Presidential

विम्ब कविको रङ–संसार

 

हरियो होस् वा बैजनी, हरेक कलाकार सबै रङसित खेल्न रुचाउँछन् । उत्तिकै सान्निध्य जोडिएको हुन्छ हरेक रङसँग । तर, चित्रशिल्पी रमेश श्रेष्ठ भने नीलो रङलाई धेरै मन पराउँछन्, माया गर्छन् । किन त ? करिब साढे तीन दशक रङ र शब्दसँगै खेलेका उनी भन्छन्– ‘रङ खेलाउने मानिसलाई सबै रङप्रति उस्तै र उत्तिकै स्नेह पलाउँछ । तर, मलाई भने नीलो रङ मन पर्छ । मैले आफ्ना चित्रहरूमा नीलो रङलाई नै पहिलो प्राथमिकतामा राख्दै आएको छु ।’

काठमाडौंका कलाप्रेमीहरूलाई पोखरा र काठमाडौं बसाइँका क्रममा सिर्जना गरेका आफ्ना चित्रहरू देखाउने लालसामा रहेका रमेशले अन्ततः शुक्रबारको सन्ध्याकालीन क्षणसँगै प्रतिभा प्रस्फुटन गर्ने औसर पाए । नेपाल आर्ट काउन्सिलमा उनले ५४ थान चित्र टाँगे । र, दुई दशकअघि पोखरामा छँदै एकल प्रदर्शनी गरेका उनले दोस्रो प्रदर्शनीका लागि काठमाडौंलाई रोजे । करिब दुई वर्षअघि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा नियुक्त भएपछि काठमाडौंमै बस्न थालेका उनले काठमाडौंका कलाप्रेमीलाई आफ्नो सिर्जना–संसारबारे जानकारी गराउन विलम्ब भइरहेको थियो, तर अब त्यो विलम्बमा पूर्णविराम लागेको छ । र, भदौको अन्तिम दिनसम्मै रमेशको चित्रकारितालाई पछ्याउन सकिनेछ ।

प्रसंग नीलो रङकै । किन नीलो रङप्रति आकर्षण रह्यो त ? ५० हिउँद–वर्षा झेलिसकेका उनले भने– ‘नीलो रङ आनन्दको रङ हो । आकाश हेर्नुस्, समुद्र हेर्नुस्, सबैका रङ नीलो नै छन् । गहिरो नदीको रङ पनि नीलो नै हुन्छ । म जानीनजानी नीलो रङप्रति आकर्षित भएँ ।’ कुनै बेला अखिलको राजनीति गरेका र वामपन्थी विचारप्रति झुकाव राख्ने रमेशलाई सोधियो– ‘प्रायः वामपन्थीहरू त रातो रङसित खेल्न मन पराउँछन् । तर, तपाईंमा भने किन नीलो रङप्रति मोह ?’

उनी खुले– ‘रातो रङ सबैलाई मन पर्ने रङ हो । रातो रङ ऊर्जा र जोसको रङ पनि हो । रातो रङको आफ्नै महिमा छ । हाम्रो रगतको रङ, सूर्यास्तको रङ रातै हुन्छ । चित्रकारितामा पनि रातो रङको आफ्नै विशेषता छ । तर, नीलो रङलाई जति विविधताका साथ पस्किन सकिन्छ, अरू रङबाट त्यस्तो अपेक्षा राख्न सकिँदैन ।’ तर, उनले पहेंलो रङ भने आफ्ना चित्रहरूमा कमै प्रयोग गरेका छन् । भन्छन्– ‘गाढा पहेंलो रङमा खेल्न गाह्रो छ । त्यही कारण मैले आफ्ना सिर्जनामा पहेंलो रङलाई कमै प्रयोग गरेको छु ।’

