Presidential

राम विनयका दुई कथा


 

सालिकको आक्रोश

उसको नाम जवाहर सञ्जेल हो । देशमा ठूलो आन्दोलनपछि लोकतन्त्र आयो । गणतन्त्र आयो । राजतन्त्रको प्रमुख राजा दरबारबाट बाहिरिए । जवाहरलाई भने गणतन्त्र आएको र राजतन्त्र गएको कत्ति पनि मन परेको थिएन । एक पटक त ऊ राजालाई बाटोमा रोक्नसम्म दगु¥यो । प्रहरीले रोकेर मात्र नत्र गाडीको अगाडि लम्पसार पर्ने उसको सुर थियो । तर, उसको केही लागेन । राजाकै गाडी दरबारबाट बिस्तारै–बिस्तारै निस्केर गयो । ऊ ट्वाल्ल परेर हेरिरह्यो । गणतन्त्र ल्याउनेहरुलाई सत्तोसराप गरिरह्यो । मुर्मुरिएर यताउता डुलिरह्यो । उसले राजा÷महाराजाहरुलाई खुब सम्झियो । जिन्दगीभर तिनीहरुको गुणगान गर्ने, इज्जत गर्ने, चाकरी गर्ने र थुप्रै अवसर प्राप्त गरेर सुखसयल गर्ने र अरुलाई हप्कीदप्की गर्ने र दबाउने गथ्र्यो । उसको सोचाइ र चरित्र देखेर उसलाई देख्ने, चिन्ने, सबै मानिसले उसलाई घृणा गर्थे, थुक्थे । गणतन्त्र आएपछि उसलाई गाली गर्नु पर्ने आवश्यकता रहेन । सबै आ–आफ्नै सुरमा लागे, काममा लागे, ठाउँमा लागे । जवाहरलाई भने चुप लागेर बस्न मन लागेन । उसले अब त केही गर्नु प¥यो भनेर सोच्यो । सोचेर सडक छेउ, गल्ली, चोक–चोकमा डुल्यो । ठाउँ–ठाउँमा घुम्यो । कताकता राजा÷महाराजाहरुको सालिक छ भनेर पत्ता लगायो । गणतन्त्र अगाडि उसले राजा÷महाराजाहरुको खुब चाकरी बजाउँथ्यो । कुरामा चिल्लो घस्थ्यो । काममा पनि खुब चिल्लो घस्थ्यो ।

बाटोमा हिँड्दाहिँड्दै उसले राजाको सालिक देख्यो, खुब गमेर उसले सालिकलाई नियाल्यो । नियालेपछि उसमा एउटा विचार फु¥यो, “राजा जिउँदा नभए पनि सालिक त छ । श्रीपेच पहिरिएको सालिक । यही सालिकमा चिल्लो घसिदिऔँ, टल्काइ दिऔँ, चम्काइ दिऔँ ।” उसले यताउता हे¥यो, कसैलाई देखेन । उसका आँखा अगाडि त्यो राजाको सालिक मात्र थियो । त्यसैलाई गहिरिएर हेरिरह्यो । “जिन्दगीभर उसैको नुन खाएकै हो क्यारे ! नुनको सोझो पनि गर्नुप¥यो नि त ! नुनको सोझो गरेर काम गर्दा के पाप लाग्ला र ?’

‘प्रभु’ ऊ भुइँमा पछारिएपछि वरपर छिमेकमा हल्लाखल्ला मच्चियो । वरपरबाट थुप्रै मानिसहरु त्यहाँ जम्मा भए । मानिसको हुल देखेर ऊ छक्क प¥यो । उसले मनमनै भन्यो, “नगर्नु पर्ने काम पो गरेछु । आफ्नो भाग्य नै यस्तो भएपछि के गर्नू ! भाग्यलाई मात्र के दोष दिनू ! म आफैँ यस्तो !” लडिरहेको ठाउँबाट सबैले उसलाई बिस्तारै उठायो । ऊ बिस्तारै उठ्यो । अलिअलि घाउ चोट लागेको रहेछ । सबै मिलेर उसलाई उपचार गर्न लगे । उपचारमा जानुअघि उसले आफूले चिल्लो घसेको सालिकतिर हेरेर पिच्च थुक्यो । सालिक एकनासले उभिएको सबैले देखे ।

भियतकङको खोजी

पहाडी डाँडामुनिको नदीको किनारमा समतल फाँट छ । त्यहाँ एउटा गाउँ छ । गाउँको छेउ र नदीको किनारनिर एउटा सानो झुपडी छ । झुपडीमा दुई दिदीबहिनीको बास छ अर्थात् पसल छ । नदी एकनासले बगिरहेको छ । सुनसान चकमन्न रात छ । रातको करिब ११ बजेको हुनुपर्छ । मुक्तिसेनाको लुगा सिइरहेकी सासाचु एकनासले लुगा सिउने कल चलाइरहेकी छे । चौतर्फी हरियाली प्रकृति मौनतामा डुबेको जुनेली रात छ । चुचु निदाइरहेकी छे । दिनभरिको कामको थकाइले सासाचुलाई निन्द्रा लाग्दैन । अझै निन्द्रा लाग्दैन । एकनासले उसको कलमा खुट्टा चलिरहन्छ । सुनसान रातको धमिलो बत्तीको प्रकाशमा भाइहरुको बिजोग झलमल्ल देख्छे । त्यसलाई सहन नसकेर झन् छिटो–छिटो लुगा सिउँदैछे ।

सासाचुको मनमा तर्कना उठ्छ, “कति दुस्मनलाई बोकेर आइ राखेका होलान् जहाजहरु सैगनमा ।” घृणित कुकर्मबाट उब्जेको तर्कनाले ऊ जागा हुन्छे । एकाग्र भएर एकोहोरो तर्कना गर्दै एक तमाससँग मेसिनमा खुट्टा र हात खेलाइ रहन्छे । “हँ, हँ भियतकङको नै सम्झनामा छौ होइन ? यति अबेरसम्म जागा बसिरहेकी, लुगा सिइरहेकी ? वर्षभरिको सबैभन्दा ठुलो चाड आइरहेछ । भाइबहिनीहरुका लागि लुगा सिइरहेकी नि ।’ “ती कहाँ बस्छन् ? हामीलाई ठिक ठिक कुरा भन ।” अम्रिकन फेरि गर्जिन्छ । “ती कुरा त मलाई थाहा छैन, मेरा भाइहरु भने दिनभरि खेतमा काम गर्छन् र अहिले त निदाइ सके होलान् । म तपाईंहरुलाई उनीहरुसित भोलि भेट गराइ दिउँला हुँदैन ?’

सायद उनीहरुलाई थाहा होला, भियतकङ कहाँ छन् ? भट्टी पसलेको काम गर्दा उनले धेरै रहस्यमय कुरा पत्ता लगाउने मौका पाएकी थिई । एक छिनको मौनतापछि केही शान्त स्वरमा एउटा सिपाही भन्छ, “हँ बहिनी ! हामी भियतकङको खोजीमा हिँडेका । अहिले भर्खर क्याम्पबाट आएका हौँ । ती दुष्टहरुले तिम्रो पसलमा पनि हमला गरेर नास गर्न लागे होलान् भनेर रक्षा गर्न हामी यहाँ आएका !” कुरो यसरी नै चलिरह्यो ।

अमेरिकी कमान्डर माझमा र दुईतिर उसका सिपाही बसिरहेका थिए । उनीहरुले सासाचुले तयार पारेको खाना खान र रक्सी पिउन थाले । रक्सीको घुटको लगाउँदै अम्रिकन बोल्छ‚ “ओहो, तिमी त साह्रैसाह्रै जाति बहिनी रहिछौ ।” मिठो रक्सीको स्वाद र सासाचुको विनम्र बोलीले दुई जना सिपाही पनि खुसीले फुरूक्क हुँदै भन्छन्, “ओ, बहिनी आहा ! क्या मिठो खाना ख्यायौ । धेरै राम्रो धेरै राम्रो !” भन्दै सबै मुस्काइ रहेका हुन्छन् । सासाचु कहिले भित्र, कहिले बाहिर अनि कहिले लुगा सिउने कलतिर जान्छे । कहिले उनीहरुलाई खाना थप्नेतिर । सासाचुको पसल असाध्यै राम्रो छ । ह्विस्की, ब्रान्डी, बियर र यस्तै मादक पदार्थ र थुप्रै पेय पदार्थका बोतल आल्मारीमा सजाएर राखेको देखिन्छ । आज पाहुनाको सत्कारका लागि उसले पाँच बोतल खर्च गरी । अनि, त्यस्तै मिठामिठा अम्रिकनलाई मन पर्ने खाना । कमान्डर र एउटा सिपाहीलाई रक्सीले लठ्ठ पा¥यो र गाउन÷बर्बराउन थाल्यो, “ओ मेरो प्यारी राम्री केटी ! तिमी साह्रै साह्रै सुन्दरी छेउ । हामीले तिमीसित आनन्द पायौँ । कृपया ! हाम्रो कुरामा पनि ख्याल गरि देऊ ।” यति भन्न नपाउँदै ऊ भुइँमा लड्छ । एउटा सिपाहीलाई रक्सी पुगेनछ, सोध्यो, “ओ बहिनी ! आल्मारीका तीन वटा बोतल पनि दिए पैसा नै तिर्ने थियौँ, कसो हुन्छ ? पिउनुप¥यो । अलि पुगेन ।”

सासाचुले सहर्ष स्वीकार गर्दै सहमति जनाउँदै भन्छे, “हुन्छ, हुन्छ । खानूस्, पिउनूस् । पैसा तिर्नु पर्दैन । आज तपाईँहरु मेरो घरको पाहुना ।” रक्सीले चूर भएर तीनै जना सशस्त्र सैनिक निःशस्त्र भएर बसेको ठाउँमा बस्न नसकी मत्तु भएर लडिरहन्छन् । सासाचु स्थितिको पूर्ण जानकारीका साथ चुचु सुतिरहेको ओछ्यानमा दौडेर पुग्छे र चुचुलाई झक्झक्याएर निन्द्राबाट ब्युँझाउँदै भन्छे, “चुचुउठ उठ !” चुचु बिस्तारै ब्युँझेपछि सासाचुले सानो स्वरले कानमा खुसखुस गरेर बोलाउँछे‚ “उठ उठ, छिटो छिटो डुंगा नजिक लिएर आऊ । आज तीन जना दुस्मन कैदी…. ।” चुचु आँखा मिच्दै उठ्छे । यसो यताउता हेर्छे । तीन जना सिपाही लडिरहेका । चुचु दगुरेर नदीको डुङ्गा किनारमा ल्याउँछे । बहाना समेत सब ठिक पार्छे । गोरा साहेब अङ्ग्रेजीमा बर्बराइरहन्छ एकनासले । भन्छ, “ओ सुन्दरी महिला ! म भियतकङको खोजीमा छु । ओ सुन्दरी ! तिमीलाई कस्तो छ ? म तिमीसित रमाउँछु । तर, भन भियतकङहरु कहाँ छन् ? भियतकङ कहाँ छन् ? भियतकङ खोज्दाखोज्दा म त थाकी हैरान भएँ । ओ मेरी…।”

“पाहुना दाइहरु ! रात निकै ढल्किसक्यो, अबेर भयो । अब ओछ्यानमा सुत्नूस्, ओछ्यान तयार छ ।” दुई जना दिदीबहिनी मिलेर तिनीहरुलाई नदी किनारमा रहेको डुङ्गामा लगाएको ओछ्यानमा सुताउन लग्छन् । सासाचुले बहिनीलाई झुपडी कुर्न लगाएर नाउको बहाना हातमा लिएर बस्छे । रात सुनसान छ । जून डाँडातिर ओरालो लागेको छ । कत्ति पनि आवाज नगरी नदी एकनासले बगिरहेको छ । प्राकृतिक वातावरण एकदम शान्त छ । तीनैजना ‘साहेब’हरु मस्त निन्द्रामा ओछ्यानमा पल्टिरहेछन् । सासाचुले डुङ्गा चलाउन थाली । नाउ गन्तव्य स्थलतिर सलल बहन थाल्यो । सासाचु मनमनै सोच्छे, “मेरा प्यारा भाइहरु हो ! तिमीहरुका लागि उपहार लिएर आइरहेकी छु । तीन जना दुस्मन, तीनओटा राइफल र एउटा हल्का मेसिनगन !”

सासाचुले रातारात नाउ पार गरी लगी । भियतकङको खोजीमा हिँडेका यी सैनिकहरु मुक्ति सेनाको क्याम्पमा आइ पुगिएछ भन्ने कुरा भोलिपल्ट बिहान ब्युँझेपछि थाहा पाउँछन् । सासाचुले आफ्नो काम, कर्तव्य पूरा गरी । क्याम्पका भाइहरुले सासाचुको साहसिक कार्यको उच्च प्रशंसा गरेर बधाइका साथ धन्यवाद दिए । कमान्डर बर्बराइरहेको थियो । “म भियतकङको खोजीमा थिएँ र म तिनीहरुलाई नियन्त्रण गर्न चाहन्थँे । तर, तिनीहरुले मलाई नियन्त्रण गरे ।

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार