अटेर गरेर बसेको भए अहिलेसम्म म नै प्रधानमन्त्री हुन्थेँः केपी ओली


२ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गरेका छन् । नेकपा (एमाले) स्कूल विभागले प्रेस चौतारी नेपालका पदाधिकारी र सदस्यका लागि सञ्चालन गरेको पाँच दिने स्कूलको समापन कार्यक्रममा बोल्दै बिहीबार यस्तो जिकिर गरेका हुन् । ‘अहिले सीमांकन, नागरिकता र भाषाका विषयमा जुन खालका विषय उठाएर संविधान संशोधन गर्ने कुरा आएको छ, त्यो नेपालीको माग होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अहिले ९८ प्रतिशतको सहमति भएको संविधानलाई दुई प्रतिशतले दम्भ देखाएर अन्तरिम संविधानमा उल्लेख भए बमोजिम हुनुपर्छ भन्दै हल्ला गरेका छन् । त्यो नेपालका नेपालीको माग होइन ।’

उनले प्रदेश–५ लाई पहाडबाट अलग गर्ने कुरा पनि नेपाललाई श्रृंखलाबद्धरुपमा कित्ताकाट गर्ने योजना भएको आरोप लगाए । ‘अहिले संविधान संशोधनमा प्रदेश–५लाई पहाडबाट अलग गर्ने कुरा आएको छ, त्यो पूरा भएपछि फेरि प्रदेश–१ र ४ लाई गर्ने कुरा आउँछ,’  ओलीले भने, ‘प्रदेश–२ पहिला नै अलग छ, अनि बाँकी प्रदेश–७ त हो नि भनेर त्यो पनि अलग गरेपछि नेपाललाई कित्ताकाट गर्ने पैठारी माग पूरा हुन्छ ।’ उनले एमालेलाई त्यो माग मान्य नहुने चेतावनी पनि दिए ।

एमाले देशलाई कित्ताकाट गर्न दिदैँन

ओलीले एमाले देशलाई कित्ताकाट गर्ने षडयन्त्रको खुलेर विरोधी भएको बताए । ‘अहिले केहीले भारतीयहरुलाई सीमाबाटै नागरिकता दिने व्यवस्था गर्नुपर्छ भनेर हल्ला गरेका छन्,’  ओलीले भने, ‘त्यो त दिएकै छ नि ? नेपालमा आयो एउटा केटा च्याप्प समात्यो, पञ्जीकारीकहाँ लग्यो नागरिकता खल्तीमा हाल्यो अनि त्यही दिन उतै फर्कियो । यहाँ भन्दा सजिलो के गर्न सकिन्छ ?’ उनले त्यसरी नागरिकता लिनेहरुलाई जग्गे नै नहेरी दिएको भनी व्याङ्ग्य समेत गरे ।

अटेर गरेको भए अहिलेसम्म म नै प्रधानमन्त्री हुन्थेँ

एक घण्टा भन्दा लामो समय गरेको मन्तव्यमा ओलीले संविधानले अर्को प्रधानमन्त्रीको कुनै पनि व्यवस्था नगरेको भन्दै आफूले अटेर गरेको भए ०७४ माघसम्म आफैँ प्रधानमन्त्री रहिरहने खुलासा गरे । ‘संविधानले अर्को प्रधानमन्त्री बन्ने कुनै अधिकार दिएको थिएन,’ आलीले भने, ‘साथीहरुले प्रधानमन्त्री बन्ने रहर गर्नुभयो, बाधा अड्काऊ फुकाउ धारा प्रयोग गरेर भए पनि प्रधानमन्त्री बन्ने बाटो खुला गरेर मैले राजिनामा दिएँ ।

ओली अहिले पनि संविधान संशोधन के–का लागि भन्ने प्रष्ट भए एमाले बाधक नरहने जानकारी दिए । ‘तर देशलाई कित्ताकाट गर्ने गरी आएको माग एमालेलाई मान्य हुँदैन,’ उनले भने, ‘संविधान जारी गर्दा केही समझदारी भएकै हो, संविधान सहमतिको दस्तावेज भएकाले यसलाई संशोधन नै गर्न सकिन्न भन्ने एमालेको धारणा छैन ।’

अरुले बोकाएको पैठारी एजेण्डाप्रति एमालेको विमति

ओलीले अहिले केही राजनीतिक दलहरुले उठाएका माग अरु कसैले बोकाएका पैठारी एजेण्डा भएको भन्दै त्यस्ता एजेण्डाप्रति एमालेको विमति रहेको बताए । ‘पैठारी एजेण्डा एमालेले मान्दैन,’ ओलीले भने, ‘एजेण्डा पैठारी नै भए पनि देशको हितमा भयो भने मान्ने हो, नभए किन मान्ने ?’ ओलीले एमाले जे बोल्छ त्यही गर्छ भन्दै केही कुरामा अन्योल भए एमालेले बोकेका एजेण्डामा हिड्न आग्रह गरे ।

पित पत्रकारिताबारे ओलीको प्रवचन

मन्तव्यका क्रममा ओलीले केही सञ्चार माध्ययमहरुले पित पत्रकारिता गरेको पनि आरोप लगाए । सुजाता कोइरालालाई सरकारले दिने भनेको पचास लाखसँग आफूलाई गाँसेको सन्दर्भ होस या राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिकलाई जुत्ता बोकाएको भन्ने समाचार नै किन नहुन सबै पित पत्रकारिताको उदाहरण भएको उनले आरोप लगाए ।

एमालेमा अराजनीतिक संस्कार

ओलीले सम्बोधनका क्रममा एमालेलाई गालि गलौज गर्ने एमालेभित्रकै व्यक्ति भएको पनि खुलासा गरे । ‘एमालेकै केही साथीहरु अहिले एमालेले राम्रो काम गर्यो भन्न नसकेर एमालेलाई नै गाली गरेर बसेका छन्,’  उनले भने, ‘एमालेमा अराजनीतिक संस्कार हावी भएको छ, यसको अन्त्य जरुरी छ ।’ उनले अहिलेको समय खुद्रा–मसिना कुरा गर्ने नभएको पनि बताए ।

अनलाइन हुनेहरु अनलाइन लिएर उठ

ओलीले अहिले सबैको एउटै एजेण्डा संविधान कार्यान्वयन भएको भन्दै सबैले सामूहिक आवाज उठाउनु पर्नेमा जोड दिए । ‘हातमा कलम हुनेहरु कलम लिएर उठ, औजार हुनेहरु औजार लिएर उठ,’ उनले भने, ‘अनलाइन हुनेहरु अनलाइन लिएर उठ ।’ ओलीले त्यसो भन्दा हलभरी हाँसो छाएको थियो ।

oli 8

77gtftredfgdrfg 99 999jngfhfgf 9999k uuuj

प्रतिक्रिया दिनुहोस्