अन्ततः ज्ञवालीलाई हटाइयो


२१ पुस । स्पष्टिकरण दिएको २४ घन्टा नपुग्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको छ । प्राधिकरणको सिइओमा नियुक्त भएको १ वर्ष ११ दिनपछि ज्ञवालीलाई सरकारले हटाउने निर्णय गरेको हो । ज्ञवालीको काम सन्तोषजनक नरहेको भन्दै आठ दिनअघि उनलाई सरकारले स्पष्टिकरण सोधेको थियो । बुधबार मात्रै आफूलाई सोधेको स्पष्टिकरणको जवाफ ज्ञवालीले सरकारलाई बुझाएका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको बेलामा २०७२ पुस १० गते नियुक्त भएका ज्ञवालीलाई सरकारले यसअघि नै हटाउने तयारी गरेको थियो । तर, प्रमुख प्रतिपक्षी एमालेले विरोध जनाएपछि सरकार पछि हटेको थियो । अहिले भने सात दिनको स्पष्टिकरणको म्याद दिएर सरकारले ज्ञवालीलाई हटाउन चाहेको थियो ।

बुधबार मात्रै ज्ञवालीले सरकारसमक्ष स्पष्टिकरण पेश गरेर पुनर्निर्माणको काममा सरकार नै बाधक रहेको बताएका थिए । प्राधिकरणलाई अर्थ मन्त्रालय र सामान्य मन्त्रालयबाट अवरोध भएको हुँदा कामले अपेक्षा गरेअनुसार गति लिन नसकेको उनले स्पष्टिकरणमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्