‘अक्टोपस’ को चंगुलमा प्रहरी महानिरीक्षक


१६ भदौ । नेपाल प्रहरीमा आफूलाई सोझो र व्यावसायिक भनेर चिनाउन चाहने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही शंकास्पद व्यक्तिहरूका लागि प्रहरीको स्रोत–साधन दुरूपयोग गरिरहेको पाइएको छ । प्रहरी महानिरीक्षक अर्यालको हिमचिम नेपालमा ‘अक्टोपस’ भनेर चिनिने र नेपाली सांसद भएर पनि भारतको हितमा ठाडै वकालत गर्ने अमरेशकुमार सिंहसँग रहेको बताइन्छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने प्रहरी प्रशासनको उच्च पदमा रहेको महत्वपूर्ण व्यक्तिका संगत सिंहजस्ता शंकास्पद व्यक्तिसँग भएपछि तिनको भूमिकामाथि नै प्रश्नचिन्ह उठ्न पुगेको छ ।

अझ अर्को कुरा त, अर्याल प्रहरी महानिरीक्षक भएदेखि सिंहले एक थोपा पेट्रोल पनि किनेर आफ्नो सवारी साधानमा प्रयोग गर्नुपरेको छैन । स्रोतका अनुसार, सिंहले चढ्ने विभिन्न गाडीका लागि प्रहरी कल्याण कोष अन्तर्गतको नक्सालस्थित पेट्रोल पम्पबाट पेट्रोल उपलव्ध गराइने गरिएको छ । पहिले सचिवालयबाट चिट ल्याइने र सोही आधारमा तेल हाल्ने र पछि सचिवालयले कुपनको व्यवस्था गर्ने गरिएको छ ।

त्यसो त कुनै राजकीय भूमिकाका नरहेका सिंहको नियमावली विपरीत निजी सुरक्षा गार्ड पनि महानिरीक्षक अर्यालले नै व्यवस्था गर्दै आएका छन् । महानिरीक्षक अर्यालले अहिले मानवस्रोतमा वीरेन्द्रबाबु श्रेष्ठलाई सबै अधिकार दिएर उनीमार्फत नै रकम लेनदेन गर्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्