अझै नियन्त्रणमा आएन डेंगु : पूर्वीतराईमा ७६९ बिरामी


काठमाडौं,१२ असार । पूर्वीतराईमा डेंगु नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल नहुँदा काठमाडौं उपत्यकासमेत डेंगुको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । धरान, विराटनगर, इटहरी र झापालगायत क्षेत्रमा एक महिनायता सात सय ६९ बिरामीमा डेंगु पुष्टि भएको छ । सो क्षेत्रमा डेंगु केही हदसम्म नियन्त्रणमा भए पनि निर्मूल नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताए ।

अहिले काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा देखिएकाले सचेत रहन चिकित्सकले सुझाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले राजधानी सधैँ कीटजन्य रोगको उच्च जोखिममा रहेको बताए । ‘डेंगुका बिरामी हाल अस्पताल त आएका छैनन् । तर, उनीहरू यो रोगको उच्च जोखिममा भने छन्,’ डा. पुनले भने, ‘त्यसैले विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ ।’

इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले पनि राजधानी डेंगुको उच्च जोखिममा रहेको बताएको छ । काठमाडौंमा पनि एडिज नामक लामखुट्टे भएकाले डेंगु फैलिन सक्ने पोखरेलले बताए । जमेको सफा पानीमा बस्ने यो लामखुट्टेको टोकाइबाट डेंगु सर्छ । सबै उमेरका व्यक्तिलाई डेंगुको संक्रमण हुने भए पनि बालबालिकामा छिटो फैलिने उनले बताए ।

काठमाडौंका वनस्थली, टेकु, बागमती र ललितपुरका केही क्षेत्र डेंगुको उच्च जोखिम रहेको चिकित्सकको भनाइ छ । गत वर्ष काठमाडौंमा १० जनामा डेंगु संक्रमण देखिएको थियो ।

घरवरिपरि सरसफाइ गरी पानी जम्ने ठाउँ पुर्न तथा गमला, पुराना टायर पनि घर वरिपरि नराख्न डा. पुनको सुझाब छ । यस्तै, लामखुट्टेको टोकाइबाट जोगिन झुल, धुप वा क्रिम प्रयोग गर्न सुझाएका छन् ।
काठमाडौंवासी सजग हुनुस्
घनश्याम पोखरेल
प्रमुख, किट नियन्त्रण शाखा

काठमाडौंमा डेंगुको जोखिम छ । बर्खामा राम्रोसँग पानी आए डेंगु नदेखिन सक्छ । तर, सफा पानी जम्यो भने देखिन बेर लाग्दैन । वनस्थली, टेकु, बागमती क्षेत्रमा बढी जोखिम देखिन्छ । तर, डेंगु कहाँ हुन्छ ठ्याक्कै ‘स्किन’ गर्न सकिएको छैन । त्यसैले काठमाडौंवासी सजग हुनुस् । फैलिसकेपछि नियन्त्रण गर्न समस्या पार्छ । अहिले त तीन तह सरकारको समन्वयले झन् समस्या ल्याउन सक्छ । स्थानीय तहले हेर्ने भएकाले विशेष चासो त उसैले दिनुपर्छ । अहिले डेंगुका लार्भा खोजेर नष्ट गर्ने समय हो । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्