अझै तोकिएन प्रदेश प्रमुख र अस्थायी मुकाम


२७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइ गरिरहेको छ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेर प्रदेशसभाका निर्वाचित सांसदहरुलाई सपथ गराउनेदेखि प्रदेशसभाका कामहरुलाई गति दिने समय बित्दै जाँदा सरकारले भने यी दुवै काममा ढिलाइ गरिरहेको छ ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई पाँच राजनीतिक दलले सहमति दिइसकेका छन् । केही दिनपूर्व भएको नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका शीर्ष तहका नेताहरुसम्मिलित सर्वदलीय बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने कार्य सरकार भएको हुँदा आफूहरुबाट कुनै बाधा नआउने ती दलका नेताहरुले बताएका थिए ।

राजनीतिक सहमति जुटेपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारीसमेत थालेको थियो । पछिल्लो समय भने अस्थायी मुकाम तोक्दा विवादमा पर्न सकिने डरले सरकारले प्रदेश प्रमुखमात्र तोकेर काम अगाडि बढाउने गृहकार्य थालेको थियो । तर, प्रदेश प्रमुख चयन गर्ने काममा पनि सरकारले ढिलाइ गरिरहेको छ ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारले ढिलाइ गरिरहेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो राख्दै आएकी छन् । प्रधानमन्त्री देउवासँगको भेटमा प्रदेश प्रमुख र अस्थायी मुकाम चाँडै तोकेर प्रदेशसभाको कामलाई गति दिन राष्ट्रपतिले सुझाव दिँदै आएकी छन् । तर, सरकारले भने यी दुवै काममा ढिलाइ गरिरहँदा सरकारको कामकारबाहीप्रति सर्वत्र आशंका बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्