अखिल–युवा संघको कार्यक्रमबाट प्रचण्डलाई टोपबहादुरको चेतावनी– ‘संशोधन प्रस्ताव असफल बनाइदिन्छौँ’


९ मंसिर । संविधान संशोधनको माग गरिरहेका मधेस केन्द्रित दललाई माओवादी नेता टोपहादुर रायमाझीले संविधान कार्यान्वयन प्रक्रियामा अघि बढ्न सुझाव दिएका छन् । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु  र युवा संघ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘संविधान संशोधन र कार्यान्वयनको प्रश्न’ विषयक ‘बिग बहस’ कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले दलहरुवीच समझदारी गरेर मिल्ने विषयहरुमा संशोधन गरेर अघि बढ्न सकिने बताए ।  यदि त्यस्तो नभए संशोधनको एजेण्डा बोकेर निर्वाचनमा जान र  दुई तिहाइ बहुमत ल्याएर संशोधन गर्न सुझाव दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले आफ्नै नेतृत्वको सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्तावलाई बजारीया हल्लाको समेत संज्ञा दिए । ‘अहिले संविधान संशोधनको बजारीय हल्ला मैले पनि सुनेको छु,’ उनले भने, ‘त्यो हल्ला सत्य रहेछ भने के गर्ने निर्णय गरौँला अहिले हतार नगरौँ । बजारीय हल्लाको पछि कुदियो भने हामी असत्य हुन सकिन्छ ।’
उनले प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गर्ने कुरालाई पनि अस्वीकार गरे । ‘पाँच नम्बर प्रदेशका जनता मिलेर बस्न चाहन्छन्,’ उनले भने, ‘अरुतिरको समस्या ल्याएर पाँच नम्बरमा थोपर्न खोज्दा भुईँको टिप्न खोज्दा पोल्टाको पनि खस्न सक्छ ।’
उनले प्रचण्ड नेतृत्वको सरकारले ल्याउन लागेको संशोधनको प्रस्ताव फेल हुने समेत चेतावनी दिए । माओवादीका पूर्व नेता डाक्टर बाबुराम भट्टराई निकट मानिने रायमाझी बाबुरामले पार्टी छाडेपछि प्रचण्ड निकट देखिएका हुन् । अहिले प्रदेश नम्बर ५को विवादका कारण रायमाझी र प्रचण्डको दूरी बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्