Presidential

छात्रविद्रोहमा देवकोटा–दृष्टि

डा.मोदनाथ प्रश्रित

वि.सं. २००४ सालमो छात्रविद्रोह जयतु संस्कृतम मा लक्ष्मीप्रसाद देवकोटा सामेल थिएनन् । तर त्यस विद्रोहको आवश्यकता, चेतना र भावनाले उनको मानसलाई निकै झक्झकाएको थियो । त्यस तातो विषयमा उनले त्यसै बेला केके लेखे, मैले पढ्ने अवसर पाएको छैन । त्यस विद्रोहको भावनामा केन्द्रित भई महाकवि देवकोटाले २०१३ जेठ १९ गते छात्रविद्रोह कविता लेखेका रहेछन् । त्यो लामो कविता रचना साहित्यिक पत्रिकाको २०३३ पुस–माघ अंकमा पहिलो पटक छापिएको रहेछ । त्यसमा देवकोटाले जस्ता विचार र भाव व्यक्त गरेका छन्, त्यसबाट जयतु संस्कृतम आन्दोलनलाई उनले विशेष महत्व दिएको त प्रष्ट हुन्छ नै, त्योभन्दा बढी उनले संस्कृत वाङ्मयको पुरानो ढर्राको पढाइ शैली र दिइने ज्ञानबारे चोटिलो व्यंग्य र चिन्ता व्यक्त गरेका छन् । उनले आन्दोलनको उद्देश्यबारे आफ्नो जस्तो सोच व्यक्त गरेका छन्, त्यति उन्नत विचार र सोचको स्तरमा त सायद आन्दोलनकारी विद्यार्थीसमेत पुगेका थिएनन् कि ? जेहोस्, महाकविले संस्कृतका विद्यार्थीहरुले यसखाले सोच र उद्देश्य लिनुपर्छ भन्ने प्रेरणाका निम्ति त्यो कविता रचेजस्तो लाग्छ ।

संस्कृत पाठशाला र शिक्षाको अवस्थाबारे कविता यसरी सुरु हुन्छ–
यो पुरानो चिर–प्रतिष्ठित
ज्ञानशाला ‘माकुरु’
छाड्न लाग्यौँ आज हामी
कसरी यसको ऋण तिरुँ ?
काष्ठमण्डप राजधानी
थोत्रिएको यो तरु
संसार छेक्ने छाया यसमा
पढ्दथ्यौँ अब के गरुँ ?

पुरानो ढर्राको संस्कृत शिक्षालाई थोत्रिएको रुपमा लागेको माकुराको जालको विम्बद्वारा आधुनिक संसारको वास्तविकतालाई छेक्ने शिक्षाको जडवाद र अन्धविश्वास विरुद्ध विद्रोह केन्द्रित भएको संकेत कविले गरेका छन् ।

कस्तो थियो त त्यस बेला शिक्षाको विषय र शिक्षण प्रणाली ? सुधी र उपास्य यी दुई शब्दलाई संस्कृत व्याकरणअनुसार जोड्दा सुध्युपास्य हुन्छ । संस्कृत भाषामा अच् वर्ण अर्थात् अ, आदेखि अं, अः एवंका स्वरवर्णहरु एकै ठाउँमा आइपुग्दा अलगअगल बस्न नसकी जोडिएर बस्छन् । अ, अ या आ आ जोडिँदा आ हुन्छ । अ र इ जोडिँदा ए हुन्छ । त्यसरी नै इ र उ जोडिँदा यु हुन्छ । यसरी सरल नियम सिकाएमा विद्यार्थीले सुधिमा उपास्य जोडिँदा सुध्युपाश्य हुन्छ भनी सजिलै बुझ्न सक्छ । तर गुरुहरुले पढाउँदा सरल नियम सिकाउनुभन्दा थुप्रै सुत्रहरु घोकाएर लामो ढंगले सुध्युपाश्य बनाउने विधि बताउनाले प्रत्येक संयुक्त शब्द बनाउन घन्टौं घोक्नुपर्छ । त्यो निरस र अवैज्ञानिक घोकाइले अल्छी र निद्रा लाग्ने हुँदा विद्यार्थीले आफ्नो टुपी डोरीले दलिनमा बाँधेर घोक्न थाल्थे । निद्राले टाउको झुक्न खोजे टुपी तानिएर टाउको दुख्थ्यो र निद्रा भाग्थ्यो । कस्तो अवैज्ञानिक तरिका ? त्यसैलाई व्यंग्य गर्दै कवि भन्छन्–
सुध्युपास्य साधिएथ्यो
टुपी दलिनमा बाँधिएथ्यो
शब्दकोषै आँटिएथ्यो
गोठ गन्दै होस् बरु
पढाइ कति गाह्रो थियो, कविका शब्दमा–
क्या सुपाडी फोर्न सिक्थ्यौं
शब्द लोहाझै कडाका
क्या गाला घत्याई बोल्थे
गुरुले विद्याका घडाका
आधा घन्टा रन्न कान
सन्न पार्थे सब मथिंगल
श्लोक एकका ती टीका
त्यसउपर सामण र पिंगल

