Presidential

अनमोलको १९ नम्बर बजारमा


अनमोलमणिको कथा संग्रह १९ नम्बर सांग्रिला बुक्सले बजारमा ल्याएको छ । यसमा उनले विभिन्न समयमा लेखेका ९ वटा कथा संग्रहित छन् । विज्ञानको प्रगतिले मान्छेको समवेदनामा पारेको प्रभाव र प्रेमका विषयमा प्रभावकारी लेखन शैली भएका उनको लेखकीय स्वाद पाठकले १९ नम्बरमा पनि पाउने छन् । यो उनको दोस्रो कथा संग्रह हो ।

संग्रहका कथामा सामाजिक विसंगति र त्यसबाट सिर्जना भएका विभिन्न द्वन्द्व कलात्मक शैलीमा प्रस्तुत भएका छन् । मध्यम वर्ग र उनीहरुका असीमित आकांक्षा, मध्यम वर्गमा फेरिएको सौन्दर्य चेत, नारीमाथि हुने ज्यादती, नेपालको शिक्षा शैली र त्यसले सिर्जेको मनोदशा, माओवादी द्वन्द्व र त्यसले अपेक्षाहरुमा गरेको प्रहार, व्यक्तिको आप्रबासी बन्ने हुट्हुटी र त्यसपछि जन्मथलोको कल्पनाले सिर्जना गर्ने समवेदना कथामा जीवन्त भएर आएका छन् । कथाको भाषा सरल र लयात्मक छ ।

कथा संग्रहबारे अनमोलमणि भनेका छन्, ‘मैले बाँचुन्जेल आफू बाँचेको समयसित संवाद गरिरहनु पर्छ । समयसितको हरेक संवादले मलाई विषय दिन्छ । म त्यही आफू बाँचेको समय बुझ्न कथा लेख्छु ।’

‘संसारका हरेक व्यक्ति कथाहरुका मूल कथा हुन् भन्ने मलाई लाग्छ । हरेक व्यक्तिसित लेखिएका नलेखिएका कथाहरु फूलको थुंगाजस्तो पत्रै पत्रभएर बसेका छन् । मेरा कथाका पात्रहरु तिनै व्यक्तिहुन् । जसको कथा मैले १९ नम्बरमार्फत भन्ने कोशिश गरेको छु ।’ उनले बताए ।

अनमोलमणि कथा, कविता, अनुभूतिजन्य निबन्ध लेखनमा चलेको नाम हो । कान्तिपुर, नेपाल समाचारपत्र लगायतका दैनिक, साप्ताहिक, मासिक पत्रिकामा झन्डै दुई दशक सक्रिय पत्रकारिता गरेका उनले केही समय रेडियोमा पनि काम गरेका छन् ।
आठ वषअघि प्रकाशित उनको कथा संग्रह नीलिमा र गाढा अँध्यारो पाठकले निकै रुचाएका थिए । यसबाहेक उनका सबुत (कविता संग्रह), आजका नेपाली कथा (सम्पादन) र नदी किनारमा उभिएर लगायतका कृति प्रकाशित छन् ।

उनी क्यानडाको अल्बर्टा प्रान्तस्थितराइटर्स गिल्ड अफ अल्बर्टाले आप्रवासी लेखकलाई प्रदान गर्ने बोर्डरलाइन्स राइटर्स सर्कल २०१५(२०१६ को एक वर्षे लेखकवृत्तिमा पनि कथा लेखनका लागि छनौट भएका लेखक हुन् । संग्रहको मूल्य २७५ रुपैया रहेको छ ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार