अध्यक्ष ओलीले भने– ‘एमाले सिमलको भुवा होइन, जे गर्छ सोचेर गर्छ’


५ असोज । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछिको पहिलो केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ । एमाले मुख्यालय धुम्बाराहीमा आजबाट सातौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) सिमलको भुवा जस्तो जता हावा चल्यो त्यतै उड्ने पार्टी नभएको बताएका छन् ।

पछिल्लो समय एमालेसँगको गठबन्धन टुटाएर नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि विभिन्न आरोप लगाइरहेका बेला ओलीले प्रचण्डप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘एमाले संविधान बनाएको पार्टी हो,’ ओलीले भने ‘यो पार्टी सिमलको भुवा जस्तो जता हावा आयो उतै उड्दैन, जे निर्णय गर्छ सोचेर गर्छ ।’

ओलीले एमाले जाति र क्षेत्र विरोधी पार्टी नभएको भन्दै अहिले एमालेलाई मधेस विरोधीको आरोप लाग्ने गरेको बताउँदै त्यसको खण्डन गरे । ‘एमाले मधेस विरोधी पार्टी होइन,’ उनले भने ‘राष्ट्र र राष्ट्रियताका पक्षमा दरिलो अडान भएको पार्टीचाहिँ हो ।’

प्रचण्डले कुटनीति विपरीत काम गरे 

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पनि आलोचना गरे । ‘प्रचण्डजीले गम्भीर सम्झौता त गर्नुभएन,’ ओलीले भने ‘जे गर्नुभयो त्यो पनि प्रशंसायोग्य काम गर्नुभएन ।’ ओलीले एउटा छिमेकी देशको प्रधानमन्त्रीले अर्को छिमेकी देशमा गएर आफ्नो देशका पार्टीहरुको आलोचना गर्नुु गम्भीर कुटनीति विपरीत कार्य भएको दाबी पनि गरे । ‘एक छिमेकको प्रधानमन्त्रीले अर्को छिमेकी देशमा गएर देशका आन्तरिक कुरा गर्नु गैरकुटनीति हो,’ ओलीले भने ‘प्रचण्डजीले गैरकुटनीतिक काम गर्नुभयो ।’

बैठकमा आठ एजेण्डा
आजबाट जारी बैठकमा आठ वटा एजेण्डा तय भएका छन् । पहिलो एजेण्डा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत रहेको छ । ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले राजनीतिक बेइमानी गरेको, भारतीय नाकाबन्दी इतिहासकै विडम्बना भएको, कांग्रेसलाई राष्ट्रपति नदिनुको कारण, छिमेकसँगको सम्बन्ध आदि विषयलाई समावेश गरेको बुझिएको छ ।

त्यसैगरी बैठकमा स्थानीय निकायको पुर्नसंरचना, पार्टी प्रवेशको व्यवस्थापन, प्रदेश कमिटी, सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको मनोनयन, केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटीको निर्णयहरुको अनुमोदन र केन्द्रीय आयोगका प्रतिवेदनका बारेमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्