वास्तवमा संस्कृतको पढाइ साह्रै यान्त्रिक, तोता रटन्ते र दिक्कलाग्दो हुन्थ्यो । आधुनिक विज्ञानका खोजहरु त्यहाँ सामेल थिएनन् । शेषनागले बोकेको चेप्टो पृथ्वी, शेषले काँध फेर्दा भूकम्प हुने, राहुको छायाले सूर्य र चन्द्रग्रहण लाग्नेजस्ता उल्फा कुरा पढाइन्थे । विद्यार्थीहरुले त्यस अवैज्ञानिक शैली र सोचबाट मुक्त भई वैज्ञानिक शैली र सोचको थालनीको माग गर्नु छात्रविद्रोहको एक कारण थियो ।

विद्यार्थीहरुले विद्यालयबाहिर समाज र सूचनाका विभिन्न ज्ञानस्रोतबाट सुनेका कुरा अघि सार्दा गुरुहरु क्रोधले जंगिन्थे । प्रश्नको सही र वैज्ञानिक जवाफ दिन नसकी गुरुहरु सबै कुरालाई शास्त्रको पर्दाले ढाकछोप गर्न चाहन्थे । विद्यार्थीका सरल र सोझा प्रश्नहरुलाई गुरुहरु आफ्नो अपमान गर्ने अपराध ठान्थे र त्यसलाई तिलको पहाड बनाएर हप्कीदप्की या कुटपिटको सजाय दिन्थे ।

‘गुरु, रेडियोमा टाढाको बोली कसरी सुनिन्छ ?’ भनी विद्यार्थीहरुले सोध्दा ‘गीता र महाभारत पढ, युद्धक्षेत्रका समाचार दरबारमा बसेका सञ्जयले कसरी थाहा पाउँथे ?’ भन्ने खालका उत्तर हुन्थे । शिक्षाको नाममा यसखाले फन्दामा परेको पीडाले आफू साह्रै पछाडि परेको अनुभव गरी विद्यार्थीहरुले गरेको विद्रोहको चित्रण यसरी गरे कविले–
रेसमी जालीहरुका
कीडासँग अब के गरुँ ?
अल्झिएका माखा निक्ल्यौँ
अष्टपादको ऋण तिरुँ ?
रित्तो टिन त्यो ठोक साह्रै
भो अबेला उठ्न गाह्रै
एक नमस्कार ता गरुँ
ढ्वाङ्ग, ढ्वाङ्ग गुरु
ढ्वाङ्ग, ढ्वाङ्ग गुरु

आज हामी बाहिरी उज्यालो हेर्न जान्छौं
लाटोकोसेरोको गुँड यो, फेर्न जान्छौँ
मानिस उड्ने कल र पुर्जा जोड्न जान्छौँ
हात्ती पुज्यौँ, साँढे पुज्यौँ
बनचरोको उपेक्षा दीर्घ भो अब
गायत्री, सब झारको मन्त्र धेरै जप्यौँ
तृणको स्नायु जाँच्ने यन्त्र ली टपौँ

आज आँखा खोली सिक्ने
कर्मको नव पाठ सुरु
घेराभन्दा परको घेरा–
भन्दा परको भुरुरुरु
घुर्दै छन् के अझ गुरु
ढ्वाङ्ग, ढ्वाङ्ग गुरु

यसरी पुरानो अँध्यारो संसारका पर्खाल भत्काएर उज्यालो संसारमा जाने उद्देश्यले २००४ को छात्रविद्रोह भएको भाव व्यक्त गरेका छन् कविले । विद्रोही विद्यार्थीहरु भन्छन्–
बूढी बोक्सी बुद्धि टुना । अब धपाउँछौँ मैली अन्धी–शुद्धिलाई अब नुहाउँछौँ
क्षात्र–ब्राम्हणको चारखुट्टे, यो जनावरदेखि तस्र्यौँ, पर धपाउँछौँ
छत्तीस फूलको एक धागो अब समाउँछौँ ।…बाँधिएकी
बुद्धि नेलामा आज फुक्छे । आज वञ्चित आत्मा मोचन पाउन उठ्छे

देवकोटाको दृष्टिमा यस्ता थिए विद्यार्थी विद्रोहको कारण । विद्यार्थीहरु शासक स्वाँठ, जंगी, लाठ, लम्पट आत्मा, चिफ–जात, दुष्ट, अन्धा प्रधानको बेइमान शासनबाट मुक्त हुन चाहन्थे ।

२००४ सालमा राणाशासनको विरुद्ध बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको गठन भई आन्दोलनको तयारी हुँदै थियो । काठमाडौंमा संस्कृत पढेका विद्यार्थीहरु परीक्षा दिन बनारस जान्थे । त्यहीँ विद्रोही नेताहरुको सम्पर्कबाट उनीहरुमा राणाशाही विरुद्ध संघर्ष गर्ने प्रेरणा जागेको थियो ।

परीक्षा दिएर नेपाल फर्केपछि जयतु संस्कृतम् नाराको साथ संघर्षमा उत्रेका थिए । त्यस बेला महाकवि देवकोटा पनि बनारसको राजनीतिसित जोडिएका थिए । त्यसै सन्दर्भमा उनको मनमा उब्जेका विद्रोही भावनालाई नौ वर्षपछि यस कविताका रुपमा प्रस्तुत गरेको देखिन्छ ।

साभारः ‘बगर’ साहित्यिक त्रैमासिक

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार