अन्डा र पुडिङजस्तै माओवादी–गैरमाओवादीबीचको सम्बन्ध


१० पुस । अन्डा र पुडिङबीच कस्तो खालको सम्बन्ध रहन्छ ? यो कुरा पाक कलामा पारंगत व्यक्तिले सजिलै जान्दछन् । एउटा ‘कुक’लाई यो कुराको राम्रो जानकारी हुन्छ, कुन परिकारमा कुन चिज कति राख्नुपर्छ ? थाहा भएकै कुरा हो, पुडिङमा आवश्यकताभन्दा धेरै अन्डा राख्दा भोजन कलामा दूर्घटना मात्र निम्तिन्छ ।

नेपाली राजनीतिमा बेलाबखत अन्डा र पुडिङबीच तालमेल नमिल्दा पाक कलाले दूर्घटना मात्र बेहोर्नु परेको छैन, तयार पारिएका भोजन मिल्काउनुपर्ने परिस्थितिसमेत सिर्जना भएका कैयौं उदाहरण छन् । अबको केही दिनपछि अंग्रेजी क्यालेन्डरमा नयाँ वर्षले प्रवेश पाउँदैछ । सन् २०१७ आगमन हुन अब एक हप्तामात्रै बाँकी छ । तर, बितेको वर्षमा नेपालका माओवादी पार्टीहरुबीच अण्डा र पुडिङको तालमेल नमिलेजस्तै टुक्रिने र जोडिने क्रम मात्र बढेन, कम्युनिष्ट र गैरकम्युनिष्टबीचको तालमेल पनि उत्तिकै बढ्न पुग्यो । यी नेपाली राजनीतिमा देखिएका नौला दृश्यहरु थिए ।

सत्ताकै लागि नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर दृेउवाबीच ९÷९ महिना सरकारको नेतृत्व गर्ने गरी गठबन्धन बन्यो । तत्कालीन एमाओवादी छाडेर नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराई र संघीय लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सहकार्य बढ्यो । र, पछिल्लो समय माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य, मोहनविक्रम सिंह र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच कार्यगत एकता हुन पुग्यो । तर, यी कम्युनिष्ट र गैरकम्युनिष्टहरुबीच मौलाएको सम्बन्ध दीर्घकालसम्मै तन्किने हो वा एकाध समयपछि नै टुट्ने हो ? अहिल्यै कुनै अनुमान लगाउन सकिँदैन ।

प्रचण्ड–देउवा सम्बन्ध

पूर्ववर्ति केपी ओली नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालयहरु पाएको माओवादी–केन्द्रले पछिल्लो चरणमा भने हठात् रुपमा एमाले–माओवादी गठबन्धन टुटाउन उपयुक्त ठान्यो । गएको फागुनमा शेरबहादुर देउवा काँग्रेस सभापतिमा निर्वाचित भएदेखि नै तत्कालीन एमाले–माओवादी गठबन्धन सरकार धर्मराउन थालिसकेको थियो । सभापतिमा निर्वाचित भएलगत्तै देउवाको दिल्ली दौडाहा र माओवादी–केन्द्रका प्रभावशाली केन्द्रीय नेता कृष्णबहादुर महरालगायतको भारतीय पक्षसँग बढ्दो उठबसबाटै सरकार परिवर्तनको खेल भित्रभित्रै निकै भइरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । तर, साउनमा त नयाँ गठबन्धन बन्यो र प्रचण्डले ९ र देउवाले ९ महिना आलोपालो सरकारको नेतृत्व गर्ने गरी प्रचण्डको नेतृृत्वमा सरकार गठन भयो ।

अहिले प्रचण्ड नेतृत्वको सरकारले ५ महिना बिताइसकेको छ । समझदारीलाई इमानदारितापूर्ण कार्यान्वयन गर्ने हो भने अबको ४ महिनापछि प्रचण्डले देउवालाई सत्ताको चाबी सुम्पिनुपर्ने हुन्छ । प्रचण्ड र देउवाबीचको नयाँ सम्बन्धलाई हेर्दा, राजनीतिमा कुन बेला कोसँग सहकार्य हुन्छ ? अनुमान लगाउन नसकिने विषय रहेछ भन्ने सहजै पुष्टि हुन्छ ।

