अदालत र संसद दुवैले संविधानलाई केन्द्रविन्दु बनाउनुपर्छः ईश्वर पोख्रेल


२३ वैशाख । एमाले महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका संसदमा दर्ता भएको प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव फिर्ता लिनु सहज विकल्प हुने धारणा राखेका छन् ।शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रधानन्यायाधीश सुशिला कार्कीमाथिको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमालेको मागलाई सर्वोच्चको अन्तरिम आदेशले समेत पुष्टि गरेको बताए ।

‘प्रधानन्यायाधीशमाथि जुन दलले महाभियोग ल्याए, उनीहरुले फिर्ता लिनुपर्छ । अदालतले पनि महाभियोगलाई अनुपर्युक्त भनेको छ,’ स्थानीय तहको चुनावी प्रसङ्गमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्र्रियामा पोखरेलले भने ।’ उनले हाल सविधानको सर्वोच्चता कायम भएकाले अदालत र संसद दुवैले संविधानलाई केन्द्रविन्दु बनाउनुपर्ने धारणा राखे ।

महासचिव पोखरेलले स्थानीय चुनावको दोस्रो चरणको चुनावको मिति एक महिना ढिलो गर्दा सुरक्षा, मतगणनाको समस्या र बजेट घोषणा लगायतमा समस्या हुने भएकाले जेठको १५ गते भित्रै सम्पन्न गरिनुपर्ने अडान दोहोर्‍याए ।

‘हामीले दोस्रो चरणको चुनाव चाँडै गर्ने विषयमा प्रधानमन्त्री, सरकारमा रहेका दल, सुरक्षा निकाय, निर्वाचन आयोगसमेतसँग छलफल गरिसक्यौं’, उनले भने । उनले जेठ १५ गते संविधानअनुसार अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने हुदा जेठ ३१ मा चुनाव गर्न नमिल्ने उल्लेख गरे ।

सरकारले तयारी गरेको अवधिमा मुश्लिम समुदायको चाड समेत परेकाले त्यस्तो बेला चुनावमा होमिनु उपर्युक्त नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्