अनेरास्ववियु र युवा संघले ‘बिग बहस’ गर्ने


६ मंसिर । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु र युवा संघ नेपालले राजधानीमा ‘बिग बहस’ गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा मंसिर ९ गते आयोजना गर्न लागेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक सो बहसमा विभिन्न दलका नेताहरुको समेत उपस्थिति रहने र उनीहरुले पनि आफ्ना विचार राख्ने जनाइएको छ ।

‘संविधान कार्यान्वयन र संशोधनका विषयमा वाहिर फरक–फरक मत आएका छन्,’ ठूला दलका शीर्ष नेताहरुबाटै फरक–फरक मत बाहिर आउँदा जनता अन्योलमा परेका छन्,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, ‘त्यो भ्रम चिर्न हामीले सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र, साझेदार दल नेपाली कांग्रेससहित संसद्मा अर्थपूर्ण सहभागिता भएका दलहरुलाई पनि बहसमा निम्ता गरेका छौँ ।’

लामिछानेले एउटै मञ्चबाट सबै दलबाट संविधान कार्यान्वयन र संशोधनको विषय जनतालाई सुनाउन कार्यक्रमको आयोजना गरेको जानकारी दिए । युवा संघले पनि कार्यक्रमको आयोजनाको उद्देश्य त्यही भएको जानकारी दिएको छ । ‘अहिले अलमलिने बेला छैन,’ युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘जनताले राजनीतिक दलको गाँजेमाजे कुरा होइन, संविधान कार्यान्वयन गर्न दलहरु कटिबद्ध छन् कि छैनन्, त्यो खोजेका छन् ।’  कटुवालले पनि एउटै मञ्चबाट दलहरुका धारणा बाहिर ल्याउने कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

सो बहस कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावल, कांग्रेस नेता प्रकाशमान सिंह, एमाओवादी नेता टोपबहादुर रायमाझी, आज मात्रै एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठलगायतका नेता कार्यक्रममा सहभागी हुनेछन् ।
तयारी बैठक
यही मंसिर ९ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने ‘बिग बहस’को सबै तयारी पूरा भएको अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले जानकारी दिइन् । ‘अनेरास्ववियुको कार्यालयमा तयारी बैठक बसेको थियो,’ बरालले भनिन्, ‘बैठकले कार्यक्रम कसरी सफल बनाउने भन्नेमा छलफल गरेको छ ।’ बरालले अनेरास्ववियु, युवा संघसँग कार्यक्रम सफल बनाउन सबै सक्रिय बन्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्