Presidential

संघर्षशील महिला गाथा


एउटा प्रवृत्ति नै मान्नुपर्छ, राष्ट्रिय स्तरमा ख्याति कमाएका महिलाहरू नै सञ्चारमाध्यमदेखि अरू माध्यमहरूका आँखामा पर्ने गर्दछ । तिनै महिलाहरू चर्चाको शिखरमा उक्लिन्छन्÷उकालिन्छन् । तर, ग्रामीण तहमा रहेर संघर्ष गरेकी, स्थानीय समस्या र मुद्दाहरू उठाएर समाजलाई उज्याला गोरेटातिर दौडाउन मद्दत पु¥याएकी र समाजको नजरमा स्थापित महिलाहरूको भने कमै चर्चा हुने गरेको छ ।

ईश्वरादेवी थापा एउटी त्यस्ती महिला हुन्, जसले गुल्मीको ग्रामीण समाजमा रहेर सामाजिक सक्रियता मात्र देखाइनन्, एउटा संघर्षशील महिलाको छवि बनाउन सफल भइन् । जिल्लाको राजनीतिक गतिविधि र आन्दोलनहरूमा सहभागी भएकी थापाले सानै उमेरदेखि संघर्षको स्वाद चाख्न पाइन् । ‘सम्झनाहरूमा ईश्वरादेवी’ तिनै समाजसेवी, राजनीतिकर्मी र संघर्षको पर्याय बनेकी एउटी महिलाको जीवनगाथा हो, जसको भौतिक अस्तित्व एक वर्षअघि नै पञ्चत्वमा विलीन भइसकेको छ । तर, जीवनभर गुल्मीको राजनीति र सामाजिक कार्यहरूमा उनले पु¥याएको योगदानलाई परिवारका सदस्यहरू, आफन्त, इष्टमित्र र उनको योगदानलाई नजिकबाट चिन्नेहरूले सोही स्मृतिग्रन्थमार्फत सम्झिन चाहेका छन् ।

ईश्वरादेवीको राजनीतिक यात्रा २०१५ सालबाट नै सुरु भएको थियो । सोही वर्ष देशमा सम्पन्न संसदीय निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार काशीनाथ गौतमलाई सघाएकी थिइन् । त्यसो त ११ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी ईश्वरादेवीले राजनीतिमा सक्रिय पाइला चाल्ने बेलासम्म आफ्ना पति गुमाएर विधवा बनिसकेकी थिइन् । तर, पहिलो संसदीय निर्वाचनपछि उनले गुल्मी र पाल्पामा राजनीतिक एवं सामाजिक कार्यहरूमा सक्रियता देखाइन् ।

०१७ सालमा निर्दलीय पञ्चायती व्यवस्था लागू भएपछि राजनीतिक घटनाक्रम उतारचढावमय रह्यो । ०१८ सालमा त उनलाई पाल्पाबाट गिरफ्तारी गरियो र तानसेन तम्घासको कारागारमा राखियो । बालकमै विधवा हुन पुगे पनि राजनीतिमा चासो राख्ने उनले ०२३ सालमा भने केशरबहादुर थापासँग पुनः विवाह गरिन् । त्यसपछि भने पञ्चायतको राजनीतिमा उनको सक्रियता बढ्न पुग्यो । सोही क्रममा गुल्मीको बाल संगठन, महिला संगठन हुँदै जिल्ला पञ्चायतको सदस्यमा समेत मनोनीत हुन पुगिन् ।

महिला संगठनको केन्द्रीय तहसम्मको जिम्मेवारी पाए पनि घरायसी व्यस्तता र ढल्कँदो उमेरका कारण ०४६ सालदेखि भने उनले सक्रिय राजनीति त्यागिन् । तर, उनले जिल्ला तहमा रहेर गरेका सामाजिक, राजनीतिक गतिविधिलाई भने अहिले पनि धेरैले स्मरण गर्छन् । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले उनलाई सम्झिँदै लेखेका छन्, ‘एघार वर्षे उमेरमै विवाह भएको रहेछ उहाँको, तर एक वर्षपछि नै उहाँका राता लुगा र सिन्दूर खोसिएका रहेछन् । कस्तो वेदनामय थियो उहाँको जीवन । तर, उहाँ महिला समाजमा उत्साह र जाँगरमा कहलिनुभएको थियो । उहाँलाई भेट्न उहाँकी वृद्ध आमा आउनुहुन्थ्यो कहिलेकाहीँ । छोरीको वैधव्य र राजनीतिक उत्साह दुवै कुराको चिन्ता र सन्तोष देखिन्थ्यो उहाँमा । तर, ईश्वरा दिदीमा वैधव्यको खास चिन्ता देखिन्नथ्यो । उहाँ कहिले निर्धाहरूको पक्षमा अदालतमा गएर पनि कराउनुहुन्थ्यो ।’

गुल्मी जिल्ला र त्यस भेगको सामाजिक, राजनीतिक कार्यमा सक्रिय र निडर नेतृको चिनारी बनाएकी ईश्वरादेवीले आफ्नो समयमा समाज, राष्ट्र र जनपंक्तिमा पु¥याउनुभएको योगदानबारे उनलाई चिन्ने धेरै आफन्त, नातागोता र शुभचिन्तकहरूले आ–आफ्नो संस्मरण पस्किएका छन् । राजनीतिककर्मी प्रदीप ज्ञवालीले उनलाई यसरी सम्झिएका छन्, ‘धेरै कुरा छन्, उहाँको जीवनबाट सिक्नुपर्ने, उहाँबाट प्रेरणा लिनुपर्ने र उहाँलाई पछ्याउनुपर्ने । उहाँको जीवन साधारण महिलाको असाधारण संघर्षको पठनीय किताबसरह हो ।’

ईश्वरादेवीको जेठी छोरी मञ्जु थापा र ज्वाइँ जयदेव गौतमको पहलमा यो किताब बाहिर आएको छ । अरूभन्दा पनि यो किताबले नेपाली समाजभित्र यस्ती महिलाहरू पनि छन्, जसका उज्याला पक्षहरूबारे अझै लेखिन बाँकी छ र लेखिनुपर्छ भन्ने राम्रो सन्देश पस्किएको छ ।

कृतिः सम्झनाहरूमा ईश्वरादेवी
विधाः स्मृतिग्रन्थ
सम्पादकः जयदेव गौतम
प्रकाशकः मञ्जु थापा÷रमा थापा
पृष्ठः २७६

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

    
        Loading...     
    

अन्तरवार्ता

समाचार