अख्तियारले अघि बढायो डोलिन्द्रमाथिको छानविन


२५ असोज । दसैंअघि पदमुक्त भएका साझा प्रकाशनका तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आर्थिक अनियमिततामा मुछिएपछि अख्तियारको छानविनको घेरामा तानिएका शर्मालाई शिक्षा मन्त्रालयले पदमुक्त गरेको थियो । साझामा रहँदा शर्माले अनेकौं अनियमितता गरेको कुरा बाहिर आएपछि अख्तियारले छानविनको दायरामा ल्याएको हो ।

शर्माले गरेका अनियमितताबारे अनुसन्धान गर्न अख्तियारको टोली दसैंअघि नै साझामा गएर काजतपत्र लिएर गएको थियो । सोही टोली सोमबार पनि साझामा पुगेर निरीक्षण गरेर फर्किएको छ । तत्कालीन अध्यक्ष शर्माले पदको दुरुपयोग गर्दै अनियमितता गरेकोमा उनीविरुद्ध अख्तियारमा दोस्रो पटक परेको उजुरीमाथि छानविन प्रक्रिया अघि बढाइएको हो । पहिलो पटक परेको उजुरीमा भने उनले उन्मुक्ति पाएका थिए ।

तत्कालीन अध्यक्ष शर्माविरुद्ध पहिलो पटक अख्तियारमा उजुरी परेपछि अख्तियारका शिक्षा महाशाखा हेर्ने प्रमुख रामप्रसाद सुवेदीले उनलाई जोगाउन भूमिका खेलेका थिए । सुवेदीले तत्कालीन अध्यक्ष शर्मालाई जोगाउन लागिपरेको कुरा बाहिर आएपछि अहिले छानविन गर्ने जिम्मेवारीबाट उनलाई हटाइएको छ । र, अहिले अख्तियारको अर्कै महाशाखाका प्रमुखले छानविन गरिरहेको बताइन्छ ।

यसैबीच, तत्कालीन अध्यक्ष शर्माले आफूलाई शिक्षा मन्त्रालयले सफाई दिने मौका नदिई पदमुक्त गरेकोमा आइतबार मात्रै सर्वोच्च अदालतमा दिएको रिटमाथि सोमबार सुनुवाई भएको थियो । सुनुवाई हुँदा उनलाई हटाउनुपर्ने कारणबारे अदालतले शिक्षा मन्त्रालयलाई छलफलका लागि बोलाएको छ । तर, छलफलका लागि कहिले बोलाइएको हो भन्नेबारे केही बताइएको छैन । शिक्षा मन्त्रालयले दुई दुई पटकसम्म स्पष्टीकरण सोध्दा पनि शर्माले चित्तबुझ्दो जवाफ नदिएपछि दसैंअघि उनलाई पदमुक्त गरिएको थियो । तत्कालीन अध्यक्ष शर्माले साझाका सञ्चालकहरु दीनानाथ शर्मा, प्रदीप नेपाल र कृष्णहरि बरालको राजीनामा अझै आफैसँग राखिरहेको र शिक्षा मन्त्रालयमा नबुझाएको पनि थाहा हुन आएको छ ।

प्रतिक्रिया दिनुहोस्