Presidential

यी हुन्, कम लेखेर पनि चर्चित हुने कविहरु

विवश वस्ती

डा. मीनबहादुर विष्टले पछिल्लो समय कविता–लेखनबाट आफूलाई अलग राखे । तर, उनले लेखनको ऊर्जाकालमा जति कविता लेखे, ती कविताहरुलाई ‘मास्टरपिस’ नै मान्नुपर्ने हुन्छ । पचासको दशकसम्म कविता लेखिरहेका शिक्षा शास्त्रका यी प्राध्यापकले नेपाली समाज र चरित्रहरुलाई टपक्कै टिपेर व्यंग्यमिश्रित, असन्तोषको तापले भरिपूर्ण एवं उच्च चेतनाले प्रज्वलित कविता लेखे । सबैले सम्झिन्छन् उनलाई, ‘साला पहाड मे क्या है ?’ जस्ता कालजयी र चर्चित कविताको माध्यमबाट । लेख्न पनि बेजोड नै लेखेका थिए, त्यो कविता ।

‘त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो कि धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरु–
‘साला पहाड मे क्या है ?’
हो, केही छैन ‘साला’ पहाडमा
जस्तो,
नवजात शिशु मरेका आमाहरुझैँ
असाध्य पीडामा आँसु बगाइरहेका
नदीका केही मुहानहरु छन्
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी र
केही भ्यागुताहरुको पसल थापेर
कत्ति पनि हलचल नगरी चट्टानझैं जमेका
केही पोखरीहरु छन्
एक्कैसाथ घर रुङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढी छन् ।’

चालीसको दशकमै डा. विष्टले लेखेका कविताका यी हरफहरु आजको पहाडमा झनै सान्दर्भिक लाग्छन् । दिनहुँ हजारौँ नेपाली विदेसतिर उडिरहेका छन् र रित्ता छन् पहाडहरु । हो, घर रुङ्ने र काल कुर्ने वृद्धवृद्धाहरुले मात्रै पहाडको अस्तित्व धानिरहेका छन् ।

नेपाली कविता–लेखनमा डा. विष्टजस्तै केही त्यस्ता प्रतिभा छन्, जसले थोरै लेखे पनि अहिलेसम्म कविता–वृत्तमा उनीहरुको चर्चा÷परिचर्चा चलिरहन्छ । थोरै लेखेर नेपाली काव्य–जगत्मा सधैँ चम्किरहने र पछिल्लो पुस्ताले स्मरण गरिरहने केही नामहरु छन्– कुन्ता शर्मा, युमा, बम देवान, आभास, अरुणा वैद्य, फणीन्द्र नेपाल आदि ।

काठमाडौं, विजेश्वरीकी अरुणा वैद्य सशक्त नारी हस्ताक्षर हुन् । तर, उनले पनि लेख्न छाडेको वर्षौं भइसक्यो । पचासको दशकसम्म उनी लेखनमा सक्रिय नै थिइन् । तर, अचेल भने उनी साहित्य वृत्तमा गुमनामजस्तै छिन् । कुनै समय उनले लेखेकी थिइन्, ‘हत्केला र रेखाहरु’ जस्ता चर्चित कविता । त्यही कविताका केही हरफ–

‘मानिस आफैले झुन्ड्याएर हिँडेको
मानिस जत्तिकै पुरानो
हत्केला र रेखाहरु
खै कसको आविष्कार हो ?
खै कसको रचना हो ?
मलाई त केवल रहस्यजस्तो मात्र लाग्छ
जसले स्पष्ट÷अस्पष्ट जीवनको एक्सरे बताएर
पुस्तौंदेखि मानिसलाई
विश्वासको पेन्डुलममा हल्लाउँदै आएको छ ।’

कुनै बेला, नेपाली साहित्यमा धरानलाई चम्काउने दुई नाम थिए, कुन्ता शर्मा र बम देवान । साहित्य लेखनबाट चर्चाको शिखरमा पुगेका यी दुई प्रतिभाले कालान्तरमा राजनीतिलाई रोजे । शर्मा त सांसदसमेत भइन् भने देवानले पनि धरानको विकासमा जनप्रतिनिधि भएर योगदान गरे । तर, चालीसको दशकमा कुन्ताले निकै जोडदार कविताहरु लेखिन् र जसले कुनै बेला असंख्य चर्चासमेत बटुलेका थिए । उनको ‘पोथी बास्नु हुँदैन’ र ‘नामर्दकी स्वास्नीको गनगन’ जस्ता अहिले पनि चर्चित नै छन् । नेपाली समाजलाई पुरुषवादी वर्चस्वले कतिसम्म थिचेको छ ? भन्ने गहन प्रश्नको जवाफ उनका तिनै कवितामार्फत पाइन्छन् । ‘पोथी बास्नु हुँदैन’ मा कुन्ताले लेखेकी थिइन्,

‘सधैँ सधैँ
घरका धुरीहरुमा
बारका घोचाहरुमा
आँगनहरुमा, बार्दलीहरुमा
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बास्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो
पोथीले मात्र कुरकुराउनु पर्छ
आक्रोशका घुट्का चुपचाप निल्नुपर्छ
अण्डा पार्नु पर्छ
ओथारा बस्नु पर्छ
चल्ला काढ्नु अनि तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन’

अचेल विशाल नेपालको अभियानमा लागेका र भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा गिरफ्तारमा परेका फणीन्द्र नेपाल कुनै बेला जोडदार कविता लेख्ने गर्थे । जुन कुरा पछिल्लो पुस्तालाई सायदै थाहा होला । पचासको मध्य दशकसम्म कविता लेखनमा जमेका नेपालले पछिल्लो समय भने कवितासित सम्बन्धविच्छेद नै गरे । कुनै बेला ‘घडी’ शीर्षकको कवितामा नेपाल यसरी प्रकट भएका थिए,

‘समय हाँकेर रथका चक्रमा
कृष्णको सुदर्शन औँलामा घुमिरहेछ
अपरेसन थियटरमा
तिखो छुराले काटेको होइन
सेकेन्ड मिनेट र घन्टा
घडीका काँटाले प्रत्येक क्षण काटिएका छौं
हामी खण्ड खण्डमा’

पचासको दशकमा निकै नै जमेका थिए, युमा । पोखराका यी कवि विचार र कलालाई अत्यन्तै सन्तुलित रुपमा खेलाउँदै कविता लेख्थे । अत्यन्तै कम लेख्ने युमालाई खोजी–खोजी पढ्ने युवाहरु थिए नै, अघिल्लो पुस्ताका कविहरुका पनि प्रिय थिए उनी । तर, केही उम्दा कविता लेखेर काव्य–वृत्तमा रमाउने उनले कविता लेख्न छाडेको वर्षौं भइसक्यो । अचेल उनी बैंकिङ क्षेत्रमा कार्यरत छन् । उनले कुनै बेला ‘म्युजियम’ शीर्षकको कवितामार्फत् आफूलाई यसरी अभिव्यक्त गरेका थिए,

‘म्युजियममा
संकलित छ
रानीसाहेबका कस्मेटिक्सहरु
राजकुमारीका
सयौं जोर जुत्ताहरु
संकलनमा छैन
रामदुलारीका रित्ता खुट्टाहरु
र, सुखीलाल चौधरीको निधारबाट
बगिरहेको एक एक थोपा पसिना’

नेपाली संगीत क्षेत्रका गम्भीर र वजनदार संगीत सिर्जना गर्ने साधक आभास कवि समेत हुन् । संगीत क्षेत्रमा जम्नुअघि उनी अच्युत फुयालका नामबाट लेख्थे, कविता । बहुदलीय व्यवस्थाको स्थापनापश्चात् उनको ‘भूगोलमाथि उभिएको जैतुन’ नामक कवितासंग्रह प्रकाशित भएको थियो । दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलालाई जैतुनको वृक्षसँग तुलना गरिएको उनको कविता निकै नै चर्चित र प्रशंसितसमेत भएको थियो । तर, अचेल कविता लेखनमा भन्दा संगीत साधनामा नै आभासको मन डोरिएको देखिन्छ । उनको ‘बाँसुरी वादिका’ कविताका केही हरफहरुः

म मेरो बाँसुरी फुकेर
देह शान्त पारिरहिछु
मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर
मलाई मन पर्ने मेरो गीत
मेरो ओठसम्म चुम्न आइरहेछ

म मेरो बाँसुरी फुकेर
दुःख र पीर पोखिरहिछु
मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर
मेरो खुसी
मेरो ओठसम्म चुम्न आइरहेछ

म मेरो बाँसुरी फुकेर
पर्खाल लगलग कँपाइरहिछु
मेरो बाँसुरीको स्वरसँगै पीङ खेलेर
एउटा नवजवान योद्धा
मतिर आइरहेछ
ऊ मेरो ओठ चुम्नभन्दा
पर्खाल चिरा चिरा पार्न चाहिरहेछ
यसमा म छक्क परेकी छैनँ
म जे खोज्दै छु
ऊ त्यही गरिरहेछ

पूरा आकाश प्रतिध्वनित हुने गरी
म मेरो बाँसुरी फुकेर
देह शान्त पारिरहिछु ।

14 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार