Presidential

नेपाली कविताको वैचारिक परिप्रेक्ष्य

डा. अमर गिरीको कविता लेखन धेरै नै तिख्खर छ । समकालीन प्रगतिशील कविहरूका लहरमा अघिल्लो पंक्तिमै देखिने गिरीले सरल, सरस र सम्प्रेषणीय कविता लेखनमा जति उचाइँ लिएका छन्, कवितासम्बन्धी गहन समालोचना, टिप्पणी लेख्ने कार्यमा पनि उनको उत्तिकै दखल रहँदै आएको छ । चारवटा कविता–कृति नेपाली काव्य जगत्लाई सुम्पिसकेका गिरीले कविताकै विषयमा विद्यावारिधि उपाधिसमेत हासिल गरिसकेका छन् । तिनै कवि÷समालोचक गिरीको समालोचनाको पुस्तक ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ अहिले बजारमा आएको छ । र, कवितासम्बन्धी वैचारिक बहस, संवाद चलाउन चाहने र कविताबारे आफ्नो दृष्टिकोण निर्माण गर्न चाहनेहरूका लागि एउटा गहन वैचारिक कृतिसमेत बन्न पुगेको छ, उक्त कृति ।

पछिल्लो समय, आख्यानले कवितालाई थिच्दै गइरहेको र कविता आफ्नो अस्तित्व जोगाउने अभियानमा सक्रिय रहेको कुरा साहित्य वृत्तमा उठ्दै आइरहेको छ । कविताप्रति आम पाठकको रुचि कम हुँदै गएको हो कि भन्ने अनुमान कविताका कृतिहरू सबैजसो प्रकाशन संस्थाहरूले छाप्नुमा अरुचि दर्साउनुले नै पनि केही हदसम्म पुष्टि गर्दछ । तर, गिरीले भने कवितालाई ‘एक विशिष्ट दर्पण, एक विस्मयकारी गतिशीलता र कहिल्यै नसकिने ऊर्जाको अक्षय स्रोत’ रूपमा परिभाषित गर्दै कविताको शक्ति आजपर्यन्त रहेको टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘कविता अहिले पनि आममानिससँग सबैभन्दा निकट छ । कविताका कृतिहरू नै सबैभन्दा बढी प्रकाशित छन् । कविताका कार्यक्रम नै सबैभन्दा बढी हुन्छन् । चर्चा परिचर्चा पनि यसका विषयमा नै बढी हुन्छन् ।’

बहसका लागि उनको ‘समकालीन नेपाली कविता’ शीर्षकको लेख रहेको छ । समकालीन नेपाली कविताको स्वर के हो ? यस विषयमा धेरै बहस, विचार–विमर्शहरू भएका छन् । सबैका आ–आफ्नै अडान छन् । तर, गिरीले भने समकालीन नेपाली कविताको मुख्य स्वर र प्रवृत्ति समकालीनताप्रति आलोचनात्मक हस्तक्षेप र परिवर्तनको स्वप्नलाई मानेका छन् । उनको तर्क छ, ‘उत्तरआधुनिकतावादी बहुलवादी स्वर न त आजको प्रतिनिधि स्वर हो न त भोलि नै प्रतिनिधि स्वर बन्ने सम्भावना छ । निःसन्देह उत्तरआधुनिकतावादी बहुलवादी स्वरको अभिव्यक्ति भएको तथ्यलाई अस्वीकार गर्न सकिन्न, तर यसलाई जुन रूपमा उल्लेख गरिन्छ, त्यो पनि यथार्थ होइन ।’

सो कृतिका अरू समालोचकीय लेखहरूमा नयाँ सन्दर्भमा साहित्य, समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना, समकालीन नेपाली कवितामा राष्ट्रिय स्वाधीनता, समसामयिक कवितामा अभिव्यञ्जित लोकतान्त्रिक स्वर आ–आ्फ्नो धरातलमा जमेका छन् । यी बाहेक नेपाली प्रगतिशील काव्यधाराका दुई नायकहरू युद्धप्रसाद मिश्र र केवलपुरे किसानका काव्यप्रवृत्ति केलाउन पनि समालोचक गिरीले चासो दिएका छन् । मिश्रलाई आस्था र आदर्शको प्रतीक पुरुषका रूपमा उभ्याउँदै गिरीले लेखेका छन्, ‘प्रगतिवादी शिविरमा आफ्नो बाहेक अरूको मूल्यांकन नगर्ने, गरे असाध्यै फारोतिनो गरेर गर्ने वा आलोचनाको सिस्नो लगाएर सन्तोष गर्नेजस्ता गम्भीर समस्याहरू छन् । यसको पीडा पनि हामीले खप्दै आएका छौं । मिश्रमा पनि यसको छाया परेको देखिन्छ । यद्यपि, प्रगतिवादी शिविरले नै मिश्रको सबैभन्दा बढी र उपयुक्त मूल्यांकन गरेको छ र यो यसको दायित्व पनि हो, तर यसले अझै पनि एउटा प्रगतिवादी स्रष्टालाई सबैभन्दा पहिले कुन पार्टीको हो भनेर हेर्न छाडेको छैन ।’

मूलतः गिरीको यो समालोचना–कृतिले कवितामा विचारशून्यताको पक्ष लिनेहरूले एकपटक अध्ययन गर्नैपर्ने त छ नै, आफूलाई प्रगतिशील लेखक हुँ भनेर डिङ हाँक्नेहरूले पनि अध्ययन गरे घैंटामा घाम लाग्ने देखिन्छ ।

13 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार