अन्तरकलह चुलिँदा कांग्रेसले चयन गर्न सकेन उम्मेदवार


१८ भदौ । अन्तरकलह बढ्दै गएपछि नेपाली कांग्रेसले २ नम्बर प्रदेशको अधिकांश स्थानीय तहमा अझै उम्मेदवार टुंग्याउन सकेको छैन । संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच टिकट वितरणको विषयलाई लिएर अन्तरकलह चुलिँदै गएपछि कांग्रेसलाई उम्मेदवार चयन गर्न सकस परेको हो ।

स्थानीय तहको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशको उम्मेदवारको मनोनयन गर्न चार दिन बाँकी रहँदा अधिकांश राजनीतिक दलहरुले उम्मेदवार टुंग्याइसके पनि कांग्रेस भने आन्तरिक विवादमा फस्न पुगेको हो । पहिलो र दोस्रो चरणको निर्वाचनको क्षतिपूर्ति २ नम्बर प्रदेशको चुनावबाट उठाउने योजनामा रहेको कांग्रेस आन्तरिक विवादमै फसेको हुँदा त्यसको असर चुनावमा देखिने प्रष्ट भएको छ । कांग्रेसका शीर्ष नेताहरुले २ नम्बर प्रदेशमा एक महिनाअघि नै उम्मेदवार टुंग्याएर चुनावी अभियानमा होमिने कुरा पटकपटक बताए पनि अन्तरकलहले मनोनयन गर्न केही दिन बाँकी छँदासमेत उम्मेद्वार टुंग्याउन नसकेको हो ।

२ नम्बर प्रदेशको उम्मेदवार चयनमा सभापति शेरबहादुर देउवाको विश्वासपात्र विमलेन्द्र निधि हाबी भएपछि पौडेल समूहले त्यसमा असन्तुष्टि जनाएपछि आन्तरिक विवाद बढेको हो । पूर्वमहामन्त्री निधिले आफ्नो गृहप्रदेशको टिकट वितरणमा संस्थापन पक्षका उम्मेदवारहरुलाई मात्र अघि सारेपछि कलहको बिजारोपण हुन पुगेको थियो । सम्भावित उपसभापतिका रुपमा हेरिएको निधिले गृहजिल्ला धनुषालगायत ७ वटै जिल्लाको टिकट वितरणमा आफ्ना पक्षधरहरुलाई च्यापेको आरोप पौडेल समूहले लगाएको छ ।

निधिले टिकटमा एकलौटी गर्न थालेपछि पौडेल समूहले असन्तुष्टि जनाएपछि आइतबार मात्र उम्मेदवार टुंग्याउने सहमति बनेको छ । कांग्रेसले शनिबार नै उम्मेदवार टुंगो लगाउने बताउँदै आएको थियो । तर, वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, सीतादेवी यादव, रामकृष्ण यादवलगायत नेताहरुले चरम असन्तुष्टि जनाएपछि उम्मेदवार चयनमा सहमति बन्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्