अखिलबाट तेस्रो सर्कुलर जारी, कमजोरी कसको ?


८ पुस ।  ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने नेपाली उखान अहिले अखिलमा लागु हुन पुगेको छ । अहिले कांग्रेस–माओवादी केन्द्रलगायतका दल नेकपा (एमाले) लाई कमजोर बनाउन एउटै गठबन्धन बनाएर लागेका छन् । केही दिनअघि सम्पन्न आदिवासी–जनजाति महासंघको निर्वाचनले पनि त्यही कुराको संकेत गरेको छ ।

अहिले संविधान कार्यान्वयन गर्नुपर्ने, संविधान कार्यान्वयनका लागि तीन वटा निर्वाचन सम्पन्न गर्नुपर्नेलगायत जिम्मेवारी नेपालका राजनीतिक दलहरुको काँधमा छ । पछिल्लो समय संविधान संशोधन प्रस्तावको नाममा कांग्रेस–माओवादी केन्द्रले एमालेलाई एक्लो बनाउने प्रयत्न थालेका छन् । त्यसको विरोधमा एमालेले सडक र संसद् दुवैबाट आफ्नो विरोधलाई जारी राखेको छ ।

तर, त्यही दलको भ्रातृसंगठन अनेरास्ववियु भने अनावश्यक किचलोमा फसेको छ । आन्दोलनको मोर्चा सम्हाल्नु पर्नेमा संगठनभित्रको भाँडभैलोले गर्दा आम कार्यकर्तासमेत निरास बनेका छन् । केही दिनअघि अनेरास्ववियुमा महासचिवले संगठनको सर्कुलर जारी गरेपछि छताछुल्ल रुपमा बाहिर आएको संगठनको विवादले अहिले तीव्र रुप लिएको छ । मंसिर २८ गते अनेरास्ववियुका महासचिव ऐन महरले कार्य विभाजनसहितको सर्कुलर तल्ला कमिटीहरुमा पठाएका थिए ।

‘नेपाली हामी रहुँदा कहाँ नेपालै नरहे’ भन्ने गीतजस्तै अहिले अनेरास्ववियुले पनि पहिला अनेरास्ववियुलाई बलियो बनाउने अनि मात्र आफू बलियो बन्नेतिर ध्यान दिँदा राम्रो हुन्छ,’ अनेरास्ववियुका एक पूर्व नेताले भने, ‘संगठन स्थायी हो, व्यक्ति अस्थायी हो, व्यक्ति नरहँदा केही हुँदैन, तर संगठन रहनुपर्छ ।’

तर, महरले पठाएको उक्त सर्कुलरलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूह भनेर चिनिने सचिवहरु सुदेश पराजुली, ओसिम आलम र आरती लामाले महरले संगठनलाई खल्तीमा राखेर चलाएको भन्दै विरोध गरे । त्यति मात्र होइन उनीहरुले छुट्टै भेलाको आयोजना गरेर समानान्तर सर्कुलर नै पठाए ।

आफूहरुले संगठनलाई विधि–विधान अनुसार चलाउन खोजे पनि महासचिव महरले त्यसलाई लत्याएको भन्दै उनीहरुले समानान्तर सर्कुलर पठाएको दाबी गर्दै आएका छन् । ‘हामीले संगठनलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्नुपर्छ भन्दै आएका हौँ’ सचिव पराजुली भन्छन्, ‘विधान र बैठकका निर्णयका विरुद्ध महासचिवले एकलौटी रुपमा सर्कुलर जारी गरेपछि संगठनको गरिमालाई बचाइराख्न हामीले नयाँ सर्कुलर जारी गर्नुपरेको हो ।’

पराजुलीका तर्कलाई नै आधार मान्ने हो भने उनको तर्क ठीक देखिन्छ । तर, महर समूह भने त्यो मान्न तयार छैन । ‘हामीले विद्यार्थी इञ्चार्ज र संगठकी अध्यक्षसँग बसेर गरेको सल्लाहअनुसार नै सर्कुलर जारी गरेका हौँ,’ महर निकट मानिने उपाध्यक्ष सुनिता बराल भन्छिन्, ‘सर्कुलर जारी गर्ने महासचिवले हो । उहाँले जारी गर्नुभयो । केही कमजोरी भए बैठक बोलाएर समाधान खोजे भइहाल्यो नि ?’ बरालले अनावश्यक रुपमा मिडियाबाजी गर्नुको कुनै तुक नभएको दाबी गरिन् । बरालले चर्चामा आउने होडवाजीले साथीहरूमा अपरिपक्वता देखिको पनि दाबी गरिन्

पार्टीको निर्देशन र विधानमा आधारित भएर सर्कुलर जारी गरेको भन्दै बरालले विधि–विधान सबैले मान्नुपर्ने तर्क गरिन् । महर पार्टी अध्यक्ष केपी शर्मा ओली र पराजुली नेपाल समूह निकट मानिन्छन् । यी दुई समूहबीचको लडाइँलाई त ठीकै मान्न सकिन्थ्यो तर ओली समूहबाटै चुनाव जितेका उपाध्यक्ष रश्मी आचार्य र शैलेश लामाले फेरि तेस्रो सर्कुलर जारी गरेपछि भने अनेरास्ववियुका कार्यकर्ता नै अन्योलमा परेका छन् ।
पछिल्लो समय अध्यक्ष नविना लामा पनि महरको कार्यशैलीबाट त्यति सन्तुष्ट छैनन् । तर, लामा निकटका उपाध्यक्ष लामा र आचार्यले नै सर्कुलर जारी गरेपछि भने अनेरास्ववियुका प्रष्ट तीन गुट देखिएको छ ।

दुई वटा सर्कुलर जारी भएपछि लामाले केही दिनअघि संगठनको आधिकारिक सर्कुलर जारी हुने दाबी गरेका थिए । नभन्दै आचार्य र लामाले जारी गरेको तेस्रो सर्कुलर कार्यकर्ताको हातमा पुगेपछि त्यसले फेरि नयाँ तरङ्ग ल्याएको छ ।

‘हामीले यसलाई सर्कुलर नै त भनेका छैनौँ, यो ध्यानाकर्षण पत्र हो,’ लामाले भने, ‘पार्टीले दिएको निर्देशन, अनेरास्ववियु स्थायी कमिटीमा भएका निर्णय, केन्द्रीय कमिटीले पास गरेका सन्दर्भ सबैलाई मिलाएर सर्कुलर जारी गर्नुपर्छ । तर, साथीहरुले उल्टोपाल्टो पारेर सबैलाई भ्रमित पार्ने गरी जारी गरेपछि हामीले आधिकारिक जानकारी दिएका हौँ ।’

उनले गत जेठ २ देखि ५ गतेसम्म काभ्रेमा बसेको प्रथम केन्द्रीय कमिटीको बैठकमा भएका निर्णय, स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु सबैलाई त्यसमा समेटेको दाबी गरे । ‘संगठनमा उत्पन्न विवादका सम्बन्धमा समाधानका लागि विद्यार्थी फाँट प्रमुख रवीन्द्र अधिकारीलाई निर्णय लिनका लागि सर्वसम्मत रुपमा दिइएको जिम्मेवारी बमोजिम आएको लिखित निर्देशन र विधानमा व्यवस्था भएबमोजिम जिम्मेवारी पाएका विभागीय  प्रमुखहरुको सिफारिसलाई मध्यनजर गर्दै यो विशेष जानकारी सहितको सर्कुलर ल्याइएको हो,’ उपाध्यक्ष लामा र आचार्यले जारी गरेको सर्कुलरमा भनिएको छ ।

लामाले ध्यानाकर्षण पत्र भने पनि त्यो सर्कुलर नै भएको विज्ञप्तिले पनि जनाएको छ । उनीहरुले संगठनलाई विधिसम्मत तरिकाले सञ्चालन गर्न, संगठनभित्रको व्यक्तिगत मनोमालिन्यलाई रोक्न विशेष जानकारी गराउनु परेको पनि उल्लेख गरेका छन् । उनीहरुको त्यो संकेत प्रष्ट रुपमा महासचिवतिर गरिएको देखिन्छ  ।

दोस्रो सर्कुलर जारी भएलगत्तै अध्यक्ष लामासँग कुराकानी गर्दा लामाले सर्कुलर पठाउने महासचिव र समानान्तर सकुर्लर पठाउने सचिवहरु दुवै समूहको कार्यशैली गलत भएको टिप्पणी गरेकी थिइन् । उनले त्यसैबेला केही दिनमै बैठक बोलाएर समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने जानकारी पनि दिएकी थिइन् र भनेकी थिइन्, ‘अहिले विधि–विधान मान्ने भन्दा पनि गुट र व्यक्ति हाबी भएकाले समस्या भएको हो । यसले संगठनलाई राम्रो गर्दैन ।’
गर्नु के पर्ला ?
‘नेपाली हामी रहुँदा कहाँ नेपालै नरहे’ भन्ने गीतजस्तै अहिले अनेरास्ववियुले पनि पहिला अनेरास्ववियुलाई बलियो बनाउने अनि मात्र आफू बलियो बन्नेतिर ध्यान दिँदा राम्रो हुन्छ,’ अनेरास्ववियुका एक पूर्व नेताले भने, ‘संगठन स्थायी हो, व्यक्ति अस्थायी हो, व्यक्ति नरहँदा केही हुँदैन, तर संगठन रहनुपर्छ ।’

उनले अहिले संगठनमा विधि–विधानका लागि भन्दा पनि व्यक्ति हाबी हुनका लागि लडाइँ भएको भन्दै त्यसले संगठनलाई फाइदा नगर्ने दाबी गरे । ‘सबै मिलेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘स्ववियु निर्वाचनको कुरा उठिरहेको छ, अहिले संगठनभित्रै विवाद हुने हो भने हामीले हार्न सक्छौँ । त्यसले गलत सन्देश जान्छ ।’

प्रतिक्रिया दिनुहोस्