्न जात जातिहरूको मौलिक झाँकी प्रदर्शन, कलाका विभिन्न क्षेत्रमा जिल्लाभित्र क्रियाशील कवि, लेखक, कलाकार, चित्रकार, गायक र मूर्तिकारहरूलाई सम्मान वितरण, कवि धन योञ्जनको ‘एकल कविता वाचन’ आयोजना भएको थियो भने भोलिपल्ट ९ गते बहुभाषिक साहित्य सम्मेलन, ‘कला, साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम समेत आयोजना भयो । सोही दिन उक्त सम्मेलनले सिन्धुली, दोलखा, रामेछाप, सर्लाही, महोत्तरी, धनुषा र राजधानीका स्थापित स्रष्टाहरूबीच भएको साहित्यिक अन्तक्र्रियाबाट ‘११ बुँदे रामेछाप साहित्यिक घोषणा–पत्र –२०७५’ जारी गरिएको थियो ।
२ दिनसम्म चलेको सम्मेलन प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले उद्घान गरे । सम्मेलनमा ‘आफूले बजेट निर्माण गर्दा रामेछापको समग्र भौतिक विकासका अलावा कला, साहित्य र संस्कृतिका क्षेत्रमा नयाँ नयाँ कार्य गर्ने योजना बनाएको’ बताए ।
चर्चित साहित्यकार डा. राजेन्द्र विमल, प्रदेश नं. ३ का सांसद रिता माझीको समेत उपस्थिति थियो । सम्मेलनमा रामेछाप जिल्लामा बसोबास गर्ने नेवार, तामाङ, मगर र माझी समुदायहरूको उत्कृष्ट मौलिक सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए साथै विगत् १ दशक अघिदेखि पञ्चेबाजा संरक्षणमा क्रियाशील पञ्चेबाजा संरक्षण समितिद्वारा पञ्चे बाजाको विस्तृत प्रस्तुति समेत गरिएको थियो ।
पहिलो दिनको कार्यक्रममा रामेछापमा रहेर साहित्यका विविध विधामा कलम चलाउने साहित्यकारहरू, चित्रकार, मूर्तिकार, थाङ्का कलाकार, नृत्यकार, गायक र अभिनयकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यिक अतिथि र विशिष्ट व्यक्तित्व लगायत जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरू, शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, उद्योगी, कर्मचारी र विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा १ हजार पाँच सयको सहभागिता रहेको मूल आयोजक समितिका संयोजक धन योञ्जनले जानकारी दिए ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार