अध्यक्षमा पुण्यप्रसाद ढकाल, पोखरेलले स्वीकार गरे उपाध्यक्ष


३१ साउन । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पहिलो बनेको नेपाल निजामती कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको नाम पठाएको छ ।

निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि विवादका कारण नाम पठाउन नसकेको नेकपा (एमाले) निकटको सो संगठनले शुक्रबार सर्वसहमतिमा नाम पठाउन सफल भएको हो । अत्याधिक बहुमतसहित आफुलाई शक्तिशाली संठनका रुपमा उभ्याए पनि नाम पठाउने बारेमा भने उक्त संगठनमा विवाद देखिएको थियो ।

निर्वाचनमा दोस्रो बनेको निजामती कर्मचारी युनियन संघले यस अघि नै नाम पठाई सकेको छ । तेस्रो बनेको राष्ट्रिय निजामती कर्मचारी संगठनले भने चित्त नबुझेको भन्दै अझै नाम पठाएको छैन । पाँच जना पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा पहिलो शक्तिका रुपमा निर्वाचित भएपछि निजामती कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी तीन पदाधिकारी सहित ८ सदस्य प्राप्त गरेको थियो । वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेलले अध्यक्ष दाबी गरेपछि कसलाई पठाउने भन्नेमा विवाद भएको थियो ।

अध्यक्षको दाबी गरिरहेका पोखरेल उपाध्यक्ष बस्न राजी भएपछि विवाद मिलेको हो । ‘नेपाल निजामती कर्मचारी संगठनको पनि छाता संगठन पेशागत महासंघले समेत मलाई ट्रेड युनियन आन्दोलनलाई अझ उचाईमा लैजान मेरो उपस्थिति अनिवार्य भएको भनेपछि हार्न नसकेर मैले उपाध्यक्ष स्वीकार गरेँ,’ पोखरेलले पहिलो न्युजसँग भने, ‘मेरो अध्यक्षको दाबी हो तर, उर्जाशील समय व्यथित गरेको संगठनलाई विवादमा ल्याउनु हुँदैन भनेर मैले कमिटीमा बस्ने निर्णय गरेँ ।’ उनले अब ट्रेड युनियन आन्दोलनलाई अझ उचाईमा लैजान भूमिका खेल्ने बताए ।

आधिकारिक ट्रेड युनियन प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको नामावली
अध्यक्षः पुण्यप्रसाद ढकाल,
उपाध्यक्षः भोला पोखरेल
कोषाध्यक्षः सिन्धु पाण्डे
सदस्यहरुः लेखनाथ कोइराला, जीवन काफ्ले, नेकदेव पन्त, सुपालाल मण्डल, छत्रबहादुर शाह, खेमलाल अधिकारी, कामारप्रसाद तिमलसेना, गोविन्द अधिकारी

प्रतिक्रिया दिनुहोस्