Presidential

नेपालको मगर र हङ्गेरीको मग्यार भाषाबारे गोष्ठी


९ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित विचार गोष्ठीमा नेपालका मगर र हङ्गेरीका मग्यार जातिका भाषाको विषयमा विमर्श गरियो । नेपालका मगर र हङ्गेरीका मग्यार जातिले बोल्ने भाषा एकआपसमा मिल्दोजुल्दो रहेको प्रा.डा. माधवप्रसाद पोखरेलले दाबी गर्नुभयो । ‘नेपालका मगर र हङ्गेरीका मग्यार भाषाको तुलनात्मक अध्ययन’ विषयक विचार गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डा. पोखरेलले यस्तो दाबी गर्नुभएको हो । पोखरेलले नेपालका मगर भाषाका एक सय शब्दावली तथा हङ्गेरीका मग्यार भाषाका एक सय शब्दको तुलनात्मक अध्ययन गर्दा यस्तो निष्कर्ष निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी दुई भाषाबीच सोह्र प्रतिशत समानता देखिन्छ ।”

पोखरेलको कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका प्रमुख प्रा.डा. दानराज रेग्मीले विभागले नेपालका ८८ वटा भाषाको सर्वेक्षण गरिसकेको बताउँदै ६६ भाषाको प्रतिवेदन सार्वजनिक भइसकेको प्रस्ट्याउनुभयो । नेपालका अरु भाषासँग सम्पर्कमा नआएको मानिएको सुदूर पहाडी भेगमा बोलिने मगर भाषा र बाह्य भाषाको तुलनाका लागि अझै अध्ययन हुनुपर्ने डा. अम्बिका रेग्मीले बताउनुभयो । अर्का टिप्पणीकार कर्णबहादुर बुढामगरले हङ्गेरीका मग्यार भाषाका बोलीचालीका केही शब्दावलीहरू नेपालका मगरसँग कुनै हुबहु त कुनै आंशिक रुपमा मिल्ने गरेको पाइएको सुनाउनुभयो । “भाषामात्र हैन सांस्कृतिक पहिरनको सवालमा पनि मेलेसियन र हङ्गेरियनसँग नेपाली मगरको पहिरन मिल्छ” उहाँले थप्नुभयो, “नेपालका मगरले मलेसियामा लाहुरेनीले लगाएको पहिरन देखेपछि यता पनि त्यस्तै मखमलको घलेक लगाउन थालिएको हो ।”

हङ्गेरीलगायत अफ्रिकी देश पुगेका लालबहादुर पुनले मग्यारहरु हङ्गेरियामा मात्र नभई नाइल नदी आसपास पनि रहेकाले खोजी हुनु आवश्यक रहेको बताउनुभयो । नेपालका मगर र हङ्गेरीका मग्यार जातिबीचको सम्बन्ध भने २०४८ सालमा हङ्गेरियन मग्यारको टोली आफ्नो पुर्खाको खोजी गर्दै नेपाल आएपछि जोडिएको गोष्ठीमा सहभागीहरूले सुनाउनुभयो । मिसेस बोंदाको नेतृत्वमा आएको टोलीले अन्य जातिको वंशसँग नमिसिएको सुदूर पहाडका मगरको अध्ययन गरेको थियो । “आफ्ना पुर्खाहरू एसियाको केन्द्रमा रहेको अनुमान गरेर हङ्गेरियनहरू नेपाल आएका थिए”, “नेपाल–हङ्गेरी मैत्री सङ्घका अध्यक्ष लङ्काबहादुर मगरले भन्नुभयो, “उनीहरूले गरेको अध्ययनको विस्तृत विवरण भने नेपाल आउन बाँकी छ ।”

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषाको उत्थान र विकासका लागि यस्ता बहस हुनु जरुरी रहेको बताउँदै प्रतिष्ठान आफैंले पनि विभिन्न माृतभाषाको शब्दकोष तयार गरेको जनाउनुभयो । कुलपतिले भन्नुभयो, “यस गोष्ठीले सम्बन्धित विषयको अध्ययनको लागि नयाँ ढोका खोलिदिएको छ ।” उहाँले विज्ञ हुनलाई प्रा.डा. नै हुनु नपर्ने उल्लेख गर्दै गोष्ठीमा सहभागीबाट धेरै खुलस्त भएको बताउनुभयो ।

मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्दबहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. मीन श्रीस मगरद्वारा लिखित ‘गलकोट खुवा क्षेत्रको मगर संस्कृति’ र ‘बुद्ध, बौद्ध दर्शन, बौद्ध सम्पदाहरू र मगर जातिको संस्कार विधि’ पुस्तकको लोकार्पण गरिएको थियो । पुस्तकमाथि प्रा.डा. पदमलाल देवकोटा र प्रा.डा. सन्ध्या बस्नेतले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमबारे हर्कबहादुर थापाले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन माया हिस्की मगरले गर्नुुभएको थियो ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार