अखिलमा फेरि विवाद, अध्यक्ष प्युठानमा रहेका बेला महासचिव महरले बोलाए विषेश भेला


२५ साउन । नेपालकै सबै भन्दा ठूलो विद्यार्थी संगठन अनेरास्ववियुभित्र फेरि चरम विवाद सुरु भएको छ । विभाग बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएको महासचिव ऐन महर समूहले विशेष भेलाको आयोजना गरेपछि अनेरास्ववियुभित्र विवाद सुरु भएको हो ।

यहि भदौ ४ गते राजधानीमै महर समूहले विशेष भेलाको आयोजना गरेको छ । सामाजिक सञ्जालमै भेलाको सूचना जारी गरेपछि अध्यक्ष नविना लामासँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि त्यसको विरोध गरेको छ । ‘लामो समयसम्म बैठक र भेलाहरु नभएपछि संगठनको गतिशिलता नै हराउने खतरा भएकाले विशेष भेलाको आयोजना गरेको हो,’ महासचिव महरले भने,’ ‘अति भएपछि संगठनका बारेमा छलफल गर्न भेलाको आयोजना गरेको।’

महरले बैठक बोलाउने र संगठन सञ्चालन गर्ने जिम्मेवारी महासचिवको भएकाले त्यहि अधिकार प्रयोग गरेर भेला आयोजना गरेका दाबी गरे । अध्यक्षकै निर्देशनमा भेला बोलाएको हो त ? भन्ने प्रश्नमा महरले भने– ‘महासचिवले बोलाएपछि यहि आधिकारिक हो । अति भएपछि भेला बोलाएको हो ।’

अध्यक्ष नविना लामाकै समूहबाट महासचिव निर्वाचित भएका महरले यसो भन्दै गर्दा लामा समूहबाटै उपाध्य जितेका शैलेस लामाले भने भेलाबारे अनविज्ञता प्रकट गरे । ‘मैले महासचिवको स्ट्याटस हेरेपछि मात्र भेलाबारे जानकारी पाएँ,’ उनले भने, ‘अहिले अध्यक्षज्यु बाढीपीडितलाई राहत वितरण गर्न प्युठान जानु भएको छ, बैठक उतै बसेर निर्णय गरेको हो भने बेग्लै कुरा नभए बैठकबारे मलाई थाहा भएन ।’

लामाले विशेष भेला बोलाउने भए अध्यक्षको नेतृत्वमा बैठक बस्नु पर्ने र छलफल गर्नुपर्ने तर्क गरे । ‘मन लाग्यो भनेर जथाभावी गर्नु त भएन नि,’ लामाले भने, ‘अखिलमा दुई जना अध्यक्ष छन् भने बेग्लै कुरा नभए अध्यक्ष लामाको नेतृत्वमा बैठक बसेर चाँहि विशेष भेला बोलाएको होइन ।’
त्यसो त नेपाल समूहबाट सचिव जितेका सुदेश पराजुलीले पनि महासचिवले बोलाएको भेलाबारे अनविज्ञता प्रकट गरे । ‘अनेरास्ववियुलाई विधानसम्मत चलाउनुपर्छ,’ उनले भने, ‘विधान मिच्ने अधिकार कसैलाई छैन । विधान मिच्नेलाई कारवाही हुनुपर्छ ।’ उनले महासचिवले विधान विपरित काम गरेको भन्दै कारवाहीको माग गरे ।

दुई घण्टाको बैठकपछि विशेष भेलाको निर्णय

महर समूहले सोमबार करिब दुई घण्टा बागबजारको होटल संगममा आफू निकटका व्यक्तिहरुको भेला आयोजना गरेको थियो । साँझ चार बजेदेखि ६ बजेसम्म त्यहाँ बसेको गुट भेलाले विषेश भेला गर्ने निर्णय गरेको अखिल स्रोतले जानकारी दिएको छ । भेलामा लामा समूहले पनि पेलेर अघि बढ्ने संकेत गरेको भन्दै विशेष भेला आयोजना गर्ने सुझाव आएको थियो । त्यहि सुझावका आधारमा भेला बोलाएको बुझिएको छ । अध्यक्ष लामाले केही समय अघि विभाग बाँडफाँटमा एकलौटी गरेको भन्दै महर समूह रुष्ट बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्