अनेरास्ववियु अध्यक्ष नविना लामासहितको टोलीले प्युठानमा, ३० लाख बराबरको राहत वितरण


२६ साउन । नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुले बाढीपीडितलाई रातह वितरण कार्यक्रमलाई तिव्रता दिएको छ ।

केही दिन अघि मात्र तराईका विभिन्न जिल्लामा पुगेर राहत वितरण गरी फर्किएको अनेरास्ववियुको टोलीले प्युठान जिल्लाको निकै विकट गाविसहरुमा अहिले राहत वितरण गरिरहेको छ । अनेरास्ववियुका कोषाध्यक्ष झपेन्द्र खत्रीले दिएको जानकारी अनुसार अनेरास्ववियुले प्युठानका फोप्ली बासकोट, खवाङ्, लुङ्,डाम्रिका,लीगा,अर्खापुजा,रजुवारा लिवाङ लगायतका करीब ८ सय घरपरिवारलाई राहत वितरण गरेको छ ।

अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले पनि दुई दिन प्युठानका विभिन्न जिल्लामा राहत वितरण गरेको जानकारी दिए । बाढीपहिरोका कारण प्युठानमा मात्र ४५ जना भन्दा बढीको मृत्यु भएको थियो भने करीब १२०० भन्दा बढी विस्थापित भएका छन् । भारी बर्षाकासँगै निकै कष्टकर यात्रा गर्दै अनेरास्ववियु अध्यक्ष नबिना लामा नेतृत्वको टोलीले राहत बितरण गर्दै आएको छ ।

राहत वितरण टोलीमा अध्यक्ष लामासहित कोषाध्यक्ष खत्री, प्रवक्ता शर्मा, त्रिभुवन विश्वविद्यालय इञ्चार्ज धर्म गिरी,सचिवालय सदस्य वाङ्छु योञ्जन,केन्द्रीय सदस्य बसन्त न्यौपाने, जित बहादुर रोकाया, बिनोद भण्डारी, तिलक हमाल लगायत छन् ।

राहतमा थाल, कचौरा,गिलास,बाल्टी, मग,त्रिपाल, कपडा, स्टेशनरी लगायतको सामग्री वितरण गरिएको खत्रीले जानकारी दिए । सबै सामाग्री गरेर करिब ३० लाख वितरण गरिएको पनि खत्रीले जानकारी दिए । अध्यक्ष लामाले पहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई निशुल्क अध्ययनको व्यवस्था गर्ने र पीडितलाई अस्थायी हटहरा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्