Presidential

बुद्ध साय्मिका दुई कविता

नेपाल भाषाका प्रसिद्ध कवि एवं पूर्वसांसद बुद्धरत्न मानन्धर (बुद्ध साय्मि) को यही पुस १० गते निधन भयो । बीसको दशकदेखि नै नेपाल भाषामा कविता लेख्दै आउनुभएका साय्मिको ७३ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनपछि पार्थिक शरीरलाई स्वतन्त्रताको प्रतीकको रुपमा चिनिने भूगोलपार्कमा अन्तिम श्रद्धा–सुमन अर्पण गर्न राखिएको थियो ।
साय्मिको नेपाल भाषामा प्रकाशित कविताकृति ‘जि जिगु वर्तमान’ धेरै नै प्रख्यात मानिन्छ । साहित्य लेखनबाहेक सामाजिक र राजनीतिक गतिविधिमा समेत जीवनभरि संलग्न रहनुभएका साय्मि पहिलो संविधानसभाको निर्वाचनमा नेपाः राष्ट्रिय पार्टीबाट सभासद् चयन हुनुभएको थियो । दिवंगत साय्मिप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दै उहाँका दुई चर्चित कविता प्रस्तुत गरिएको छ ।

म टेबहालको बच्चा

म टेबहालको बच्चा
म नेपालको बच्चा
कसले ममतावस अँगालो हाल्न सक्छ
म त्यो आमाको बच्चा
ए, गौतम बुद्ध
शान्तिको स्तोत्र बाँचेर
चेस्टा नगर मलाई फर्काउन
समाति हिँड्न तिम्रो भिक्षा–पात्र
कसरी ढुसी पर्न दिउँ मैले
माटोसित खेल्नुपर्ने यो हातमा
म ज्यामीको बच्चा
म ज्यापुको बच्चा
म टेबहालको बच्चा

जुत्ताको तलुवा र माथिल्लो पाता जोड्दै
मैले आफ्नो दिन गुजारा गरिरहेको छु
निभ्न लागेको आगो फुक्दै
कागजमा कलमले होइन
कपडामा सियोले कविता लेख्ने काम
टेबुलमाथि फाइल प्रदर्शन गरी
बिहान–बेलुकालाई
उसिना चामल केलाउने काम
हो, म सूचिकारको बच्चा
हो, म कारिन्दाको बच्चा
म टेबहालको बच्चा

ए गान्धी, ए क्राइस्ट, ए बुद्ध
तिमीहरुलाई मात्र होइन मलाई पनि मन पर्दैन युद्ध
पोको पार तिमीहरुले आ–आफ्नो कथा
ए, गान्धी, तिमी आफ्नै चर्खामा लीन भयौ
क्राइस्ट, तिम्रो शान्ति क्रसमै अड्कियो
बुद्ध, तिम्रो अहिंसाले मेरो गर्दन सेरियो
गंगा, दशरथको रगत पोखिएको छ भन्दैमा
काँतरपना किन यी पाइलाहरुमा ?
ए आँखाहरु, एकचोटी राम्ररी हेर
रगत पनि त एउटा रातो टीका हो

यहाँ दिनदिनै सूर्य उदाउँछ मुस्कुराउँदै
आफ्नो तातो, रातो रगत छर्केर
देखाउन यहाँ एक एक अनुहार खोलेर
आफ्नै हातसित भाग्ने बच्चा
हो म मगन्तेको बच्चा
कसैसित होइन आफ्नै हातसित भाग्ने बच्चा
म टेबहालको बच्चा
म नेपालको बच्चा

को आफूलाई प्रदर्शन गर्दैन अनुहारमा रङ पोतेर

आगो दन्केको छ छैन
आगो बलेको छ छैन
त्यसको सन्निकटको बतासले भन्छ
आफूलाई जोख्न उसले
तराजु खोज्ने गर्दैन
कसैको ढोका कुरेर
आगोले आफू बाँचेको प्रमाण माग्ने गर्दैन
उसले बुझेको छ
आफू बाँचिरहन्छ
जबसम्म आफूलाई थाप्न सकिन्छ

पसल पसलमा गएर
आगोले आफ्नो रङ्ग खोज्ने गर्दैन
किन्ने गर्दैन
बरु सासैपिच्छे
आफ्नो मुटु फर्काइ देखाउँछ
बोलाउँदै नबोलाइकन
सुतिरहेकाहरुलाई
उसले जुरुक्क उठाउने गर्छ

9 पटक पढिएको

    
        Loading...     
    

प्रतिक्रिया दिनुहोस

सम्बन्धित साहित्य

        
            Loading...     
        

    अन्तरवार्ता

    समाचार