Presidential

ध. च. गोतामेका नजरमा श्यामप्रसाद


(प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको आइतबार बिहान ८८ वर्षको उमेरमा निधन भयो । लामो समय प्रगतिशील लेखन र आन्दोलनमा बिताएका शर्मा पछिल्ला वर्षहरु अल्जाइमर्सबाट पीडित थिए । २००३ सालदेखि नै लेखन र राजनीतिक गतिविधिमा सामेल शर्माका सहपाठी अर्का स्रष्टा ध. च. गोतामेले शर्मासँग बिताएका बाल्यकालीन दिनहरुबारे आफ्नो पुस्तक ‘कालान्तर’ मा उल्लेख गरेका छन् । केही वर्षअघि नै बितेका गोतामेले शर्मासँग बिताएका संस्मरणलाई मिहिन रुपले उल्लेख गरेका छन् । त्यसकै केही अंश)

हाइस्कुल सामुन्ने विर्तामाईको मन्दिर नजिकै श्यामले जीविकाका लागि एक पुस्तक पसल खोलेका थिए– ‘सेवा सदन’ । दिनरातको हाम्रो अखडा त्यही पुस्तक पसलमा थियो । भारतको विहारतिरबाट एक जना पुस्तक विक्रेता महिना, दुई महिनामा श्यामको पसलमा आएर पुस्तक दिएर जान्थे र अगावै बिक्री भइसकेका पुस्तकहरुको मूल्य उठाएर लैजान्थे । ठूलो टिनको बाकसको माथिल्लो भाग भागवत् गीता, रामायण, कल्याण पत्रिका आदिले भरिएको हुन्थ्यो भने तल्लो खण्डमा रातो जिल्ला भएको विप्लव प्रकाशनका यशपालका साथै राहुल सांकृत्यायन आदिका क्रान्तिकारी पुस्तकहरु टनाटन तह लगाएर राखिएका हुन्थे ।

मलाई पनि विस्तारै त्यस्ता पुस्तकहरुमा रस बस्न थाल्यो । सेवा–सदनको ढोका थुनेर हामी दुवै लालटिनको मन्द प्रकाशमा राति दस–एघार बजेसम्म पढिरहन्थ्यौं । त्यहीताक मलाई श्यामजीबाट प्राकृत चिकित्साबारे पनि ज्ञान भयो । आरोग्य भवन, गोरखपुरबाट विठ्ठलदास मोदीको सम्पादनमा निस्किने ‘आरोग्य’ पत्रिका पनि म नियमित रुपमाबाट पढ्न थालेँ । लुइकुनेको जलचिकित्साबारे पनि पहिलो पल्ट त्यहीं मैले अध्ययन गर्न पाएँ ।

विस्तार विस्तार हामी क्रान्तिकारी पुस्तकहरु पढेर खासखुस गर्दै आफ्–आफ्ना विचारको आदानप्रदान गर्ने भइसकेका थियौं । वीरगञ्जजस्तो राणाकालको एक पछौटे सहरमा श्यामलाई मेरो साहचर्य निकै सुखद् हुन गएको थियो ।

श्यामको घर माईस्थान पछाडि गढवामा थियो, पराले छानो भएको दुई कोठाको फुसको घर । घरभित्र पस्दा उनको विपन्न अवस्थाको स्वतः भान हुन्थ्यो । श्याम आफ्नो पारिवारिक दुःख–सुखका कथा कहिले कसैका सामु ओछ्याउँदैन थिए । मैले कहिलकाहीं कोट्याउने चेष्टा गर्दा कुरा छलेर बेग्लै विषयतर्फ मोडिन्थे । तर पनि घरमा जाँदा–आउँदा चाल पाइसकेको थिएँ कि उनका पिता छैनन् । परिवारमा वृद्धा मातामात्र छिन् । परिवारको आर्थिक दायित्व केटाकेटी अवस्थादेखि नै श्यामले आफ्नो कलिलो काँधमा बोकेका थिए । घरको सावगाँस ‘सेवा–सदन’ ले जेनतेन धानेको थियो । यही कारण हो कि स्कुलको समयबाहेक उनको सम्पूर्ण समय पसलमा व्यतित हुन्थ्यो । घरमा गाँस टिप्न मात्र जाने गर्थे ।
००
एक दिन मैले श्यामजीलाई सोधेँं, ‘नेपालमा प्रजातन्त्रको स्थापनाका लागि के गर्नुपर्छ ?’ उनले मन्द हाँसोमा उत्तर फर्काए, ‘हेर्दै जानुस्, जिज्ञासाको समाधान तपाईले छिट्टै पाउनु हुने छ ।’

नभन्दै, केही दिनपछि म र श्याम एक रात सधैँझैं पसलका बसेका थियौं, जेलको घन्टीले नौ ठोक्यो । मैले आङ तान्दै भनें, ‘निकै बेर पो भएछ, जाने होइन ?’ श्यामले अर्थपूर्ण तवरले मतिर हेरेर भने, ‘आधा घन्टाजति अझै कुरौं, तपाईले अस्ति मसित सोध्नुभएको प्रश्नको उत्तर दिन एकजना मित्रलाई डाकेको छु, उहाँ आउँदै हुनुहोला ।’

मैले आफ्नो कौतूहल शान्त गर्नका लागि केही बेर कुर्नै प¥यो । घन्टाले एक पटक फेरि ठोक्यो, अर्थात साढे नौ बजे । श्यामजीले बिस्तारै पसलको खापा मानिस मात्र छिर्न हुने गरी खोलिदिए । दुई चार मिनेट बितेको हुँदो हो, एक जना अग्लो ओभरकोटधारी मानिस हाम्रो सामु आएर ठिंग उभियो । यी थिए, नेपाली राष्ट्रिय काँग्रेसका सक्रिय कार्यकर्ता हिमालयस्वरानन्द वैद्य । श्यामजीले परिचय गराए । उनले कालो ओभरकोटको बगलीबाट ने.रा.का.को रसिद झिकेर मेरो नाम लेखे र अधकट्टी दिएर भने, ‘चार आना दिनुस्, आजदेखि तपाई हाम्रो पार्टीको सदस्य हुनुभयो । अरु विशेष श्यामजीबाट थाहा पाउँदै जानु हुनेछ । म अहिले रेल समातेर कलकत्ता जाँदैछु, फेरि पछि भेटौंला, जय नेपाल ।’
००
श्याम मेरा निकटका मित्र भएता पनि उनीजस्ता वितरागी म थिइनँ । बौद्धिक स्तरमा म श्यामसित टाँस्सिएको थिएँ भने कला पक्षमा म उनीभन्दा पृथक थिएँ । नाच, तमासा, सिनेमा, संगीतसित श्यामको कुनै सरोकार थिएन । उनका लागि यी सबै समय र पैसाको दुरुपयोग गर्ने वस्तु थिए ।

उनी साकाहारी मात्र थिएनन्, उनको सम्पूर्ण जीवनशैली नै विशुद्ध साकाहारी – खल्लो न खल्लो, उसिनेर पस्किदिएजस्तो थियो । जो मेरा लागि किमार्थ रुचिकर थिएन । म भोगवादी संस्कृतिपट्टिको थिएँ । मोजमज्जा गर्नुपर्ने, गीत संगीतको रसिया, ड्रामा, नौटंकी भनेपछि भुतुक्क हुने र हेर्न पाइन्छ भने रातविरात तीन चार कोश दगुर्दै जान पनि फिस्स नमान्ने । उनका लागि यी सबै मानवीय दुर्वलता थिए भने मेरा लागि आधारभूत आवश्यकता । श्याम अल्पभाषाी थिए भने म गफाडी थिएँ । चार जना साथीहरु बटुलेर गफ चुट्ने दुर्वलताले मलाई अहिलेसम्म पनि अँठ्याइरहेकै छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार