Presidential

केही लघुकथा

डा. रवीन्द्र समीर

माटोको माया

‘बुवा कति वर्ष पुग्नुभयो ?’
डा.शर्मालाई उनले जवाफ दिए– ‘नब्बे सालको भुइँचालो जाँदा म आधा बीसको थिएँ ।’
डा.शर्माले जाँच गरे । उनका पुराना रिपोर्टहरु हेरे । उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको समस्या रहेछ ।

‘बुवाको घर कहाँ होला ?’

उनले भने– ‘टाढा छ । पश्चिम पहाड हो ।’

उनको छोराले थप्यो –‘यहीँ काठमान्डूमा घर छ । बुवालाई सँगै बसौं भन्दा मान्ने होइन ।’

डा.शर्माले भने – ‘बुवा, तपाईंलाई धेरै रोग छन् । पटकपटक जाँच गराइरहनु पर्दछ । अब छोरासँग यतै बस्नु राम्रो हुन्छ । यो उमेरमा कुनै जिम्मेवारी र चिन्ता लिनु हुँदैन ।’

उनले भने – ‘यहाँ उनीहरु एकअर्कालाई माया गर्छन्, स्याहार गर्छन् । म यहाँ बसें भने भंैसीलाई कसले घाँस हाल्छ ? कुकुर र बिरालोलाई कसले खुवाउँछ ? घरमा आउने चरालाई कसले अन्नका गेडा दिन्छ ? त्यो ठुटो र त्यो बुटोको एेंजेरु कसले सफा गर्छ ? पुर्खौली घरको लिपपोत कसले गर्छ ? हाम्रो घरमा आफ्नो घर बनाएका गौंथलीसँग कसले कुरा गर्छ ? यिनीहरु पो आकासबाट खसेका हुन्, त्यसैले गाउँ बिर्से । म त त्यही माटोमा जन्मेको, त्यही बाटोमा हिँडेको, त्यही पाटोको अन्न खाएर बाँचेको मान्छे हुँ ।’

 

जाडोको लुगा

…पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो….। रिठ्ठेले पटुकाको फेरोमा बाँधेको पैसा छाम्दै–छाम्दै बजारतिर लाग्यो ।

‘….यसको मूल्य अठार हजार , यसको बाह्र हजार , यो पातलोचाहिँको आठ हजार, यो स्वीटरको चार हजार….।’ रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।

….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ, यो तरल गलबन्दीको दस रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनु परेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशानशामा ज्याकेट, स्वीटर, गलबन्दी….बोकेर घर फर्कियो ।

 

आन्द्रामा घाउ

एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे, ‘के हुन्छ बा तपाईंलाई ?’
चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए, ‘आन्द्रामा घाउ भएको छ ।’

‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ भनेर ?’ त्यसपछि चिकित्सक चर्को स्वरमा बोले, ‘आजभोलि कस्ताकस्ता बिरामी आउँछन् भने, आफ्नो रोगको डाइग्नोसिस आफैं गर्छन् ।’

वृद्धले डराएको स्वरमा भने, ‘पेट पोल्छ, केही खायो भने चहराउँछ, दिसा पनि रगत पचेर होला कालो आउँछ । घाउ नभई कसरी रगत आउँथ्यो र ?’

त्यसपछि चिकित्सकले रगत, दिसा, पिसाब, पेटको अल्ट्रासाउन्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी गरेर रिपोर्ट ल्याउनू भने ।

उनले अनिच्छापूर्वक सबै जाँच गरे । अलिकति कुट्की, पाषाणभेद र पाँचऔंले बेचेको पैसा जाँचपडतालमै सकियो ।

अर्को दिन उनी रिपोर्ट बोकेर डाक्टरलाई भेट्न गए । अस्पतालमा झन्डै एक दर्जन सेतो कोट लगाएका सिकारूलाई उनले रिपोर्टबारे बताए । ‘ओकल्ट ब्लड पोजिटिभ छ, इन्डोस्कोपी गर्दा आन्द्रामा घाउ देखिएको छ । अरू सबै रिपोर्ट नर्मल छ ।’
उनीहरूले वृद्धलाई भने, ‘बाजे, तपाईंको आन्द्रामा घाउ भएको छ, अरू केही रोग देखिएन ।’

वृद्धले भने, ‘मैले सुरूमै आन्द्रामा घाउ भएको छ भनेको थिएँ । बेकारमा अनेक जाँच गरेर मेरो पैसा सत्यनास पारिदिए । त्यही बेला घाउ सुक्ने औषधि लेखिदिएको भए म अहिले बेखर्ची त हुने थिइनँ !’

 

दिग्भ्रम

ऊ आफ्नो निद्रा सुत्दैन । स्लिपिङ ट्याबलेटमा निद्रा किनेर सुत्दछ अनि अलार्मको आदेश बमोजिम ब्यूँझिन्छ । उसले आहार मात्र होइन, खाना रुच्ने औषधिको नाममा भोक किन्छ र पाचक खाएर खाना पचाउँछ । उसले पालिस लगाएको चामल, रासायनिक मल र कीटनाशक औषधिले हुर्केका तरकारी, हलक्क बढ्ने हर्मोनको सुई लगाएको कुखुरा, जुत्ता टल्काउने रसायनले टिलिक्क टल्काएका तथा रातारात ज्यानमारा रसायनले पकाएका फलफूल, रङमा घोलेको दाल, कारखानाको दूध आदि खान्छ र ’डाइट’ खाएको भ्रममा पर्दछ । एक टुक्रा मास्क किनेर उसले प्रदूषणसँग लड्न दीर्घायु किनेको सपना देख्छ ।

घामको ताप र हावाको स्पर्शलाई पङ्खा र हिटरसँग साट्दछ । बोसो घटाउन ऊ विहान एक घण्टा मेसिनमा दौडिन्छ तर कुनै देउरालीमा पुग्दैन । विहान एक मुठी र बेलुका एक मुठी राता, नीला, सेता, पहेँला, काला तथा मिश्रति रङ र रूपका चक्की र क्याप्सुलको ब्रेकफास्ट र डिनर गर्दछ अनि अरूलाई स्वस्थ रहन ’यो खानु’, ’त्यो नखानु’ भनेर उपदेश दिन्छ ।

बाटो, पत्रिका तथा टेलिभिजनमा देखिने तरुनीहरूको राप र ताप मेट्न उसले शिलाजित र भियग्राका संस्करणमा यौन किन्छ । त्यति मात्र होइन, इसाबगोलको भुषि विना ऊ शौचालय जान सक्दैन । पाखण्डी र शिखण्डीहरूको प्रवचन र भाषणमार्फत् विचार खरिद गर्दछ । अनि दिनभर ऊ ’भोक, निद्रा, यौन, विचार आदि मान्छेका प्राकृतिक, जन्मसिद्ध तथा नैसर्गिक अधिकार हुन्’ भनेर पण्डित्याइँ छाँट्दछ ।

 

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार