अध्यक्ष–सचिव टुंग्याउन ओली–प्रचण्ड लगातार छलफलमा


काठमाडौं, १० भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले जिल्ला–प्रदेश र जनसंगठनको नेतृत्व टुंग्याउन अन्तिम छलफल गरिरहेका छन् ।
दुई अध्यक्षबीच प्रदेश, जिल्ला र जनसंगठनको अध्यक्ष र सचिव टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा तीन दिनदेखि लगातार छलफल चलेको हो । शुक्रबार तीन घण्टा लगातार छलफल गरेका उनीहरुले शनिबार पनि गृहकार्यलाई निरन्तरता दिएका थिए ।
एकीकरण कार्यदलहरुले प्रतिवेदन बुझाएलगत्तै दुई अध्यक्षले सकभर सहमतिमै तल्ला कमिटी र जनसंगठनको नेतृत्वमा सहमति गरेर केन्द्रीय सचिवालय बैठकमा ठोस प्रस्ताव राख्ने तयारी गरिरहेका छन् । ‘प्रतिवेदनमाथि छलफल गरेर सचिवालयमा ठोस प्रस्ताव राख्नका लागि अध्यक्ष कमरेडहरु शुक्रबारदेखि गम्भीर छलफलमा हुनुहुन्छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘अब बस्ने सचिवालय बैठकमा सम्भवत उहाँहरुले एकीकरणसम्बन्धि प्रस्ताव छलफलका लागि राख्नुहुनेछ ।’

उनले अध्यक्षकै तहमा तल्ला कमिटी र जनसंगठनको नेतृत्व पनि मिलाउनेगरी लगातार छलफल चलिरहेको पनि जानकारी दिए । ‘सम्भवत आँईतबार या सोमबार बस्ने सचिवालय बैठकमा उहाँहरुले प्रस्ताव राख्नुहुनेछ’ श्रेष्ठले भने ।
सर्बसम्मत टुंगिएकाबाहेकका जिल्ला र जनसंगठनमा अध्यक्ष र सचिवका लागि तीब्र लविङ चलिरहेको छ । त्यस्तै, प्रदेश कमिटीमा अध्यक्ष र सचिवको आकांक्षी रहेकाहरु पनि दौडधुपमा छन् । पूर्व एमाले र पूर्व माओवादी समूहको सम्मानजनक सन्तुलन मिलाउनेगरी तल्ला कमिटीमा नेतृत्व टुंग्याउने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्