ट्रेड युनियनमा पोख्रेल र ढकालमध्ये कसले बाजी मार्ला ?


२२ जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन केही दिन अघि मात्र सम्पन्न भयो । निर्वाचनमा नेकपा (एमाले) निकटको संगठन नेपाल निजामती कर्मचारी संगठनले अत्याधिक बहुमतसहित आफुलाई शक्तिशाली संठनका रुपमा उभ्यायो ।

संसदमा दोस्रो रहे पनि सरकारको नेतृत्व गरिरहेको दल एमाले निकटको संगठन निजामती कर्मचारी संगठन पहिलो भएपछि उसले अध्यक्ष र कोषाध्यक्ष पाउने पक्का भएको छ । गत बुधबार सम्पन्न निर्वाचनमा निजामती कर्मचारी संगठन पहिलो, निजामती कर्मचारी युनियन संघ दोस्रो र राष्ट्रिय निजामती कर्मचारी संगठन तेस्रो भए । मधेशी निजामती कर्मचारी मञ्चले ७ वटा जिल्लामा पहिलो स्थान प्राप्त गरे पनि १० प्रतिशत मत ल्याउन नसकेका कारण आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्न नपाउने भएको छ ।

निजामती सेवा नियमावलीले ४ वटा संगठनको परिकल्पना गरेको थियो । तर, अब तीन ओटा दलले मात्र प्रतिनिधित्व गर्ने भएका छन् । पाँच जना पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा पहिलो शक्तिका रुपमा निर्वाचित भएपछि निजामती कर्मचारी संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष गरी तीन पदाधिकारी सहित ८ सदस्य प्राप्त गर्ने भएको छ ।

निजामती कर्मचारी युनियन संघले महासचिवसहित ७ सदस्य र राष्ट्रिय कर्मचारी संगठनले सचिवसहित ३ सदस्य पाउने भएको छ । नियम अनुसार निर्वाचन कार्यालयमा अब १५ दिनभित्र युनियनमा प्रतिनिधित्व गर्नेहरुको नामावली पठाउनु पर्ने छ । निर्वाचन कार्यालयको त्यो निर्देशनसँगै अहिले युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्य छान्न तीनओटै संगठनलाई चटारो परेको छ । सकेसम्म सर्वसम्मतिका आाधारमा र नभए दुई तिहाई बहुमतबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधि पठाउनुपर्ने कानुनी व्यवस्था भएका कारण दौडधुप भएको बुझिएको छ ।

सबैभन्दा शक्तिशाली पद अध्यक्ष हुने भएकाले पहिलो संगठन निजामती कर्मचारी संगठनमा आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कसलाई पठाउने भन्ने चर्को लबी सुरु भएको छ । अध्यक्ष पुण्यप्रसाद ढकाल र पूर्वअध्यक्ष भोला पोखरेलले अध्यक्ष दाबी गरेपछि कसले बाजी मार्ला भन्ने चासो बढेको छ । उपाध्यक्ष र कोषाध्यक्षमा पनि त्यस्तै दाबी छ । तर, अहिले सबैको ध्यान अध्यक्षमै केन्द्रित भएकाले त्यहाँ निकै रोचक खेल सुरु भएको छ ।

वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल अहिले आधिकारिक युनियनको दाबी आफुबाहेक कसैले गर्न नहुनेमा छन् । निजामती कर्मचारी संगठनको नेतृत्व गरेकै बेला संगठनलाई आधिकारिक ट्रेड युनियन निर्वाचनमा दुईतिहाई मतले बिजयी गराउन सफल भएकाले त्यो पदमा कसैले दाबी गर्नु नहुने अडानमा छन् । चुनावबाट निजामती कर्मचारीको मन र विश्वास जित्न सफल भएको भन्दै अहिलेको आवश्यकता आफ्नै नेतृत्व भएको उनको दाबी छ ।

त्यसो त ढकालले आकांक्षीहरु अरु पनि भएको स्वीकार गर्दै आफ्नै नाममा सहमति हुने दाबी गरेका छन् । योगदानको हिसावले पनि नेतृत्व आफैले गर्न पाउनु पर्ने दाबी छ ।

पूर्वअध्यक्ष भोला पोख्रेलले संगठनलाई अभाव र दवावबाट होइन प्रभावशाली बनाए चलाउन पनि मतदाताले आफ्नो नेतृत्व खोजको दाबी गरे । ‘मलाई मतदाताहरुले खुट्टा नकमाउनु होला भन्नुभएको छ,’ उनले भने, ‘प्रशासनलाई कर्मचारी युनियन मैत्री र कर्मचारीलाई प्रशासन मैत्री बनाउन पनि मेरो नेतृत्व आवश्यक छ ।’

पोख्रेलले०५१ सालदेखि निरन्तर रुपमा संगठनमा रहेर काम गरेको भन्दै महासचिव र अध्यक्षसम्म भएर काम गर्दा आफ्नो उर्जाशील उमेरको करिब २२ वर्ष संगठनमा विताएकाले र संगठनलाई अहिले शानदार विजयी गराउन सकारात्मक भूमिका खेलेकाले अध्यक्षका लागि योग्य भएको तर्क गरे ।

‘अन्तराष्ट्रिय सम्बन्ध पुर्नस्थापित गर्न, भबन निर्माण र संगठनका लागि आफ्नै जग्गा खोज्ने कार्यको अगुवाई गरेको, टुटफुट र विभाजनबाट मुक्त गरेर संगठनलाई एक बनाएर निर्वाचनमा लैजाने भूमिका खेल्दै निर्वाचनमा आफ्नो संगठनलाई एक नम्वर बनाउन सकेको जस्ता योगदानले पनि आफु अध्यक्ष बन्नु पर्ने तर्क उनले गरे । उनले सर्वसम्मत रुपमा अध्यक्षको नामा छान्ने भन्दै त्यसका लागि आफु उपयुक्त भएको दाबी गरे ।

केन्द्रीय कमिटिमा समेत बहुमत भएकाले निर्वाचन हुँदा पनि पोख्रेलले नै जित्ने केहीले दाबी गरेका छन् ।

यता महासचिव मोहन घिमिरेले संगठनको सारथी आफु भएको भन्दै उहाँहरु दुई जना मात्र निर्विकल्प उम्मेदवार नभएको दाबी गरे । ‘असार १ र २ गते हामीले केन्द्रीय कमिटि बैठक बोलाएका छौँ,’ उनले भने, ‘बैठकले सबैको सम्मान गर्दै सर्वसम्मत रुपमा अध्यक्ष छनोट गरेर पठाउनेछ ।’

घिमिरेले पनि संगठनलाई एकताबद्ध बनाएर निर्वाचनमा लैजाने भूमिकामा आफुलाई खरो रुपले उतारेकाले परिणाम सकारात्मक आएको दाबी गर्दै अब पनि संगठनलाई एकतावद्ध बनाएर लैजाने आफ्नो एक मात्र उदेश्य भएकाले कुनै विवाद नगरि अध्यक्ष छनोट गर्ने बताए ‘ आधिकारिक ट्रेड युनियन निर्वाचन सम्पन्न गर्न र संगठनलाई प्रथम स्थानमा ल्याउनका लागि म सारथीको रुपमा उभिएको कुरा सबै संगठनलाई थाहा छ,’ उनले भने, ‘म संगठनकै नेतृत्व गरिरहन्छु । तर संगठनभित्र आधिकारिक ट्रेड युनियनको नेतृत्वमा जाने सवालमा चुनाव हुन कुनै हालतमा दिन्न ।’

दुई मध्य कसले बाजी मार्ने हुन, हेर्न भने असार २ गते कुर्नै पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्