सुन्दर पोखरामा जन्मिएका रमेशलाई रङसित खेल्ने बानी सानै उमेरदेखि लाग्यो । युवावस्थामा पुगेपछि त रङलाई पछ्याउँदा आर्थिक दूरावस्था मेटिने चेतले उनलाई छोइसकेको थियो । भन्छन्– ‘म पेटले चित्रकार र भावनाले कवि भएँ ।’ २०३८ सालमा साइनबोर्ड लेख्न थालेपछि चित्रकारितामा प्रथम पाइला बिसाएका उनले साइनबोर्ड लेख्दा पनि सिर्जनशीलतालाई पछ्याए । साढे तीन दशकअघिको दृश्य सम्झिन्छन्– ‘त्यतिबेला मैले हनुमान छाप बिँडीको चित्र बनाएको थिएँ । त्यसले मलाई पैसा र आनन्द दुवै दियो । चित्र बनाउँदा पैसा पाइन्छ भन्ने लागेपछि म यो क्षेत्रमा आकर्षित भएँ र अहिले जीवनको एउटा अंग नै भइसक्यो ।’

२०४० सालताका ब्यानर लेख्ने काम टन्नै आउँथ्यो । तर, ब्यानर लेख्दा त्यसमा सिर्जनशीलताले कुनै स्थान पाउँदैनथ्यो । रमेशले भने ब्यानर लेख्दा सिर्जनालाई आधार बनाए । भन्छन्–‘पोखरा क्षेत्रमा ब्यानर बनाउँदा चित्र बनाउने कामको सुरुवात नै मैले गरेको हुँ । ब्यानरमा हिमाल, नदी र विद्यार्थीहरूका चित्र बनाएपछि मलाई ब्यानर बनाउन दिनेहरूको भीड लाग्यो ।’

त्यसो त ४० को दशकतिर पोखराका अधिकांश चित्रशिल्पीहरू पानी रङमा नै खेल्न रुचाउँथे । रमेशले पनि अग्रजहरूकै बाटो समाते । चित्रकारिताका सुरुवाती दिनहरूमा उनले पानी रङका चित्रहरू नै धेरै बनाए । २०४० देखि २०४८ सम्मै यो क्रमले निरन्तरता पायो । त्यसपछि मात्रै उनले क्यानभासलाई सिर्जनाको माध्यम बनाए । भन्छन्– ‘क्यानभास महँगो थियो । पानी रङमा चित्र बनाउन सस्तो थियो । महँगो भएकै कारण पोखराका सबैजसो कलाकारहरूले पानी रङकै चित्र बनाउँथे ।’ हुन पनि पोखरालाई पानी रङका चित्रकारहरूको सहर भनेर पनि चिनिन्छ ।

अहिले आर्ट काउन्सिलमा भइरहेको एकल कला–प्रदर्शनीमा पनि रमेशले चार थान पानी रङको माध्यमद्वारा सिर्जना गरिएको चित्र सजाएका छन् । उनका बाँकी ५० वटा चित्र भने एक्रेलिक माध्यमका रहेका छन् । उनी भन्छन्– ‘मैले अहिले पनि पानी रङ खेलाइरहेको छु ।’ प्रदर्शनीमा सजाइएका चित्रहरू कस्ता छन् त ? उनकै शब्दमा– ‘प्रकृतिका माध्यमबाट जीवनबोध गर्न सकिने चित्रहरू मैले प्रदर्शनीमा राखेको छु । हरेक दृष्टिकोणबाट जीवनको महिमा गाउने प्रयत्न गरेको छु । मैले रङहरूका माध्यमबाट जीवनका आयामहरूको गीत गाउने प्रयत्न गरेको छु । खुसी, उल्लास, अवसाद, संघर्ष र संघर्षपछिका प्राप्तिहरूमा देखिएका विभिन्न पक्ष, प्रेम, विचारभित्रका अनेक पक्षलाई मैले आफ्नो चित्रकलामा उतारेको छु ।’ उनले कला–प्रदर्शनीको नाम नै ‘रङहरूको गीत’ राखेका छन् ।

साहित्यमा विम्ब–कविको छवि बनाएका रमेशको चित्रकारिता काव्यात्मक लाग्छन् । हरेक चित्रले कविता सुनाइरहेको बाक्लो आभास हुन्छ । कवितामा उनी विम्बलाई जुन रूपमा सजाउँछन्, चित्रकलामा पनि उही सजावट हुन्छ । स्तन सुकेको एउटी महिलाको चित्रतिर औंल्याउँदै उनले भने– ‘किन सुक्यो यो महिलाको स्तन ? सामाजिक वा अरू कुनै कारणले सुक्यो ? मैले त्यो कुरालाई यो चित्रकलाको माध्यमबाट उजागर गर्न चाहेको छु ।’

9 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार