अंक बढाउन विद्यार्थीमाथि ज्यानै लिनेसम्मका ज्यादती, यस्ता छन् यातनाका श्रृंखला


काठमाडौं, २६ फागुन । जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन् ।

कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् । यातनाकै कारण विद्यार्थीले आत्महत्या समेत रोजेका छन् ।

कानुनले विद्यार्थीमाथि कुटपिट र यातनालाई फौजदारी अपराध मानेको छ । तर, यातनामा संलग्न शिक्षकलाई सामान्य दण्डसम्म दिइए पनि विद्यालयलाई उन्मुक्ति दिने गरिएको छ । त्यसैले विद्यालयभित्रै विद्यार्थीमाथि वर्षमा यातनाका दर्जनौँ घटना बढेका छन् ।

पछिल्लो पटक शनिबार जडीबुटीस्थित जागृति विद्यालयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छिन् । उनले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले थुनामा राखेर मुद्दा चलाउने तयारी गरिरहेको छ ।

दुई महिनाअघि मात्र रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारस्थित ज्ञानदीप बोर्डिङ स्कुलका विद्यार्थी मोहम्मद देवानले पनि गम्भीर चोट लाग्ने गरी शिक्षकको कुटाई खाए ।

१७ पुसमा शिक्षक शैलेन्द्र बराईले लट्ठीले हान्दा देवानको आँखामुनि गम्भीर चोट लागेको थियो । २१ पुसमा शिक्षक बराईलाई मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा चलायो । तर, उनी अदालतबाट ७५ हजार रुपैयाँ धरौटीमा छुटे भने स्कुललाई कुनै कारबाही भएन । बराई अहिले पनि सोही स्कुलमा पढाइरहेका छन् ।

यातनाका श्रृंखला

बैतडी– पिँडुलामा लट्ठी बज्रिँदा विद्यार्थी चिच्याए, झन् ठोक्छु भनेपछि रुन सकेनन् ।
पोखरा–गृहकार्य नगरेको भन्दै बिरामी विद्यार्थी कुटे शिक्षकले, पीडितले स्कुल छाडे ।
रौतहट– विज्ञानका शिक्षकसँग विद्यार्थीले नजानेको प्रश्न सोध्दा बीचमा किन बोलेको भन्दै शिक्षकले विद्यार्थीको आँखामै मुक्का हाने ।
रुपन्देही– विद्यार्थीलाई लट्ठीले कुट्दा आँखामा चोट लाग्यो, अदालतबाट धरौटीमा छुटेका शिक्षक सोही विद्यालयमा पढाउँदै ।

कञ्चनपुर– अनुशासन सिकाउने भन्दै कुट्दा विद्यार्थीको मृत्यु, शिक्षकलाई १० वर्ष कैद ।
विराटनगर– परीक्षामा विद्यार्थी फेल भएपछि शिक्षकले सुम्ला बस्नेगरी पाइपले हाने ।

सिराहा–नेपालीको गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो ।
काठमाडौं –कम अंक ल्याएको भन्दै शिक्षिकाले ३४ विद्यार्थीलाई हात चिर्न लगाइन् ।
रोल्पा– प्रार्थनामा ढिलो आएको भन्दै शिक्षिकाको कुर्सीको खुट्टाले प्रहार गर्दा १४ विद्यार्थी घाइते, पाँचको हात भाँचियो ।

यसअघि १२ माघ ०७५ मा सिराहामा गृहकार्य नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचिएको थियो । यो पनि निजी विद्यालयमै भएको घटना हो । मिर्चैयास्थित स्वस्तिक पाठशालाकी शिक्षक तारा कार्कीले कक्षा ६ मा अध्ययनरत ऋतिक यादवको हात भाँचिदिएका थिए ।

पीडित परिवारको उजुरीपछि प्रहरीले शिक्षकलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, अदालतमा पुगेपछि लडेर हाँत भाँचिएको बयान दिइएको थियो । सो घटनामा बालबालिकासम्बन्धी ऐनका साथै अंगभंग मुद्दा चलाइएकोमा शिक्षक २५ हजार धरौटीमा छुटेको र मुद्दा फैसलाको क्रममा रहेको सिराहाका न्यायाधिवक्ता एकराज अधिकारीले बताए ।

गत वर्षदेखि लागू भएको बालबालिकासम्बन्धी ऐन, २०७५ मा बालबालिकामाथि हुने कुनै पनि यातनालाई अपराध मानिएको छ । ऐनको परिच्छेद ८ मा बालबालिकाविरुद्धका कसुरहरू उल्लेख छ । जसमा मानसिक यातना तथा अमार्यादित व्यवहारलाई समेत अपराध भनेको छ । कसुर हेरेर एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने ऐनमा उल्लेख छ । सोही ऐनअनुसार केहीलाई कारबाहीसमेत भएको छ । तर, यातना रोकिएका छैनन् ।

गत साउनमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयमा बिरामी विद्यार्थीलाई शिक्षकले कुटेको घटना सार्वजनिक भयो । कक्षा ८ मा पढ्ने १४ वर्षीय अंकित तिमिल्सिना बिरामी भएकाले गृहकार्य नगरी विद्यालय गएका थिए ।

त्यही निहुँमा शिक्षक श्रीराम त्रिपाठीले झापड हानेका थिए । अभिभावकको जाहेरीपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको थियो । तर, १० दिन हिरासतको बसाइपछि त्रिपाठी छुटेका थिए । दुई पक्षबीच मिलापत्र भएपछि उनी छुटेका थिए । पीडित विद्यार्थीलाई भने अर्को स्कुलमा सारिएको छ ।

त्यस्तै, रौतहटको चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रिन बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने राजनकुमार ठाकुर यही ६ फागुनमा शिक्षकबाट निर्घात कुटिएका छन् । निहुँ थियो– नजानेको सोध्नु ।

नबुझेको सोध्दा विज्ञान शिक्षक रामप्रवेश यादवले किन बढी बोलेको भन्दै मुक्का बर्साएका थिए । उनको आँखामा चोट लागेको थियो । यसअघि रामप्रवेशका दाइ नीराजनलाई पनि शिक्षकले यातना दिएपछि परिवारले सरकारी विद्यालयमा सारेका थिए ।

परीक्षामा फेल भएको र नियमित विद्यालय नआएको भन्दै विराटनगर–४ राजवंशी चोकस्थित अर्पण बोर्डिङ स्कुलका शिक्षक एवं सञ्चालक निमेष बस्नेतले छात्रालाई पाइपले हिर्काएर घाइते बनाए । यो घटना गत कात्तिकको हो ।

कुटाइबाट बुढीगंगा गाउँपालिका–२ टंकी सिनवारीकी रोशनी भण्डारी गम्भीर घाइते भइन् । शरीरभर सुम्ला उठेको थियो । प्रिन्सिपल सुवास विष्टले नै रोशनीमाथि कुटपिट भएको स्विकारेका थिए । पछि पीडितको घरमै पुगेर माफी माग्दै निःशुल्क पढाई दिने प्रतिबद्धतासहित विद्यालयले घटना मिलाएको थियो ।

बैतडीको सर्नया गाउँपालिका–३ स्थित विश्वेश्वर आधारभूत विद्यालयमा गत पुसमा ५, ६ र ७ कक्षामा पढ्ने नौ विद्यार्थीमाथि मरणासन्न हुने गरी कुटपिट भयो । शिक्षकले उल्टोतिरबाट बाह्रखरी भन्न लगाएकोमा नजान्ने विद्यार्थीलाई तीन शिक्षकले पालैपालो पाइप र लट्ठीले हानेका थिए । शिक्षकहरू प्रताप लोहार, दीपक भट्ट र घुम्रा भट्टले कुटेपछि पिँडुलाको नीलडाम लिएर पीडितहरू प्रशासन र प्रहरीसँग न्याय माग्दै सदरमुकाम पुगेका थिए ।

प्रहरी र सञ्चारकर्मीसामु कक्षा ७ की छात्रा शोभा विष्टले घटना सुनाएकी थिइन्, ‘बाह्रखरी उल्टोबाट पढ्न नसक्दा तीन शिक्षकले पाइप र लट्ठीले हान्नुभयो । दायाँतिरबाट प्रताप हेडसर, बायाँबाट दीपक सर र पछाडिबाट घुम्रा मेडमले पाइपले कुट्नुभयो । चिच्याउँदा पनि छाड्नुभएन । रोए थप ठोक्ने भनेपछि मुख बन्द गरेर आवाज ननिकाली रोयौँ ।’

गत जेठमा रोल्पामा शिक्षिकाको कुटाईबाट पाँच विद्यार्थीको हात नै भाँचियो । रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो विद्यालय आएको भन्दै अन्धाधुन्ध लाठी प्रहार गर्दा १४ विद्यार्थी घाइते भएकोमा पाँच छात्राको हात भाँचिएको हो ।

छात्राहरू भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको थियो । १२ जेठ भएको घटना वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएको थियो । विद्यार्थीको भाँचिएको हात दाङ लगेर प्लास्टर गरिएको थियो । घटना सार्वजनिक भएपछि मुद्दा चलेको छ । तर, पीडक शिक्षिका धरौटीमा छुटिसकेकी छिन् भने मुद्दा जिल्ला अदालत रोल्पामा विचाराधीन छ ।

अनुशासन सिकाउने भन्दै शिक्षकले कुट्दा विद्यार्थीको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान नै गयो । घटना गत साउनको हो । विद्यालयमा अनुशासनहीन व्यवहार देखाएको भन्दै ९ कक्षामा पढ्ने माधव कलौनीलाई १३ असारमा शिक्षकले कुटेका थिए । उपचारका क्रममा २४ असारमा भारतमा उनको मृत्यु भएको थियो । घटनापछि शिक्षकले झापड हानेको स्विकारेका थिए । उनी मामाघरमा बसेर पढ्थे ।

बालकका परिवारले दिएको उजुरीका आधारमा विद्यालयका तीन शिक्षकविरुद्ध मुद्दा चलेको थियो । जिल्ला अदालतले शिक्षकहरू दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई निर्दोष ठहर गर्दै शिक्षक लक्ष्मणप्रसाद भट्टलाई भने १० वर्ष कैद र डेढ लाख जरिवाना फैसला गरिसकेको छ । भट्ट कारागार भुक्तान गरिरहेका छन् ।

मनोविद् सजिना ढुंगाना बालबालिकालाई डर देखाएर पढाउँदा मानसिक असर पर्नुका साथै पढाईमै नकारात्मक हसर पर्ने बताउँछिन् । ‘शिक्षकले कुट्छ भनेर स्कुल नै जान नमान्ने, कक्षामा शिक्षकसँग डराउने समस्या हुन्छ,’ उनी भन्छिन्, ‘बिद्यार्थीलाई सजाय दिनु एकदमै गलत छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्