डा. बाबुराम भट्टराई–उपेन्द्र यादव सम्बन्ध

--

नयाँ संविधान जारी भएको सात दिनपछि तत्कालीन एमाओवादी त्यागेर सुरुमा एक्लै रहेका र पछि नयाँ शक्ति, नेपाल नामक पार्टी स्थापना गरी माओवादीलगायत पूर्वप्रशासक, कर्मचारी, कलाकारहरुलाई समेटेर अगाडि बढेका डा. भट्टराईले तराई–मधेसका जनताको सहानुभूति लिन आफ्नो पार्टीलाई मधेसको राजनीतिमा केन्द्रित तुल्याउने घोषणा गरेका थिए । तर, त्यही क्रममा जनकपुर पुगेका उनले स्वागत पाउनुको साटो तीव्र विरोध झेले । संविधान जारी भएपछि उग्र रहेका तराईका बासिन्दाहरुले उनलाई संविधान ल्याउन भूमिका खेल्ने मतियारको संज्ञा दिँदै विरोध जनाएका थिए ।

तराई–मधेसमा मात्र होइन, एकाध ठाउँमा बाहेक कतै पनि जनाधार नभएका डा. भट्टराईले पछिल्लो समय भने अरु राजनीतिक दलहरुसँग एकता गरेर ‘बलियो बन्ने’ सपना देखेका छन् । त्यही क्रममा मधेसका सामान्य पकड रहेको र अशोक राईहरुसँग एकता गरेर एकाध जनजातिहरुलाई बटुल्न सफल रहेको संघीय समाजवादी फोरमसँग एकता गर्ने टुंगो गरेका छन् । तर, डा. भट्टराई र यादवबीच पछिल्लो समय मौलाएको सम्बन्ध लामो समयसम्म जाला भन्ने कुनै आधार देखिँदैन । मधेसी जनअधिकार फोरम टुक्राटुक्रा हुनुले पनि यादवको पार्टी चलाउने क्षमता प्रष्ट भइसकेको मात्र छैन, डा. भट्टराईलाई ‘झेल्ने’ ल्याकत उनले कतिसम्म राख्न सक्छन् भन्ने हेर्न बाँकी नै छ ।

वैद्य–सिंह–विप्लव सम्बन्ध

fgggggg

केही दिनअघि मात्रै नेपाली कम्युनिष्ट आन्दोलनका गुरुहरु मोहन वैद्य, मोहनविक्रम सिंहका साथै नेत्रविक्रम चन्द ‘विप्लव’ बीच राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्ने टुंगो लागेको छ । यी तीन कम्युनिष्ट नेताबीच सहकार्य हुने वातावरण कसको पहलमा भएको हो ? थाहा हुनसकेको छैन । तर, पछिल्लो समय आफू कमजोर बन्दै गएको महसुस वैद्यमा देखिएको हुँदा उनकै पहलमा भएको हो कि भन्ने अनुमान मात्र लगाउन सकिन्छ । किनकि, वैद्यले माओवादीहरु एकै ठाउँमा उभिनुपर्ने कुरा पटकपटक उठाउँदै आएका छन् ।

यी तीन नेताहरु एकै ठाउँमा उभिनु र नयाँ सम्बन्ध विकास हुनुलाई अनौठो रुपमै हेर्न सकिन्छ । किनकि, वैद्य र सिंहबीच त चालीसको दशकदेखि नै कुनै सहकार्य भएन । आफ्नो नेतृत्वमा नेकपा (माओवादी) लाई विभाजित गर्दा आफसँगै आएका विप्लवले पनि वैद्यलाई पछिल्लो समय छाडेर हिँडे । रामबहादुर थापा ‘बादल’, पम्फा भुसाल, देव गुरुङहरुले माओवादी–केन्द्र रोजेपछि अहिले वैद्य एक्लाजस्तै भएका छन् । तर, राष्ट्रियताका सवालमा सहकार्य गर्ने उनीहरुका विचार र प्रयत्नलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ ।
विवश वस्ती

प्रतिक्रिया दिनुहोस्