अतिक्रमित जग्गाबारे आयोगमा उजुरीका चाङ


काठमाडौं, १३ असार । उच्चस्तरीय भूमि आयोगमा देशभरका अतिक्रमित जग्गाबारे उजुरी पर्ने क्रम बढ्दै गएको छ । औपचारिक रूपमा काम सुरु गरेको छोटो समयमा नै मुलुकभरका ६० भन्दा बढी ठाउँका महत्वपूर्ण सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणको उजुरी परेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष मोहनरमण भट्टराईका अनुसार आयोगमा परेका अधिकांश उजुरीमा सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको उल्लेख छ । आयोगले जग्गाका सम्बन्धमा उजुरी माग गर्दै असार मसान्तसम्मको समय छुट्याएको छ । उजुरीबारे जाँचबुझ गरी विश्लेषण गर्ने तथा आवश्यक प्रमाण संकलन गरी छानबिनलाई अगााडि बढाउने आयोगले स्पष्ट पारेको छ ।

आयोगले अतिक्रमित सरकारी, सार्वजनिक तथा गुठी जग्गाका सम्बन्धमा आएका उजुरीको गहन अध्ययन भइरहेको बताएको छ । ‘आयोगले उजुरीबाहेक पनि विभिन्न सूत्र प्रयोग गरेर अवैध रूपमा उपयोगमा ल्याइएको जग्गा फिर्ताको प्रक्रियामा ल्याएरै छाड्नेछ,’ अध्यक्ष भट्टराईले भने ।

प्रधानमन्त्री निवास बालुवाटारलगायतका महत्वपूर्ण सरकारी जग्गा अतिक्रमणमा परेको समाचार सार्वजनिक भएसँगै सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित चार सदस्यीय सो आयोगले गत १५ जेठबाट औपचारिक काम सुरु गरेको थियो ।

आयोगलाई ६ महिनाको समयावधि दिइएको छ । आयोगलाई यस्ता जग्गाको सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तथा फिर्ता गर्नुपर्ने जग्गा फिर्ता गर्ने र अतिक्रमित जग्गाको अतिक्रमण हटाई संरक्षण गर्न जिम्मेवारी दिएको छ ।

आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्